PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

हेटौंडाको अन्तिम मतपरिणाम नआउँदै एमालेका पौडेलद्वारा हार स्वीकार : नेकपा एसकी मीना लामालाई दिए बधाई



निशा गुरुङ

हेटौंडाको अन्तिम मतपरिणाम नआउँदै एमालेका पौडेलद्वारा हार स्वीकार : नेकपा एसकी मीना लामालाई दिए बधाई

हेटौंडा : मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार रहेका अनन्त पौडेलले गठबन्धनबाट प्रत्यासी रहेकी मीना लामालाई बधाई दिएका छन्। अन्तिम  मतपरिणाम नआउँदै मतगणनास्थल पुगेर पौडेलले लामालाई पौडेलले आगामी कार्यकालका लागि बधाई दिएका हुन्। 

उपमहानगरपालिकामा ७३ हजार ४१४ मत खसेकोमा ६७ हजार ४३५ मतगणना गनिसक्दा नेकपा एकीकृत समाजवादीकी लामाले २१ हजार २०३ मत प्राप्त गर्दै अग्रता बनाइरहँदा पौडेलले १९ हजार ३२५ मत पाएका छन्।

मीनाले अग्रता बढाउँदा अन्तिम मतपरिणाम नआँउदै पौडेलले हार स्विकारेका हुन्। ‘पराजयलाई स्वभाविक रुपमा लिएको छु। गठबन्धनसँग लड्दा  तीनवटा दलको मत बढी हुनु स्वभाविक हो,’ पौडेलले सञ्चारकर्मीसँग भने, ‘म पराजयबाट विचलित हुन्न। परिस्थिति यसपटक यस्तै आइपर्‍यो। महागठबन्धनका बीचमा पनि मलाई मत दिनुहुने सबैलाई धन्यवाद दिन चाहन्छु।’

यता उपमेयरमा गठबन्धनबाट उम्मेदवार रहेका राजेश बानियाँले पनि आफ्नो विजय सुनिश्चित गरेका छन्। कांग्रेसका उनले पाँच हजार ९७९ मत गणना बाँकी हुँदा आठ हजार ६०५ मतान्तरले अग्रता बनाएका छन्।

उनले ३० हजार ३०२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले २१ हजार मत प्राप्त गरेकी छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell