PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

प्रमुखमा नराम्ररी पछारिए पनि एमालेलाई ‘उप’मा सान्त्वना! ओलीको बोलीअनुुसार किन आएन परिणाम?



प्रकाश भण्डारी

प्रमुखमा नराम्ररी पछारिए पनि एमालेलाई ‘उप’मा सान्त्वना! ओलीको बोलीअनुुसार किन आएन परिणाम?

काठमाडौं : नेकपा (एमाले)का तर्फबाट काठमाडौं महानगरपालिकाका उपप्रमुखतर्फका उम्मेदवार सुनिता डंगोल जित उन्मुख छिन्। निकटतम् प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादीका) उम्मेदवार रामेश्वर श्रेष्ठभन्दा डंगोलको मत ३ गुणा बढी छ। सत्ता गठबन्धनका पाँच दलको साथ श्रेष्ठलाई छ। तर, चुनावी परिणामले साथ एमालेका उम्मेदवार डंगोललााई दिइरहेको छ। ५० प्रतिशत मत गन्दा तीन गुना मत हासिल गर्नुको अर्थ हो - उनलाई रोक्न सम्भव छैन।

तर, महानगरपालिका प्रमुखको हकमा भने एमालेका उम्मेदवार केशव स्थापितको मत झण्डै आधा छ स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको भन्दा। काठमाडौं महानगरपालिकामा मात्रै होइन, जारी मत गणनामा एमालेले २७ स्थानीय तहको उपप्रमुख/उपाध्यक्षमा अग्रता कायम गरिरहेको छ। अन्तिम नतिजा आइसकेका स्थानीय तहमध्ये २ सय ११ स्थानमा एमालेले उपप्रमुख/उपाध्यक्ष जितेको छ। तर, प्रमुखमा भने एमाले  निर्वाचन आयोगको शनिवार दिउँसोसम्मको तथ्यांक अनुसार १ सय ८७ ठाउँमा सफल छ।

२०७४ को स्थानीय तहमा २ सय ९४ स्थानमा चुनाव जितेर पहिलो शक्तिका रुपमा उदाएको एमालेका लागि २०७९ को चुनावको परिणाम सुखद् रहन सकेन। अघिल्लो स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले २ सय ६६ तहमा मात्रै जितेको थियो। कांग्रेसले स्थानीय तहको जनमतलाई बलियो बनाउँदा एमाले भने खस्किएको छ। उपप्रमुख/उपाध्यक्षको हकमा पनि एमालेले २०७४ मा ३ सय ३१ ठाउँमा जितेको थियो, कांग्रेसले २ सय २३ ठाउँमा जित्दा। प्रमुख र उपप्रमुखमा धेरै ठाउँमा बाजी मारेर अघिल्लो स्थानीय चुनावमा शक्तिशाली पार्टीका रुपमा उदाएको एमाले यसपाला भने दोस्रोमा खुम्चिसकेको छ। अर्थात् एमालेको जित उपविजेतामा खुम्चिएको छ देशभरिको नतिजा हेर्दा।

त्यतिमात्रै होइन, एमालेको जनमत जनघनत्व बढी भएको शहरी क्षेत्रमा अप्रत्यासित हिसाबले कमजोर बनेको छ। जसको असर अब आउने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पनि देखिन सक्छ जुन उसका लागि जोखिमको विषय हो। तर, उपप्रमुखमा पाएको जित र बाँकी ठाउँमा पनि उपप्रमुखले नै दिलाउने विजय भने एमालेका लागि सान्त्वना र आगामी निर्वाचनका लागि आशाको किरण हुने देखिन्छ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका दलहरुलाई चुनावमा पछार्ने भन्दै चेतावनी दिने गरेका थिए, प्रचारका क्रममा। तर, एमाले नै नमीठोसँग पछारिने अवस्थामा पुग्यो। ११ उपमहानगरमध्ये घोराही उपमहानगरमा मात्रै हालसम्म जित निकालेको एमालले धेरै जसो उपमहानगरमा पनि ‘उप’ पदमा मात्रै अग्रता बनाएको छ।

गठबन्धन दलहरुले प्रमुख एउटालाई र उपप्रमुख अर्को दललाई दिएर भागबन्डा मिलाएका थिए ६ महानगर र ११ उपमहानगरमा। जसको फाइदा एमालेले उठाइरहेको छ। किनभने गठबन्धन दलहरुभित्रको असन्तुष्टिका कारण पनि सत्ता घटक दलका उपप्रमुखका उम्मेदवारलाई जित्‍न मुस्किल छ। जस्तै, इटहरी उपमहानगरमा एमालेकी उपप्रमुखका उम्मेदवार संगिता कुमारी चौधरीले अग्रता बनाउँदा मेयरमा भने कांग्रेसका हेमकर्ण पौडेलको अग्रता छ। 

ललितपुर महानगरको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन जितको नजिक पुग्दा उपप्रमुखमा भने एमालेकी उम्मेदवार मञ्जली शाक्य अग्रस्थानमा छिन्।  विराटनगर महानगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार नागेश कोइरालाले चुनाव जित्दा उपप्रमुखमा भने एमालेकी उम्मेदवार शिल्पा कार्कीले जितिन्। त्यहाँ गठबन्धनले जनता समाजवादी पार्टीका अमरेन्द्र कुमार यादलाई उपप्रमुखमा अघि सारेको थियो। गठबन्धनभित्रको असन्तुष्टि र जसपामा आएको विभाजनका कारण उनले चुनाव जित्न सकेनन्। 

चुनावी नतिजका कारण कमजोर बनेको एमालेले पराजयलाई सजिलै स्वीकारेको भने छैन। जनमत फेरि पनि आफ्नै पक्षमा रहेको दाबी गरिरहेको छ सत्ता गठबन्धनको जितलाई ‘धाँधली’को आरोप लगाएर। एमालेका उपाध्यक्ष सुवास नेम्वाङले अहिलेको चुनावमा एमाले एक्लै र विपक्षमा सत्ता गठबन्धन भएका कारणमात्रै पहिलेको भन्दा कम ठाउँमा जितेको बताए। तर, मनोनयनका हिसाबले मात्रै हेर्दा पनि एमालेले सबैभन्दा धेरै ठाउँमा उम्मेदवार उठाएको थियो। जसले गर्दा उपप्रमुखमा सफलता प्राप्त भएको उनले बताए।

‘हामीले सबै पालिका प्रमुख/उपप्रमुख, वडा अध्यक्ष, सबै ठाउँमा उम्मेदवारी दियौँ। साथीहरुले पाँच दलीय गठबन्धन गरे। गठबन्धन भन्दा बाहिर जानै नसकिने गठबन्धनमा मात्रै मत हाल्नुपर्छ भन्ने अनुशासन लगाएर यो निर्वाचन सम्पन्न भयो। नेपाली कांग्रेसले नतिजेका ठाउँमाा पैसा नै पठाउँदिन भन्नेसम्मका कुरा भएर चुनाव भएको छ,’ नेम्वाङले भने।

एमालेले अहिले जितेको संख्या पनि उपलब्धि नै भएको नेम्वाङको भनाइ छ। एमालेले हार्नुको कारण आफूले सत्तामा बसेको गल्तीलाई भन्दा पनि पाँच दलीय गठबन्धन भएको आरोप लगाइरहेका छन् शीर्ष नेताले। यद्यपि, गठबन्धन नभएका ठाउँमा पनि एमाले पराजित भएका थुप्रै स्थान छन्।जस्तै, काठमाडौंको कीर्तिपुर नगरपालिकामा सत्ता गठबन्धन थिएन। तर, पनि एमालेले आफ्नो शाख जोगाउन सकेन। एमालेले कम्युनिस्टको गढमा एक वडा अध्यक्ष समेत जित्‍न सकेन। कीर्तिपुरमा प्रमुख/उपप्रमुखदेखि ९ वटा वडामा कांग्रेसले जित्यो। जम्मा १० वडा रहेको कीर्तिपुरमा एउटा वडा भने स्वतन्त्रले जितेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell