PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

ढल्यो एमालेको विरासत, हेटौंडा उपमहानगरको पहिलो महिला मेयरमा मीना लामा निर्वाचित



निशा गुरुङ

ढल्यो एमालेको विरासत, हेटौंडा उपमहानगरको पहिलो महिला मेयरमा मीना लामा निर्वाचित

हेटौंडा : वाग्मती प्रदेशको एक मात्र हेटौंडा उपमहानगरपालिकामा मेयरमा मीना कुमारी लामा निर्वाचित भएकी छन्। एमालेका अनन्त पौडेल र राप्रपा दीपकबहादुर सिंहलाई पराजित गरेर उनी प्रदेशकै एकमात्र उपमहानगर हेटौंडाको पहिलो महिला मेयर बन्न सफल भएकी हुन्।

गठबन्धनका तर्फबाट उम्मेद्वार बनेकी नेकपा एकीकृत समाजवादीका नेतृ लामा हेटौडा उपमहानगरपालिकाको मात्र होइन, मुलुककै उपमहानगरपालिका मध्येकै पहिलो महिला मेयर बनेकी छिन्।

लामाले २३ हजार ७५ ल्याएर जित निकालिन्। दोस्रो स्थानमा रहेका नेकपा एमालेका अनन्त पौडेलले २० हजार ९ सय ८ मत ल्याएका छन्। लामाले पौडेललाई २ हजार १ सय ६७ मतले पराजित गरेकी हुन्। त्यस्तै, राप्रपाका सिंहले २० हजार ५ सय ३१ मत ल्याए।

उपमेयरमा कांग्रेसका राजेश बानिया निर्वाचित भएका छन्। उनले ३२ हजार ५ सय ९ मत ल्याउँदा नेकपा एमालेकी सुमित्रा काफ्लेले २३ हजार ९ सय ९ मत ल्याइन्। राप्रपाकी इन्दिरा न्यौपानेले ५ हजार ४ सय ८३ मत ल्याइन्। हेटौंडा उपमहानगरपालिकामा ७३ हजार ४ सय १४ मत खसेको थियो।

उनको विजयसँगै हेटौँडा उपमहानगरपालिकामा एमालेको विरासतको राजनीति अन्त्य भएको छ। यसअघिका तीन निर्वाचनमा दुई पटक गठबन्धन भएको थियो। दुवै पटक एमाले विजयी भएको थियो।

एमालेको तीन दशकभन्दा लामो वाम विरासत भत्काउन यसपटक सत्ता गठबन्धन सफल भएको हो।

२०४९ मा स्थानीय निकायको निर्वाचनमा तत्कालीन हेटौंडा नगरपालिकामा कांग्रेस र एमाले एक्लाएक्लै प्रतिस्पर्धामा थिए। जसमा एमालेका डोरमणि पौडेल प्रमुख र हरिबहादुर महत उपप्रमुखमा निर्वाचित भएका थिए।

२०५४ मा तत्कालीन नगरपालिकामा कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीबिच तथा २०७४ को निर्वाचनमा कांग्रेस र नेकपा (माओवादी केन्द्र) बिच गठबन्धन भएको थियो। गठबन्धनलाई पराजित गर्दै एमालेका उम्मेदवार दुवै निर्वाचनमा विजयी भएका थिए।

२०७४ को निर्वाचनमा प्रमुखमा एमालेका हरिबहादुर महत र उपप्रमुखमा मीनाकुमारी लामा विजयी भएका थिए। पार्टी विभाजन भएपछि एमाले छाडेर समाजवादी रोजेकी मीना कुमारी लामा अहिले मेयर बन्न सफल भइन्।

अघिल्लो निर्वाचनमा गठबन्धनका उम्मेदवार कांग्रेसका आनन्दराम पराजुलीलाई ६१५ मतको अन्तरले हराएर विजयी भएका थिए। पराजुली झिनो मतान्तरले पराजित हुँदा सात हजार ५०२ मत बदर भएको थियो।

राप्रपा तेस्रोमै सीमित

राप्रपाले उपमहानगरमा प्रमुख र उपप्रमुखसहित पालिकाको १९ वटै वडामा उम्मेदवार बनाएको थियो। राप्रपाले केही राम्रो मत ल्याए पनि तेस्रो मै सीमित बन्न पुगेको छ। २०७० सालमा संविधानसभा सदस्यमा पराजित भएपछि एमाले विभाजन र कांग्रेस विवादका कारण राहत पाउने उद्देश्यले उम्मेद्वारी दिएका दीपक बहादुर सिंह अहिले पनि सफल हुन सकेनन्।

सत्ता सठबन्धनबाट उम्मेद्वारी बनेकी लामालाई जनजाति भएकै कारण धेरै मत तान्न सफल भएकी छिन्। हेटौडा उपमहानगरपालिकामा ३१ प्रतिशत मतदाता जनजाति छन्।

मीना २०७४ मा एमालेबाट निर्वाचित उपप्रमुख हुन्। एमाले विभाजित हुँदा मीनाले एकीकृत समाजवादी रोजेकी थिइन्।

२०३३ पुस २७ मा जन्मेकी मीनाले २०४६ सालदेखि नै विद्यार्थी राजनीति सुरु गरेकी हुन्। मीना २०५२ सालमा अनेरास्ववियू मकवानपुरको जिल्ला कोषाध्यक्ष र २०७१ सालमा एमाले मकवानपुरको उपसचिवमा निर्वाचित भएकी थिइन्।

पार्टीमा उनले विद्यार्थी इञ्चार्जको भूमिकामा रहेर काम गरेकी छिन्। उनी २०७१ सालमा अखिल नेपाल महिला संघको जिल्ला सचिव पनि भइन्। २०७२ सालमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय सदस्य समेत भएकी लामा आदिवासी जनजाति जिल्ला समन्वय समिति मकवानपुरको उपाध्यक्ष पनि भइसकेकी छन्। हेटौडा उपमहानगरपालिका —११ मा जन्मिएकी मीनाले समाजशास्त्रमा स्नातकोत्तर र एलएलबी गरेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell