- देवकी विष्ट -
बुधवार पहिलो भिडियो मैले टिकटकमा देखेँ। त्यसमा पूर्व मिस नेपाल माल्भिका सुब्बालाई आरोप लगाइएको थियो तर मुख्य आरोपितको नाम थिएन। सोचेँ - अहिले मान्छे सामाजिक सञ्जालमा जे पायो त्यही बोलिरहेका हुन्छन्। तिनी पनि त्यस्तै होलिन् कि ! आज भोलि 'फ्याक्ट चेक' नगरी विचार दिइहाल्नु जोखिमपूर्ण छ। जेठ ५ गते बिहान अफिस पुग्दासम्म एकाएक ती युवतीको भिडियो भाइरल भइसकेको थियो। सबैका आ–आफ्ना तर्कसहित समाजिक सञ्जाल (फेसबुक, टिकटक र इन्स्टाग्राम)मा स्टाटस आइसकेका थिए।
+++
म भिडियोमा बोल्ने उनलाई 'तिमी' सम्बोधन गर्दैछु। तिमी मेरो बहिनीजस्तै हौ। २०७१ सालमा तिमी बलात्कृत हुँदा १६ वर्ष कि थियौ। तिम्रो सोचले सपना पछ्याउनु पर्छ भनेर सिकाएको रहेछ। सपना साकार गर्न लाग्दा कसैको सिकार हुँदैछु भने कसरी सुरक्षित रहने भन्ने तिम्रो दिमागले सोच्नै सकेन। यस उमेरमा हरेकको अवस्था यस्तै हुन्छ।
मैले तिम्रो सबै भिडियो हेरेँ। सबै भिडियो डाउनलोड गरेँ। तिमीले प्रत्येक भिडियो अपलोड गरेकै कमेन्टमा ती व्यक्तिको तस्बिर राखेकी थियौं। ती सबै हेरेपछि दिनभरी न अफिसमा काम गर्न सकेँ न त रातभरी निदाउन नै। तिम्रो मुहार र तिम्रो छिनमै हाँस्ने, छिनमै रुने, एकै पटक मोडलको पहिरनमा छाउने छटपटाहटले म विगतमा रुमलिएँ। मैले उसलाई सम्झेँ- तिमीजस्तै एउटा पात्र। उसका लागि न कोही खुलेर बोल्न सक्थ्यो, न सडकमा उत्रन नै। किन भने त्यो पीडक आफूलाई पत्रकारको हिरो ठान्थ्यो। त्यसैले सबै डराउथे बोल्नका लागि। उसका विरुद्ध बोलेमा पार्टी, पत्रकार, मिडिया हाउस र प्रहरीले साथ दिँदैन भन्ने थाहा थियो उनलाई। तर पनि उनी एक्लै बोलिन्।
उनी काठमाडौंवासी, सम्पन्न परिवारकी छोरी। तर, एन्रोइड मोबाइल समेत राम्रोसँग चलाउन आउँदैन'थ्यो उनलाई। मान्छेको अगाडि बोल्न सक्दिनथिन्। कतै केटाहरुको हुल वा बाटोमा हिँड्दा केटामान्छे देख्यो कि लगलग काम्ने! 'केटी मान्छे जोसँग सुत्यो उसैसँग बिहे गुर्नपर्छ, जसलाई एकपटक माया गर्यो उसैसँग बिहे गर्नुपर्छ। केटीको इज्जत योनीमा अडिएको हुन्छ' भन्ने सोचले उनी हुर्किएकी थिइन्।
तर, उसको आँट फरक थियो - सायद, हामीसँग त्यति हुँदैनथ्यो होला। तर उनले गरिन्, एक्लै लडिन्। अफिस अफिसमा पुग्थिन् - मलाइ यस्तो भयो सहयोग गर्नुस् भन्थिन्। तर, सबैले उनलाई मूर्खको संज्ञा दिन्थे।
'छोड यस्तो केसमा पनि लाग्छेस्' भन्दै उडाउथे। तर ऊ भन्थी - म कक्षा १० मात्रै पढे पनि के भयो? के मेरो इज्जत हुँदैन? त्यो सेलीब्रिटी भन्दैमा जे पनि गर्न पाँउछ? मलाइ समाज र मेरो आमाबुवाले के भन्छन्? म न्यायका लागि लड्छु ...।'
उसले रुँदै र चिच्याएर पोखेका भाव अहिले पनि मेरो कानमा गुञ्जिरहेको छ। उसले पीडकबाट पिटाइ खाएको जसरी बताएकी थिइन् - मेरो मानसपटलमा शब्दहरु दृष्यका रुपमा कैद भएका छन्। यी वाक्यहरु लेखिरहँदा मेरो आँखाभरी आँशु भरिएर आएको छ।
त्यो पीडकले अहिले पनि उसले पिटाइ खाएका कोठा हेर्दैछ होला। ऊ जाने मन्दिरमा अझै उसलाई कुर्दैछ होला। प्रहरीका बृत्तमा पुगेर - त्यो पागल युवती खोज्दैछ होला। 'छठीमाई पनि सारी र सिन्दुर लगाएर आउँछु भन्ने युवती कहाँ गइ?' सोध्दैहोला। वकिल कहाँ रहेका उसका कथाका फाइलहरु धमिराले खादैँछन् होला। वकिल आफ्नो रकमका लागि खोज्दैछन् होला तर अब ऊ कहिल्यै नआउने गरी गइसकी। सायद्, कोरोनाले अब तेरो सुन्ने कोही छैन ‘तँ जितेर पनि हारिस्’ भनेर लग्यो।
मैले उसको अवसानसँगै अब कसैको कथा लेख्दिन र बोल्दिन भन्ने प्रण गरेकी थिएँ। आज फेरि उकुसमुकस भयो। आँखाबाट आँशु बगिरहे। सायद्, उसले पनि 'तिमी बोल न' भनेर घच्घच्याइ रहेकी त होइन?
'फलाम तातेको बेला तिमीले सही ठाँउमा हिर्काएमा आकार दिन्छ,' मैले उसलाई सधैं भन्ने गर्थेँ - 'नत्र जितेर पनि हार्छौं। तिमीले आँट गरेर तिम्रा दृष्य र वेदनाले आगो सल्काएकी छौ, साहसी युवती।'
अहिले भिडियोबाट आफ्नो पीडा पोखिरहेकी तिमीलाई पनि भन्छु - तिमी नै लागि परिनौ र सही निर्णय लिन सकिनौ भने यो कथाको टुङ्गो लाग्ने छैन। मैले यी गन्थन-मथंन गर्नुको पनि कारण छ। पर्दा अगाडि भन्दा पर्दा पछाडि धेरै कुरुप र भड्किएका मानिस हुन्छन्। कतिको कुरुपता बाहिर आउँछ त कतिको आउन पाउँदैन।
'टेलिभिजनमा अनुहार देखाउन पाउँछौं, तिमीले मसँग सम्बन्ध राख्नुपर्छ।' 'तिमीलाइ फिल्मको हिरोइन बनाइदिन्छु , मसँग सुत्नु पर्छ।'
'तिमीलाई जागिर लगाइदिन्छु, मसँग हिँड्नुपर्छ।'
'तिमी काठमाडौंमा एक्लै बस्छौ, तिमीलाई डर लाग्छ भने म आइदिन्छु।' 'तिमीलाई मोडल बनाइदिन्छु,विदेश पठाइदिन्छु, मेरो स्टुडियोमा आउ।'
यसरी प्रकट हुने अभिव्यक्तिका सन्दर्भ त कति कति!
‘ग्ल्यामर’।
यसले मान्छेको सोच होइन, जीवन चपाइदिएको छ। अहिले पनि ग्ल्यामरमा अड्केका हरेक ठाँउमा पिठ्यु मुसार्नेदेखि चर्चित टिभीका सम्पादक बाहिरी खोक्रो आवरण देखाउँछन्। आफ्नै टिभीका एङ्करलाइ सुनाउँछन् - लिङ्गमा मुन्द्री लगाउने सौख। हरेक क्षेत्रमा आ–आफ्नै मानसिक पीडा जति गुम्साएर बस्यो, उति बढ्दै जान्छ। जब गुम्सिने सीमा तोडिन्छ नि, केही फरक पक्कै हुन्छ।
यसो भन्दैमा उल्लेखित सबै क्षेत्रमा कुरुपतामात्र छ भन्न खोजेको होइन। असल मानिस पनि छन्। यदि असल मानिस नहुँदा हुन् त आज तिम्रो भिडियो सुनेर, देखेर मानिस किन सडकमा किन आउँथे? समाचार किन छापिन्थे?
तिमीलाई थाहा छ, उ मरेर गइ तै पनि राम्रो छाप छाडेर गइ। उसले गर्दा तत्कालीन समयमा राष्ट्रिय महिला आयोगका सदस्य मोहना अन्सारी, अभियन्ता डा. रेणुराज अधिकारी केही महिला पत्रकारदेखि तात्कालीन प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराइको साथले शून्य प्रमाण हुँदा पनि न्याय पाएकी थिइन् उनले। आजभन्दा ९ वर्ष अघि कार्यस्थलमा हुने यौन हिंसाको सम्बन्धमा समिति नै गठन भयो। त्यो पावरफूल सेलिब्रेटीको पावर शून्य भएको थियो। उसको घमण्ड चुर भएको थियो।
तिमीलाई जतिखेर समस्या पर्यो, त्यतिखेर साहरा दिनेभन्दा पनि ग्ल्यामर नबुझेर रक्सीको चुस्कीमा डुव्नेहरुको माझमा तिमी भयौं। ती आफैँ पनि पीडित थिए, आफ्नो सपना पूरा गर्ने दौडमा जीवनका रेखालाई मेटाउँदै थिए। जो आफ्नो अस्तित्वबाट भाग्नका लागि हरेक सुख होस् वा दुःख रक्सीको साहाराबिना केही गर्न सक्दैनन्। उनीहरुको बिचमा न तिमीले साथ पाउन सक्यौं, न आँट। धन्न यो डिजिटल माध्यमले बिजुलीका तरङ्गसँगै तिम्रो गुम्सिएका भावनालाई सुनिदियो र सुनाइदियो। आज मानिसहरु तिम्रो न्यायका लागि सडकमा उत्रएिका छन्। यो सडकमा उत्रिएको मासले, आवाजहरुले केही तरङ्ग ल्याउँछ तर यो भिडले, यो सामाजिक सञ्जालको जालोले तिमीलाई सधैं घेरेर बस्दैन, साहसी युवती।
केही दिनमा भाइरल हुने अर्कोको विषय आउँछ। त्यसैले अर्को विषय ट्रेन्डिङ हुनुअघि आउ, तिमी आफ्नो लडाइ यही भिडसँगै लागेर सक्काइदेउ। तिमीले तिम्रो सपनालाई दागबत्ती दिए पनि अब आउने किशोरी वा युवतीलाई कसैले मुसार्ने आँट नगरोस्। कसैले सुत्न आँउ भन्ने साहस नगरोस्। रक्सी र सेक्समा डुबेका पीडित आत्माहरुले बेहोसीमा पनि होस कायम राख्न सिकोस्, प्रोफेसनल र पर्सनल जीवनको फरक बुझोस्।
तिमी बलात्कृत भएको ८ वर्ष भयो। आजभन्दा करिव ९ वर्ष अगाडि यस्तै केसले चर्चा पाइरहेका थियो।
'हामी यस्तो केस लिन सक्दैनौं? अहिलेसम्म किन बोलेनौं भन्ने प्रश्न उठ्छ। तिमीलाई देखेर हाँस्छन्,' उनी प्रहरीकहाँ जाँदा यस्तै प्रश्न र सुझावहरु वर्षिएका थिए।
उनको जस्तै तिमीलाई पनि जस्तै सयौं प्रश्न सोधिएलान्। तिमीलाई पागल पनि भन्लान्। प्रमाण देखा पनि भन्लान्। जब तिमी अगाडि बढ्छौ, प्रमाण आफैँ जुट्छन्। तिमीले यति बोल्ने आँट गर्दैगर्दा तिम्रा आमा र बाबाको साथ छुट्न सक्ला। चिनेजानेकाले चरित्रहीनको संज्ञा पनि देलान्। तिमी लडाइको मैदानमा उत्रिसक्यौ। अब तिमीले घर, आमाबुबाको साथ पाउनुपर्छ। समाजले हेर्ने दुष्टिकोण बदल्न नसकौला तर अपशब्द बोल्न नसक्ने बनाउन सक्नैपर्छ। तिमीले यो ट्रेण्ड (आफ्नो पीडा बोल्नेमा)लाई उदाहरणका रुपमा जन्माउनु पर्छ। सडकमा निस्किएका आगोसँगै तिम्रो 'केस'लाई टुङ्ग्याउ, साहसी युवती।
शुन्य प्रमाण हुँदैमा न्याय नपाउने होइन। जब अगाडि बढ्छौ, तव प्रमाण एकएक गरेर आउन थाल्छन्। अब प्रहरीकहाँ जाने आँट गर्नुपर्छ तिमीले। यदि यो आगो नबलेको भए प्रहरीले पनि तिमीलाई हाँसोमा उडाउन सक्थ्यो। तिमीले अदालतसम्म पुग्ने आँट गर्नुपर्छ। यदि अहिले गरिनौ भने तिमीलाई यहाँका अदालत, यहाँका कानुन व्यवसायी, यहाँका प्रहरी अनि यही समाजले पटकपटक बलात्कार गर्नेछ। तिनैले तिमीलाई हेप्नेछन्। तिमी पहिले २० जनाकासामु बलात्कृत भएर सार्वजनिक भएकी थियौं। अब तिमीले ठूलो चुनौती लिइसक्यौ। बलात्कार भएँ भनेर लुकेर बाच्नु र खुलेर बाच्नुमा धेरै फरक छ। अब तिमी पटकपटक मरेर बाच्छौं वा हारेर जित्छौ। समयमै निर्णयमा नै गर्नुपर्छ। किन भने यहाँ कानुनसम्म पुग्न नदिनेहरु धेरै छन्। त्यसैले जितेर नै टुङ्गोमा पुर्याउने बन्नुपर्छ।
स्मरण रहोस्, सर्वोचच्च अदालतका न्यायाधीश देवेन्द्र गोपाल श्रेष्ठ र न्यायाधीश चोलेन्द्र शमशेर जबराले २०७३ साल वैशाख १५ गते गरेको फैसला नं ९६२३ प्रकरण नं ३ मा उल्लेख भएअनुसार - जबरजस्ती करणी जस्तो नेपाल सरकावादी भइ चल्ने मुद्दामा पीडितको जाहेरी नै पर्नुपर्छ भन्ने पनि हुँदैन। पीडितले सामाजिक लज्जा, लाग्न सक्ने लाञ्छना, कसुरदारको डर धाक, आफ्नो चेतना स्तर, आर्थिक सामाजिक पारिवारिक स्थिति जस्ता कारणले पनि जाहेरी दिन नसक्ने अवस्था हुनेहुँदा उजुरी नपरी अन्य कुनै किसिमले घटनाका बारेमा थाहा जानकारी भएमा पनि प्रहरीले अनुसन्धान गरी मुद्दा चलाउनु पर्ने हुन्छ।'
यस्तो अवस्थामा जबरजस्ती करणी जस्तो मुद्दामा हद म्यादको परम्परागत मान्यताको कठोरताका साथ अंगिकार गरिरहनु न्यायोचित पनि नहुने’ भनी आदेश गरिएको छ। यस नजिरबाहेक यहाँ जे पनि हुन्छ - त्यसमा बहानाबाजीमात्र पनि हुनसक्छ।