
काठमाडौं : भरतपुर महानगरपालिकाको मतगणना अनुसार पाँचदलीय गठबन्धनबाट प्रमुख र उपप्रमुख उम्मेदवारको अग्रता कायम रहेको छ।
प्रमुखमा गठबन्धनबाट उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले तीन हजार २६७ मतले अग्रता लिएकी छिन् भने उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले ९ हजार ३४३ मतका साथ अग्रता लिएका छन्।
प्रमुखमा दाहालले २१ हजार ८५ मत प्राप्त गर्दा नेकपा (एमाले)का विजय सुवेदीले १७ हजार ८१८ र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले आठ हजार २६ मत प्राप्त गरेका छन्।
यस्तै, उपप्रमुखमा अधिकारीले २३ हजार ४८७ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीकी हिमला गुरुङले १४ हजार १४४ मत प्राप्त गरेका छन्। गणना भइरहेका वडामा एमालेका उम्मेदवार अग्रस्थानमा रहेका छन्। यसअघि गणना भएका १० वडामध्ये सातमा कांग्रेस, दुईमा नेकपा (एकीकृत समाजवादी) र एउटामा एमाले विजयी भएका छन्।
हालसम्म भरतपुरमा ५५ हजार ६८० मतको गणना सकिएको छ। भरतपुरमा एक लाख २७ हजार ८३९ मत खसेको थियो। अहिले भरतपुरका वडा नं ११ र १२ मा मतगणना जारी रहेको छ। वडा नं ११ मा हालसम्म ६ हजार ५८२ र वडा नं १२ मा दुई हजार ९७५ मतगणना गरिएको छ।