PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

एन्फा पनि तात्यो चुनावले : पंकजले अध्यक्षमा दाबी गर्दा कर्माछिरिङलाई सुझाव, 'प्रदेशतिर तयारी गर्नुहोला'



मुकुन्द घिमिरे

एन्फा पनि तात्यो चुनावले : पंकजले अध्यक्षमा दाबी गर्दा कर्माछिरिङलाई सुझाव, 'प्रदेशतिर तयारी गर्नुहोला'

काठमाडौं : स्थानीय तहको चुनावी माहोल सेलाउन नपाउँदै अखिल नेपाल फुटबल संघ (एन्फा)मा भने चुनावी सरगर्मी बढेको छ। 'चेन्ज एन्फा' को नारा लिएर अघिल्लो कार्यकालमा एकले अर्कोलाई सघाएर अध्यक्ष र वरिष्ठ उपाध्यक्ष जितेका कर्माछिरिङ शेर्पा र पंकजविक्रम नेम्बाङ दुबैजना अहिले नेतृत्वको दाबी गरिरहेका छन्।

शुक्रवार पत्रकार सम्मेलन गरेर अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेका नेम्बाङले उम्मेदवारी नै दर्ता गराइसकेका छन्। हाल एन्फा उपाध्यक्ष रहेका वीरबहादुर खड्काले वरिष्‍ठ उपाध्यक्षमा उम्मेद्वारी दिएका छन् पंकजको प्यानलबाट। नेम्बाङको समूहमा केन्द्रीय सदस्य किरण राई, दावा लामालगायतका पदाधिकारी खुलेर लागेका छन्। एन्फाका पूर्व अध्यक्ष नरेन्द्र श्रेष्ठ पनि नेम्बाङको पक्षमा खुलेका छन्।

अर्कोतर्फ कर्माछिरिङ पनि अध्यक्षमा फेरि दाबी गरिरहेका छन्। उनले आफ्नो प्यानल र चुनावी एजेन्डा प्रस्तुत गरिसकेका छैनन्। सामाजिक सञ्जालमा 'पेज बुस्ट' गरेर चुनावी अभियान भने चलाइसकेका छन् शेर्पाले।

असार ६ हुने चुनावका लागि नेम्बाङ पक्षले कर्माको कार्यकालमा भएको आर्थिक अनियमितता, फिफाबाट आर्थिक नाकाबन्दी, प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको व्यवहार, खेलाडीको विद्रोह, आर्थिक अपारदर्शिता लगायतका एजेन्डाअघि सारेको छ। नेम्बाङ पक्षले शेर्पालाई लक्षित गर्दै 'विश्वकप आयोजना गर्ने' जस्ता योजना आफूहरुले नलिइ विधानमा भएका कुराहरुको इमानदार कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेतृत्व असक्षम भएको आरोप

ए डिभिजन क्लब थ्री स्टार क्लबका महासचिव सञ्जिव शिल्पकार कर्माछिरिङको नेतृत्व असक्षम भएको आरोप लगाउँछन्। उनले पछिल्लो समय देखिएको खेलाडीहरुको विद्रोह प्रकरणलाई जोड्दै सामान्य विषयमा पनि अध्यक्षले समाधान गर्न नसकेको बताएका छन्। शेर्पाका कारणले खेलाडीले मानासिक रुपमा तनाब झेल्नुपरेको उनले आरोप लगाए। ए डिभिजन लिग सकिएको महिनौ बित्दासमेत एन्फाले तयारी खर्चबापत दिनुपर्ने रकम नदिएको, म्यान अफ दि म्याच र लिग विजेताले पाउनुपर्ने रकमसमेत नपाएको उल्लेख गर्दै शिल्पकारले नेतृत्वको आलोचना गरे।

पूर्व प्रवक्तासमेत रहेका किरण राईले आफूले नेतृत्वलाई सम्झाउँदा - सम्झाउँदै पनि गलत बाटोमा गएको बताए।

'यहाँसम्म आइपुग्दा म निर्वाचन लड्दिन भन्नुहुन्छ होला या नैतिकताका आधारमा राजीनामा दिन्छु भन्नुहुन्छ होला भन्ने थियो,' केन्द्रीय सदस्य राईले भने, 'नेपाली फुटबलमा थप चार वर्ष उहाँको नेतृत्व हुन हुँदैन। उहाँ असफल भइसक्नु भयो।'

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पहिलोपटक राजीनामा दिने भन्दै विवाद सिर्जना गर्दा राईले प्रवक्ताको जिम्मेवारीबाट राजीनामा दिएका थिए।

 'फुटाउ र राज गरको नीतिमा जानु भयो'

अध्यक्षका प्रत्यासी नेम्बाङले शेर्पा उपाध्यक्षबिच नै 'फुटाउ र राज गर'को नीतिमा गएको दाबी गरे।

'हामी एकताले नेपाली फुटबलको विकास हुन्छ भन्यौं। हामी उपाध्यक्षहरुलाई नै चारतिर पारेर फुटाउ र राज गरको नीतिमा लिप्त हुनु भयो,' अध्यक्षका प्रत्यासी नेम्बाङले भने, 'आर्थिक नियमावली बनायौं र बनाएसँगै त्यसको उल्लङ्घन सुरु भयो। यो यतिसम्म पुग्यो कि फिफाले अडिट गर्न कम्पनी पठाएको छ।'

उक्त कम्पनीले नेपाली फुटबलको विकासका लागि छुट्टाइएको बजेटबाट ३ करोड रुपैयाँ लग्ने बुझिएको उनले दाबी गरे।

'हिजो पारदर्शिता र भ्रष्टाचारमा शून्य सहनसिलताको नारा दियौं, तर त्यसको ठीक विपरित कार्य भयो,' उनले भने।

शेर्पालाई प्रदेशको चुनाव तयारी गर्न सुझाव

आजको कार्यक्रममा छोटो बोलेका वरिष्ठ उपाध्यक्षका उम्मेद्वार खड्काले खेलाडीको विषयमा चासो नदिएको आरोप लगाउँदै कर्मा छिरिङलाई फुटबलमा चासो नभए आउँदै गरेको प्रदेशको चुनावको तयारी गर्न सुझाए। उनले खेलाडीले दिनहुँ एन्फा धाएर न्याय माग्दा अध्यक्षले वेवास्ता गरेको आरोप लगाउँदै खेलाडी र खेलकै चासो नभए फुटबलमा राजनीति गर्नुको तुक नरहने तर्क गरे।

'अब राजनीतिमा जानुहोस्,' खड्काले भने, 'अब प्रदेशको चुनाव आउँछ, त्यहाँ जानुहोला। फुटबलमा सरोकार छैन भने एन्फामा उहाँको काम छैन।'

विद्रोहको श्रृंखला कहिलेसम्म ?

उसो त नेम्बाङको प्यानलमा अधिकांश गणेश थापाको नेतृत्वमा काम गरेका पदाधिकारी छन्। त्यसपछि पनि निरन्तर कार्यकारी पदमा रहँदै आएकाहरु पनि छन्। यसअघि ‘चेन्ज एन्फा’को नारा लिएर अघिल्लो कार्यकाल नेतृत्वमा गएका पदाधिकारी नै नेतृत्व भएन भन्दै फेरि अर्को नेतृत्व लिएर चुनावमा होमिने तयारीमा छन्। निरन्तर कार्यसमितिमा रहेर असफलताको 'जस' पनि उनीहरुमाथि पक्कै लाग्छ।

किरण राई ‘विद्रोह’ सुधार नहुन्जेलसम्म भइरहेको प्रक्रिया भएको बताउँछन्।

'सुधार नभएसम्म विद्रोह भइरहन्छ। हामीले सुझाव दिँदा भएन। त्यहाँ बसेर चुप्प लागेर गलत कामको मतियार भएका पनि होइनौं। हामीले खबरदारी गरिरह्यौं,' उनको तर्क छ।

नेम्बाङ पनि एन्फा अध्यक्षको प्रणालीमा चल्ने भएकाले आफ्नो भूमिका खबरदारी गर्नेबाहेक अन्य नभएको तर्क गर्छन् उनी।

'एन्फामा अध्यक्षको हस्ताक्षर चल्छ। प्रणाली अध्यक्षीय प्रणालीमा छन्। संस्था सञ्चालन गर्ने केही व्यक्तिका कारण यस्तो अवस्था आयो,' नेम्बाङले भने।

'ठूला घोषणा गर्दैनौं'

किरण राईले आफूहरुले ठूला योजना घोषणा नगर्ने बताउँदै विधानमा भएको कुराको इमान्दार कार्यन्वयन गर्ने बताए। उनले राष्ट्रिय लिग गर्न, ए,बी, सी डिभिजन लिगलाई व्यवस्थित गर्ने, विभिन्न निकायसँग समन्वय गरेर विभिन्न मैदानमा 'टर्फ' लगाएर अभ्यासका लागि तयार गर्ने लगायतका योजना रहेको नेम्बाङले सुनाए। त्यस्तै उमेर समूहलाई व्यवस्थित गर्दै विज्ञको सुझाव र राय लिएर अघि बढ्ने प्रतिबद्धता गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell