PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

सुनिल प्रजापतिले सम्हाले नगर प्रमुखको कार्यभार, आजै बस्यो भक्तपुरको पहिलो कार्यपालिका बैठक



पहिलोपोस्ट

सुनिल प्रजापतिले सम्हाले नगर प्रमुखको कार्यभार, आजै बस्यो भक्तपुरको पहिलो कार्यपालिका बैठक
तस्विर : भक्तपुर नगरपालिका

काठमाडौं : भक्तपुर नगरपालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्यहरुले सपथ ग्रहण गरेका छन्।

भक्तपुर नगरपालिकाको नयाँ भवन ब्यासीको प्राङ्गणमा सम्पन्न शपथ ग्रहण कार्यक्रममा भक्तपुर जिल्लाका मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित भक्तपुर नपाको नगर प्रमुखमा सुनिल प्रजापतिलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्। त्यस्तै नगर प्रमुख प्रजापतिले नवनिर्वाचित उपप्रमुख रजनी जोशी तथा भक्तपुर नगरपालिकाका १० वटै वडाका जनप्रतिनिधिहरुलाई सपथ ग्रहण गराएका हुन्।

वडा नं. १ का श्यामकृष्ण खत्री, वडा नं. २ का हरिप्रसाद बासुकला, ३ वडाका राजकृष्ण गोरा, वडा नं. ४ का उपेन्द्र सुवाल, वडा नं. ५ का योगेन्द्रमान बिजुक्छेँ, वडा नं. ६ का हरिराम सुवाल, वडा नं. ७ का उकेश कवां, ८ वडाका कृष्णप्रसाद कोजु, ९ वडाका रबिन्द्र ज्याख्व र १० नं. वडाका लक्ष्मीप्रसाद ह्यौंमिखाका साथै वडा सदस्यहरुले आजै सपथ लिएका हुन्।

२०७४ सालको निर्वाचनमा पनि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले १० वटै वडामा जित हासिल गरेको थियो। त्यो बेला पनि मेयरमा सुनिल प्रजापति अत्याधिक मतले विजयी भएका थिए।

प्रजापतिले निकटतम प्रतिद्वन्द्वी भन्दा २५ हजार ८ सय ४५ बढी मतले जित निकालेका हुन्। २९ हजार २ सय ५२ मत ल्याएर प्रजापतिले चुनाव जित्दा कांग्रेसका रामप्रसाद कासुल ३ हजार ४ सय ५ मत ल्याएर दोस्रो भएका थिए। उपप्रमुखमा नेमकिपाकी रजनी जोशीले २९ हजार ७ सय ५९ मत ल्याएर विजयी भइन्।

भक्तपुर नगरपालिकाका नवनिर्वाचित प्रमुख सुनिल प्रजापतिले कुनै पूर्वाग्रह नराखी कानुनअनुसार छिटो र छरिटो रुपमा काम सम्पन्न गर्ने विश्वास बताए। पहिलो कार्यकालमा कानुनी र प्राविधिक कारणले पूरा हुन नसकेको कामहरु यस कार्यकालमा पूरा गर्ने उनले बताए।

सपथ ग्रहणपश्चात आजै प्रजापतिको अध्यक्षतामा भक्तपुर नपाको पहिलो कार्यपालिका बैठक बसेको थियो। बैठकले स्थानीय तहको निर्वाचनमा मतदान गरी विजयी गराएकोमा नगरबासीहरुप्रति आभार व्यक्त गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell