PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पर्साको १४ मध्ये ७ पालिकामा गठबन्धन जित्दा वीरगंजमा 'दबंग' उम्मेदवारको अग्रता, कुन पालिकामा कसले जिते ?



पहिलोपोस्ट

पर्साको १४ मध्ये ७ पालिकामा गठबन्धन जित्दा वीरगंजमा 'दबंग' उम्मेदवारको अग्रता, कुन पालिकामा कसले जिते ?

वीरगंज : पर्सामा अहिले स्थानीय तह निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। पर्सामा एक महानगर, ३ नगर, १० गाउँपालिका रहेका छन्। हालसम्म वीरगंज महानगरपालिका बाहेक १३ वटा पालिकाको मतगणना सकिएको छ।

जसमा सत्तारुढ गठबन्धनमा रहेको नेपाली कांगेसले ४ र जनता समाजवादी पार्टी ‘जसपा’ले ३ गरी ७ पालिकामा मेयरमा जितेको छ। यस्तै, नेकपा एमालेले ५ वटा पालिकामा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले एउटा पालिकामा एउटा मेयर पद जितेको छ। यस्तै, पर्साको १४ वटा पालिका मध्ये ८ वटामा कांग्रेस र एकमा जसपा गरि कुल ९ वटा पालिकामा गठबन्धनले उपमेयरमा विजय हासिल गरेको छ। त्यसैगरि, एमालेले ५ वटा पालिकाको उपमेयरमा विजय निकालेको छ।

पछिल्लो मतगणना अनुसार पर्साको विन्दवासिनी गाउँपालिकामा लोसपाका प्रमोद तिवारी अध्यक्षमा र एमालेकी ज्योति चौरसिया उपाध्यक्षमा विजयी भएकी छन्। एमालेले पर्साको तीन वटा नगरपालिका र दुई वटा गाउँपालिका गरि कुल ५ वटा पालिकामा विजयी निकालेको छ। पोखरीया नगरपालिकामा एमालेका प्रदुमन चौहान र रुबी ठाकुर मेयर र उपमेयरमा क्रमश विजयी भएका छन्।

यस्तै, पर्साको पर्सागढी नगरपालिकामा एमालेका गोकर्ण विष्ट, उपमेयरमा पूजा चौधरी, बहुदरमाई नगरपालिकामा जसपाका सिगासन सा तेली मेयर, एमालेकी सुषमा कुशवाहा उपमेयरमा जितेका छन्। त्यसैगरी, पकहामैनपुर गाउँपालिका अध्यक्षमा कांग्रेसका सुरेश मेहता, उपाध्यक्षमा कांग्रेसकै सरफुन नेसा, धोबिनीमा जसपाका मदन चौहान अध्यक्ष र कांगेसकी मंजु देवी उपाध्यक्षमा निर्वाचित भएका छन्।

कालिकामाई गाउँपालिकामा जसपाका वशिष्ट कुमार कलवार अध्यक्षमा र कांग्रेसकी राजमति बरैनी उपाध्यक्षमा विजयी भएका छन्। पटेर्वासुगौली गाउँपालिकामा कांग्रेसका दिनेश चौधरी र ममता महतो क्रमशः अध्यक्ष र उपाध्यक्षमा, जगरनाथपुरमा कांग्रेसका श्रीकान्त यादव र बबिता सिंह अध्यक्ष र उपाध्यक्षमा,जिराभवानी गाउँपालिकामा कांग्रेसका अनोज चौधरी अध्यक्ष र रेखा चौधरी उपाध्यक्ष विजयी भएका छन्।

त्यसैगरि, पर्साको ठोरीमा एमालेका लालबहादुर श्रेष्ठ र गोकुलीकुमारी अधिकारी अध्यक्ष र उपाध्यक्षमा जितेका छन्। पर्साको छिपहरमाई गाउँपालिकामा एमाले पर्सा सचिव मनोज गुप्ता दोस्रो पटक गाउँपालिका अध्यक्षमा र कांग्रेसकी लीलावती देवी कानुले उपाध्यक्षमा विजयी भएका छन्।

पर्साको सखुवा प्रसौनी गाउँपालिकाको करिब मतगणना अन्तिम चरणमा पुगेको छ। उक्त पालिकामा एमालेका यशवन्त यादव अध्यक्षमा र जसपाकी शर्मिला विष्ट उपाध्यक्षमा विजयी उन्मुख छन्।

पर्साको वीरगंज महानगरमा पनि मतगणना जारी छ। वीरगंज महानगरमा करिब ३२ वटा वडा मध्ये १५ वटा वडाको नतिजा आइसकेको छ। मत परिमाण अनुसार वीरगंजको मेयरमा जसपाका राजेशमान सिंहले अग्रता लिएका छन्। एमालेबाट मेयरका उम्मेवार विजयकुमार सरावगी सिंहलाई पछ्याइरहेका छन्। मेयरमा सिंह सरावगीभन्दा ११ हजार भन्दा बढी मतले अगाडि छन्। लोसापबाट उपमेयरका उम्मेदवार पुरुषोत्तमलाल झाभन्दा कांग्रेसका इम्तियाज आलम ११ हजारभन्दा बढी मतले अगाडि छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell