
विश्वका सबैभन्दा धनी व्यक्ति इलोन मस्कमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ। मस्कमाथि ६ वर्षअघि एक कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको विभिन्न अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन्।
मस्क विद्युतीय कार निर्माता कम्पनी टेस्लासहित स्पेस-एक्स, द बोरिङ कम्पनी लगायतका कम्पनीका मालिक हुन्। उनले हालसालै ट्वीटर किन्ने ‘डिल’ पनि गरेका थिए।
मस्कले ६ वर्षअघि आफ्नो स्पेस-एक्स रकेट कम्पनीका एक कर्मचारीलाई यौन दुर्व्यवहार गरेको भन्ने दाबीलाई अस्वीकार गरेका छन्। पूर्व ‘फ्लाइट एटेन्डेन्ट’लाई २ लाख ५० हजार डलर तिरेर स्पेस-एक्सले सो मुद्दा मिलाएको दाबी बिजनेस इन्साइडरको बिहीवारको एक रिपोर्टमा दाबी गरिएको थियो।
‘ती अति उग्र आरोपहरू पूर्णतया असत्य छन्,’ मस्कले ट्वीटरमा लेखेका छन्।
बिजनेस इन्साइडरको सो आर्टिकल ‘राजनीतिक रूपमा प्रेरित’ भएको मस्कले बताएका छन्।
४४ बिलियन डलरमा ट्वीटरको स्वामित्व अधिग्रहण गर्ने प्रकृयामा हस्तक्षेप गर्न र आफ्नो राजनीतिमा हालैको परिवर्तनलाई बदनाम गर्ने उद्देश्यले सो आर्टिकल आएको मस्कको दाबी छ। यद्यपि, ट्वीटरको स्वामित्व अधिग्रहण गर्ने प्रकृया भने रोकिएको छ।
उनले बुधवार सोसल मिडियामार्फत ‘अब उप्रान्त डेमोक्र्याटिक पार्टीलाई समर्थन नगर्ने’ घोषणा गरेका थिए। उनले आगामी दिनका चुनावमा रिपब्लिकनलाई भोट दिने योजना बनाएको पनि बताएका थिए।
बिजनेस इन्साइडरका अनुसार स्पेस-एक्सले नाम नखुलेकी एक महिलालाई पैसा दिएर अदालत बाहिर नै घटना साम्य पारेको उल्लेख छ। सम्झौतामा उनलाई कम्पनीविरुद्ध मुद्दा हाल्न वा कथित घटनाको बारेमा कुरा गर्न अनुमति नदिइएको पनि बिजनेस इन्साइडरको दाबी छ।
बिजनेस इन्साइडरले सो सम्झौता प्रक्रियाको एक पक्षको रूपमा हस्ताक्षर गरिएको घोषणा प्रदान गरेको दाबी गर्ने ‘फ्लाइट एटेन्डेन्ट’की एक साथीलाई उदृत गरेको छ।
मस्कले २०१६ मा महिला कर्मचारीलाई आफ्नो गुप्ताङ्ग देखाएको, अनुमति बिना खुट्टामा छोएको र उनीसँग यौन सम्बन्ध राखे ‘गिफ्ट’ दिने प्रस्ताव राखेको कर्मचारीकी साथीले बताएको बिजनेस इन्साइडरले उल्लेख गरेको छ।