PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

एन्फामा खेलाडी प्रशिक्षक विवाद : एसिया कप छनोटपछि प्रशिक्षकको विकल्प खोज्न र मेनेजर हटाउन सिफारिस, यस्ता छन् थप सुझाव



पहिलोपोस्ट

एन्फामा खेलाडी प्रशिक्षक विवाद : एसिया कप छनोटपछि प्रशिक्षकको विकल्प खोज्न र मेनेजर हटाउन सिफारिस, यस्ता छन् थप सुझाव

काठमाडौं : मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र बन्द प्रशिक्षण छाडेका खेलाडीबिचको विवाद छानबिन गर्न बनेको समितिले खेलाडी प्रशिक्षक विवादबारे अखिल नेपाल फुटबल संघ एन्फालाई दिएको सुझाव आज एन्फाले सार्वजनिक गरेको छ।

एन्फाले बैशाख २५ गते आर्मीका पूर्व उपरथी तथा पूर्व खेलाडी भिक्टर राणाको संयोजकत्वमा गठन गरेको तीन सदस्यीय समितिले २८ पृष्ठ लामो प्रतिवेदन बुझाएको थियो। ४ गते एन्फा महासचिव इन्द्रमान तुलाधरले प्रतिवेदन ग्रहण गरेका छन्। तुलाधरले प्रतिवेदनको अध्ययन गर्ने र आवश्यक कदम चाल्ने बताएका थिए।

समितिमा पूर्व खेलाडी बिदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दिपक थापा पनि थिए। समितिलाई एन्फाले एक सातामा विवादको सत्यतथ्यसहित छानबिन गरेर प्रतिवेदन पेश गर्ने निर्देशन दिएको थियो।

एएफसी एसियन कप छनोटको तयारीमा रहेका १० खेलाडीले मुख्य प्रशिक्षक अलमुताइरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै बैशाख १३ गते बन्द प्रशिक्षण छाडेका थिए। क्याम्प छाडेका खेलाडीले होटल सुविधाको माग राख्दा प्रशिक्षक अलमुताइरीले पटक-पटक क्याम्प छाडेर जान भनेपछि आफूहरु बाध्य भएर प्रशिक्षण छाडेको बताउँदै आएका छन्। प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आजै ति खेलाडीलाई बाहिरै राख्दै एसिया कप छनोट खेल्ने खेलाडीको सूची सार्वजनिक गरिसकेका छन्।

के छ प्रतिवेदनमा?

प्रतिवेदनमा खेलाडी, प्रशिक्षक, टिम मेनेजर, एन्फा पदाधिकारी सचिवालय लगायतलाई सुझाव दिएको छ।

समस्या समाधानको लागि राय सुझावहरु

खेलाडी सम्बन्धी

(१) खेलाडी बन्द प्रशिक्षणबाट भागेर गएको तथ्यमा सत्यता देखिन्न। मुख्य प्रशिक्षकले ९ जना खेलाडीहरुलाई बारम्बार अमर्यादित भाषामा प्रशिक्षणबाट बाहिर जानु भनेपछि उनीहरु बाध्य भएको देखिन्छ। तर मुख्य प्रशिक्षकले खेलाडीको चोट, कार्यदक्षता वा अनुशासन के को आधारमा खेलाडीलाई निष्काशन गरेको स्पष्ट छैन। मुख्य प्रशिक्षकले बन्द प्रशिक्षणमा खेलाडीहरु छनौट भएको एन्फा महासचिवलाई पत्राचार गरी क्लबलाई खेलाडीहरुलाई पठाउन निर्देशन दिने गरेको तर खेलाडी निष्काशन गर्दा सो प्रकृया नअपनाएको हुँदा त्यसको व्यवस्था गर्न उपयुक्त देखिन्छ।

(२) मुख्य प्रशिक्षकले होटेलसम्बन्धी विषय बारम्बार नदोहोर्‍याउनु भनेको र होटेल व्यवस्था भई सकेको अवस्थामा र उक्त विषय व्यवस्थापकको जिम्मेवारी हुँदाहुँदै खेलाडीहरुले सोही कुरा पुनः समूहगत रुपमा उठाएर वादविवाद सिर्जना गरी मुख्य प्रशिक्षकलाई अप्ठ्यारो अवस्थामा पुर्‍याउनु खेलाडी दोषी देखिन्छन्।

(३) खेलाडीहरुलाई सहायक प्रशिक्षक, गोलकिपर प्रशिक्षक, टिम को–अर्डिनेटर र फिजियोले वैशाख १३ गते राती बाहिर नजान आग्रह गरे तापनि बाहिरिनु खेलाडीको गल्ती देखिन्छ।

(४) वैशाख १४ गते मुख्य प्रशिक्षक तथा अन्य व्यवस्थापक समूहबाट फोन तथा मेसेजबाट सम्पर्क गरी समाधान गर्ने प्रयास गर्दा खेलाडीहरुबाट कुनैपनि प्रतिकृया नहुनु गैरजिम्मेवारीपूर्ण कार्य देखिन्छ।

(५) एन्फाबाट समस्या समाधान गर्ने प्रयास र समझदारीको विकल्प हुँदाहुँदै खेलाडीहरुले प्रेस मिटिङ्ग गर्नाले समस्याले झन् बढी उग्र रुप लिएको छ। राष्ट्रिय खेलाडीले यस्तो अनुशासनहिन र गैरजिम्मेवारीपूर्ण कार्य गरेको देखिएको हुँदा उनीहरुले यस्तो गल्ती नदोहोऱ्याउने प्रतिबद्धता जनाएमा ति १० (दश) खेलाडीहरुलाई एसिया कप छनौट प्रयोगितामामात्र सहभागी हुन बञ्चित गर्नुको साथै यस्ता किसिमको कृयाकलाप भविष्यमा दोहोऱ्याएमा राष्ट्रिय फुटवल टिममा छनौट हुन अयोग्य हुने बारे सचेत गराउन सिफारिस गरिन्छ।

(६) खेलाडीहरुलाई एन्फा सचिवालयले र राज्यले पुयाउन सक्ने उचित सेवा सुविधा प्रदान गर्दै आएकोमा यस्ता विषयमा पुनः विवाद नउठाउन सचेत गराउन सिफारिस गरिन्छ।

(७) हालको बन्द प्रशिक्षण लगायत विगतका राष्ट्रिय लिग तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीहरुले अमर्यादित र अनुशासनहिन कार्य गरेका उदाहरणहरु विद्यमान छन् । भविष्यमा त्यस्ता गतिविधि नहुन अनुशासन सम्बन्धी Zero Tolerance Policy लागु गर्न सिफारिस गरिन्छ।

मुख्य प्रशिक्षक

(१) मुख्य प्रशिक्षकले एन्फा सचिवालयको मातहतमा रही कार्य नगरी एकलौटी र स्वेच्छाचारी रुपमा कार्य गर्ने प्रवृत्ति बढ्दै गएको हुँदा 'चेन अफ कमाण्ड' अनुसार कार्य गर्न निर्देशित गर्न सिफारिस गरिन्छ।

(२) उहाँको मुख्य जिम्मेवारी खेलाडी छनौट, प्रशिक्षण र मूल्यांकन गर्नु रहेकोमा अन्य व्यवस्थापन सम्बन्धी कार्यमा समेत हस्तक्षेप गर्ने प्रवृत्तिलाई सच्याउन सिफारिस गरिन्छ।

(३) एकै पटक ९ जना खेलाडी क्याम्प छाडेर जानुमा मुख्य प्रशिक्षक, व्यवस्थापक तथा एन्फा सचिवालयको पनि अवश्य केही त्रुटी छन्। मुख्य प्रशिक्षकको स्वास्थ्य स्थितिले गर्दा उत्तेजक र तनावमा देखिनु, स्वास्थ्य परीक्षणको लागि विदा स्वीकृत रहेको अवस्था, फरक सामाजिक र सांस्कृतिक परिवेश, बारम्बार विवाद, तथा सामाजिक संजालमा अनावश्यक टिकाटिप्पणी जस्ता कृयाकलापले गर्दा राष्ट्रिय टिममा स्वच्छ वातावरण नभएको देखिन्छ। यस्तो अवस्थामा भविष्यमा अरु समस्या उब्जने प्रवल संभावनालाई समेत नकार्न सकिँदैन। तसर्थः एसिया कप छनौट प्रतियोगिता पछि कतार एफ.ए.संगको सहयोगलाई निरन्तरता र सहमती कायम राख्दै मुख्य प्रशिक्षकको अर्को विकल्प खोज्न सिफारिस गरिन्छ।

(४) विगतमा युवा तथा खेलकुद मन्त्रालयले गरेको छानबिनमा मुख्य प्रशिक्षकलाई संचार माध्यममा अनावश्यक टिकाटिप्पणी नगर्न सचेत गराएको अवस्थामा हालमा पनि उनले बारम्बार प्रचार प्रसार र संचार माध्यममा अमर्यादित र आचार संहिता विपरित टिकाटिप्पणी गरी बादविवाद निम्त्याई रहेको हुँदा यस्ता गतिविधि नगर्न पुनः सचेत गर्न सिफारिस गरिन्छ।

मुख्य व्यवस्थापक

(१) उहाँ प्रायः बन्द प्रशिक्षणमा होटेलमा नरहनु र बैशाख १३ गतेको घटनामा पनि होटेलमा नरहेको देखिन्छ। खेलाडीहरुसँग हुँदापनि उहाँले आफ्नो पदीय जिम्मेवारी सन्तोषजनकरुपमा नसम्हालेको, मुख्य प्रशिक्षक तथा खेलाडीहरुलाई सम्झाउन कोशिस नगरेको हुँदा यस घटना हुनुमा उहाँ जिम्मेवार देखिनु हुन्छ।

(२) उहाँलाई करिब ३ वर्ष नेपाली राष्ट्रिय टिमको मुख्य व्यवस्थापक भएर कार्य गर्ने जिम्मेवारी एन्फा सचिवालयले व्यक्तिगत विश्वासको आधारमा नियुक्ती दिएको पाइन्छ। एउटा राष्ट्रिय फुटबल टिमको नेतृत्व गर्ने कार्य क्षमता उहाँमा देखिँदैन। जसले गर्दा एसिया कप छनौट प्रतियोगिता पश्चात उहालाई व्यवस्थापक पदबाट हटाउन सिफारिस गरिन्छ।

सहायक प्रशिक्षक, गोलकिपर प्रशिक्षक, टिम को–अर्डिनेटर र फिजियो

(१) खेलाडी तथा मुख्य प्रशिक्षकबीच असमझदारी र वादविवाद बढ्दै गएको अवस्थामा समस्या समाधान तथा मुख्य प्रशिक्षकलाई सम्झाउन बुझाउन नसक्नु उहाँहरुको कमजोरी देखिन्छ। उहाँहरुलाई राष्ट्रिय फुटवल टिमको विकासको लागि अझ प्रभावकारी र सशक्त भूमिका निभाउन आफ्नो कार्यदक्षता अभिवृद्धि गर्न सिफारिस गरिन्छ।

एन्फा पदाधिकारी सचिवालय

(१) १० (दश) जना खेलाडी तथा मुख्य प्रशिक्षकलाई एकै ठाउँमा राखी उनीहरु वीच भएको मनमुटाव मिलाई समझदारी कायम गर्न आवश्यक वातावरण मिलाउन सिफारिस गरिन्छ।

(२) मुख्य प्रशिक्षकलाई आवश्यक निर्देशन प्रदान गर्न स्पष्ट नीति तथा 'चेन अफ कमाण्ड' कायम गर्न सिफारिस गरिन्छ।

(३) एन्फाको विधानमा भएका प्रावधान अनुरुप महत्वपूर्ण निर्णयहरु जस्तै 'गुख्य प्रशिक्षकको छनौट, टेक्निकल कमिटिको सुझाव अनुसार कार्य समितिमा छलफल गरी उपयुक्त निर्णय लिन सिफारिस गरिन्छ।

(४) टेक्निकल कमिटीलाई बढि कृयाशिल र सशक्त बनाई मुख्य प्रशिक्षक लगायत अन्य उमेर समूहको फुटवल खेलाडीहरुलाई प्रशिक्षक तथा व्यवस्थापकको छनौट, काम कर्तव्य र मूल्यांकन गर्ने आधार तयार गर्न सिफारिस गरिन्छ।

(५) राष्ट्रिय फुटवल टिमलाई व्यवस्थापन गर्ने मुख्य जिम्मेवारी वहन गर्ने व्यवस्थापक तथा पदाधिकारीहरुको छनौट गर्दा क्षमतावान तथा कार्यदक्षता भएका व्यक्ति खुल्ला प्रतिस्पर्धाबाट छनौट गर्न सिफारिस गरिन्छ।

(६) राष्ट्रिय फुटवल टिमका मुख्य प्रशिक्षक, व्यवस्थापक र अन्य पदाधिकारीहरुको कुनैपनि Job Description नभएको अवस्थामा कार्य सम्पादनमा अस्पष्टता तथा विवाद हुन सक्ने हुँदा यस्ता व्यक्तिहरुलाई नियुक्ती हुनु पूर्व Job Description तय गर्न सिफारिस गरिन्छ।

(७) आचार संहिता (Code of conduct) को अभावमा प्रशिक्षक, खेलाडी तथा अन्य पदाधिकारीहरुले प्रदर्शन गर्नुपर्ने व्यवहार बारे मार्ग निर्देशनको अस्पष्टताले गर्दा अनुशासनहिन कार्य बढ्दै गएको हुंदा Code of Conduct तय गरी लागू गर्न सिफारिस गरिन्छ।

(८) राष्ट्रिय फुटवल खेलाडीहरुको बासस्थानको स्तर, वन्द प्रशिक्षण समय अवधि, खानपिन, खेलकुद सामग्री तथा भत्ता बारे लिखित रुपमा मापदण्ड तयार गर्न सिफारिस गरिन्छ

(९) Technical कमिटी, मुख्य प्रशिक्षक र अन्य क्लबका प्रशिक्षक सम्मिलित एउटा बोर्ड गठन गरी प्रत्येक वर्ष राष्ट्रिय लिग समाप्त भएपछि करिब १०० जना खेलाडीहरुको लिष्ट तय गरी हरेक पोजिशनमा Rank Order गरी उक्त सूचीबाट राष्ट्रिय फुटवल टिममा छनौट गर्न सिफारिस गरिन्छ।

(१०) मातहतको विभागसँग समन्वय गरी आवश्यक श्रोत जुटाई योग्य नेपाली फुटवल प्रशिक्षकलाई प्रोफेसनल फुटवल लाईसेन्सको लागि प्रशिक्षणमा पठाउन सिफारिस गरिन्छ।

(११) एन्फाको होस्टेललाई अझ व्यवस्थित र सुविधायुक्त बनाई बन्द प्रशिक्षणमा खेलाडी राख्न सिफारिस गरिन्छ।

(१२) एन्फाको कार्यकारी समितिका सम्पूर्ण अधिकारीहरु विभिन्न आन्तरिक खिचातानी र आसन्न एन्फाको चुनावको असरले वर्तमान मुख्य प्रशिक्षक तथा खेलाडीहरुको सामान्य समस्या समाधान गर्न असफल भएको देखिन्छ। यस्ता किसिमको घटना नदोहोरिन एन्फाको सांगठनिक संरचना, विभिन्न विभागका कार्यक्षेत्र, विधी विधान, आर्थिक सुशासन तथा माथिल उल्लेखित सुझाव कार्यान्वय गर्ने विज्ञ समूह गठन गरी उक्त समूहको राय सुझाव अनुसार कार्य सम्पादन गर्न सिफारिस गरिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell