PahiloPost

Jan 7, 2025 | २३ पुष २०८१

अमेरिकी उपमन्त्री जोयाको नेपाल भ्रमणप्रति चिनियाँ चासो



पहिलोपोस्ट

अमेरिकी उपमन्त्री जोयाको नेपाल भ्रमणप्रति चिनियाँ चासो
शुक्रवार नेपाल आइपुगेकी अमेरिकी उपमन्त्री जोयालाई स्वागत गर्दै नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी। फोटो : facebook.com/nepal.usembassy

काठमाडौं : अमेरिकी उपमन्त्री तथा तिब्बत मामिलासम्बन्धि विशेष संयोजक उज्रा जोयाको नेपाल भ्रमणप्रति चीनले चासो व्यक्त गरेको छ। अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री जोया सन् २०१३ पछि नेपाल भ्रमण गर्ने तिब्बत मामिला हेर्ने उच्च अधिकारी हुन्। 

जोया भारत भ्रमण सकेर नेपाल आइपुगेकी छन्। उनले भारत भ्रमणका क्रममा धर्मशाला पुगेर दलाई लामासँग भेट गरेकी थिइन्। जोयाको यस भ्रमणप्रति चिनियाँ विदेश मन्त्रालयले चासो व्यक्त गरेको हो। चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआनले 'तथाकथित निर्वासित तिब्बती सरकार' पृथकतावादी राजनीतिक समूह तथा अवैध संगठन भएकोसमेत दाबी गरेका छन्। बिहीवार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उनले यो समूहलाई चीनको संविधान र कानूनको पूर्ण उल्लङ्घन गर्ने अवैध संगठन भएको आरोपसमेत लगाएका छन्। 

प्रवक्ता झाओले जोयाको तिब्बत मामिला हेर्ने विशेष संयोजक नियुक्ति नै चीन विरोधी भएको थप आरोप लगाएका छन्। 

'यसलाई विश्वको कुनै पनि देशले मान्यता दिएको छैन। १४ औं दलाई लामा एक धार्मिक व्यक्तित्वको रूपमा राजनीतिक निर्वासनमा छन्। उनी लामो समयदेखि चीन विरोधी पृथकतावादी गतिविधिमा संलग्न छन् र तिब्बतलाई चीनबाट अलग गर्ने प्रयास गरिरहेका छन्,' उनले भने, 'तथाकथित तिब्बती मुद्दाका लागि अमेरिकी विशेष संयोजकको नियुक्तिले चीनको आन्तरिक मामिलामा हस्तक्षेप हो। चीन यसको कडा विरोध गर्दै आएको छ र यसलाई कहिल्यै मान्यता दिएको छैन।'

उनले तिब्बतलाई चीनको हिस्साको रूपमा स्वीकार गर्ने र 'तिब्बतको स्वतन्त्रता' लाई समर्थन नगर्ने आफ्नो प्रतिबद्धतालाई सम्मान गर्न अमेरिकाले ठोस कदम चाल्नुपर्नेसमेत बताएका छन्। 'अमेरिकाले तिब्बत सम्बन्धी मुद्दाहरूको बहानामा चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्न बन्द गर्नुपर्छ र दलाई गुटको चीन विरोधी पृथकतावादी गतिविधिहरूलाई कुनै समर्थन प्रस्ताव गर्नु हुँदैन,' झाओले भने, 'चीनले आफ्नो सार्वभौमसत्ता, सुरक्षा र विकास हितको दृढतापूर्वक रक्षा गर्न आवश्यक कदम चाल्ने छ।' 


भारतको धर्मशाला पुगेर दलाई लामासँग भेट्दै अमेरिकी उपमन्त्री जोया। फोटो : dalailama.com


पछिल्ला केही वर्षहरूमा तिब्बती अधिकारीहरू र दलाई लामाले वाशिङ्टन डीसीको भ्रमण गर्दै आएका छन्। केही वर्षयता उच्च अमेरिकी अधिकारीहरूले सार्वजनिक रूपमा हिमाञ्चल प्रदेशमा रहेको तिब्बतको निर्वासित सरकारको केन्द्रीय कार्यालय भ्रमण गरेका थिएनन्। सन् २०१७ मा अमेरिकी कंग्रेसको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सभामुख न्यान्सी पलोसीले धर्मशालाको भ्रमण गरेकी थिइन्। त्यसयता उच्चस्तरीय भ्रमण भएको थिएन्। बाइडेन प्रशासनले जोयालाई विशेष संयोजक नियुक्त गरेसँगै चीनले त्यसको विरोध गरेको थियो। 

उनै जोया तिब्बती धर्मगुरु दलाई लामा भेटेर आज साँझ नेपाल आइपुगेकी छन्। उनले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का सहितका सरकारी अधिकारीलाई भेट्ने कार्यक्रम छ। उनी तिब्बती क्याम्पसमेत पुग्ने कार्यक्रम रहेको स्रोतको दाबी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell