PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

जसको काँधमा एआईजीको फुली केही घन्टामात्रै टिक्यो...



पहिलोपोस्ट

जसको काँधमा एआईजीको फुली केही घन्टामात्रै टिक्यो...

काठमाडौं : स्थानीय तहको निर्वाचनको चटारो नभएको भए पक्कै डीआईजी बसन्त लामाले जेठ १ या २ गतेभित्रै एआईजीको दर्ज्यानी चिन्ह पाइसकेका हुन्थे। सामान्यतया कुनै उजुरबाजुर भएन भने बढुवामा सिफारिस भएको सात दिनपछि मात्रै बढुवा भएर दर्ज्यानी चिन्ह लगाउने प्रचलन छ।

सात दिन पूरा हुँदा देश पूरै चुनावमा केन्द्रित रह्यो। प्रहरी नायब महानिरीक्षक (डीआईजी) बसन्तकुमार लामालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा वैशाख २३ गते बढुवा समितिले सिफारिस गरेको थियो।

स्थानीय तहको निर्वाचन र मत गणनामा सिंगो प्रहरी फोर्स खटिँदा उनले दर्ज्यानी चिन्ह पाउन समय लाग्यो। स्वभाविक पनि थियो किनकि देशभर ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि अगाडिबाट नै सबै परिचालित भइसकेका थिए। चुनाव शुक्रवारका दिन थियो र उनको सिफारिस पनि शुक्रवारकै मन्त्रिपरिषदले गरेको थियो।

सात दिने म्याद र थपिएको निर्वाचनको अवधि कटौती गरेपछिमात्र उनले दर्ज्यानी चिन्ह पाए। र, बढुवा भएको केही घन्टामात्र उनले उपल्लो तहको दर्ज्यानीसहितको पोशाकमा रहन पाए।

२०४९ सालमा सँगै प्रहरी निरीक्षकमा भर्ना भएका ब्याची तथा अहिलेका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहको हातबाट उनले दर्ज्यानी चिन्ह पाए। बढुवाको डेडलाइन घर्किँदै गर्दा हिजो शुक्रवार उनी नयाँ पद सहित घर फर्किए। अर्थात् केही घन्टामात्रै रह्यो उनको शरीरमा एआईजीको बर्दी।

आज शनिवार, सार्वजनिक बिदा। प्रहरीका माथिल्लो तहका केही कर्मचारीमा बिदामा हुने। लामा पनि शनिवार परिवारसँगै बिदामा छन्। सरकारले जेठ १ गतेबाट हरेक आइतवार सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ। त्यसैले भोलि आइतवार पनि सार्वजनिक बिदा। अफिस जाने कुरा भएन। पर्सिदेखि कार्यालय जानै नपर्ने!

भोलि जेठ ८ गते आइतवार राति १२ बजेबाट उनी अनिवार्य अवकासमा जाँदैछन्। त्यसैले हो उनका लागि एआईजीको बर्दी केही घण्टाकै लागिमात्र सीमित हुन पुग्यो।

'ड्रेस त त्यो नै अन्तिम होला। आज पनि बिदा भोलि पनि बिदा,' एआईजी लामाले सुनाए।

एआईजी लामा ५६ वर्षे उमेर हदका कारण आइतवार राति १२ बजेबाट अवकास पाउँदै गरेका हुन्। प्रहरी नियमावली अनुसार डीआईजी र एआइजीमा ५६ वर्षको उमेर हद राखिएको छ। जसको कारण उनी अवकास हुन लागेका हुन्। अवकासको अन्तिममा एआईजीको फुली लगाउन पाउँदा भने खुशी सुनिए उनी। तर, ३० वर्षे सेवा अवधि नसकिँदै अवकास हुँदा मन केही अमिलो भएको चाहि सुनाए।

'तीन वर्ष संगठनमा काम गर्न पाएको भए हुन्थ्यो लाग्छ। तर अहिलेको प्रावधानले ५६ वर्षमा रिटायर हुँदा केही नमीठो हुँदो रहेछ,' एआईजी लामाले सुनाए।

उनीसँगै संगठनमा छिरेका धीरजप्रताप सिंह आईजी भएका छन्। केही उमेर हदका कारण नै एसएसपीबाट रिटायर समेत भएका छन्। लामाले प्रहरी संगठनमा रहँदा विभिन्न जिल्ला र प्रदेशको कमाण्ड सम्हाल्न पाए। ३३ किलो सुन प्रकरणको उच्चस्तरीय छानविन टोलीमा प्रहरीको तर्फबाट नेतृत्व गर्दा उनको चर्चा सबैभन्दा धेरै चर्चामा रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell