तुलसीपुर : दाङमा जिल्ला समन्वय समिति गठनका लागि नेपाली कांग्रेसको स्पष्ट बहुमत आएको छ। स्थानीय तह प्रमुख र उपप्रमुखले मतदान गर्ने जिल्ला समन्वय समितिका लागि दाङबाट २० प्रमुख/उपप्रमुख छन्।
दश स्थानीय तहमध्ये दाङमा नौवटा स्थानीय तहका प्रमुख र उपप्रमुखले अन्तिम नतिजा ल्याएर पदभार ग्रहण गरिसकेका छन्। तुलसीपुर उपमहानगरपालिकामा भने मतगणना जारी छ।
नतिजा आएका नौ स्थानीय तहबाटै जिल्ला समन्वय समितिमा कांग्रेसको स्पस्ट बहुमत देखिएको हो। कांग्रेसले नौ स्थानीय तहमध्ये पाँच प्रमुख र आठ उपप्रमुखमा विजयी हासिल गरेको छ।
एघार जना मतदाता भए बहुमत पुग्नेमा कांग्रेसले मात्रै १३ प्रमुख/उपप्रमुख जितिसकेको छ। लमही नगरपालिकासहित दङ्गीशरण, शान्तिनगर, बबई र राजपुर गाउँपालिकामा प्रमुख र उपप्रमुख जितेको कांग्रेसले राप्ती, बङ्गलाचुली र गढवामा उपप्रमुखमात्रै जितेको हो।
एमालेले दुई प्रमुख र उपप्रमुख जितेको छ। एमालेले घोराही उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमै जितेको हो।
माओवादी केन्द्रले बङ्गलाचुली, राप्ती र गढवा गाउँपालिकाकाका प्रमुखमा जितेको छ। जिल्ला समन्वय समितिका लागि स्थानीय तह प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्यले उम्मेदवारी दिन पाउनेछन्। मत भने स्थानीय तह प्रमुख र उपप्रमुखले मात्रै दिन पाउने व्यवस्था छ।