
वीरगंज : बारामा मतगणना अहिले पनि जारी छ। २ उपमहानगरपालिका, ५ नगरपालिका र ९ गाउँपालिका रहेको बारामा १२ वटा पालिकाको मतगणना सकिएको छ भने ४ वटा पालिकाको मतगणना जारी छ।
बारामा मतगणना सकाउन अझै दुई दिन लाग्ने बताइएको छ। बाराको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बाराको दुई वटा उपमहानगरपालिका जितपुरसिमरा र कलैया, ५ नगरपालिकामध्ये निजगढ, सिम्रौनगढ र कोल्हबी गरी तीन वटा नगरपालिकाको मतगणना सकिएको छ भने महागढीमाई र पचरौताको मतगाण्ना भइरहेको छ।
त्यसैगरी, ९ गाउँपालिका मध्ये ७ वटा गाउँपालिकाको नतिजा आइसकेको छ भने २ वटा गाउँपालिकाको नतिजा आउन बाँकी छ।
बाराको पछिल्लो नतिजा अनुसार ४ वटा पालिकाको प्रमुख र ५ वटा पालिकाको उपप्रमुखमा एमालेले जितेको छ भने कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) र जनता समाजवादी पार्टी नेपाल (जसपा)ले २/२ वटा पालिका मेयर र उपमेयर जितेका छन्। नेकपा (माओवादी केन्द्र)ले एक प्रमुख र विवेकशील साझा पार्टीले १ पालिकामा मेयर र उपमेयर जितेको छ।
जितपुरसिमरा उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रले मेयर पदमा जित हासिल गरेको छ। बाराको महागढीमाई नगरपालिका, पचरौता नगरपालिका, आदर्शकोतवाल गाउँपालिका र बारागढी गाउँपालिकामा मतगणना जारी छ।
जितपुरसिमरा उपमहानगरपालिकाको मेयरमा माओवादी केन्द्रका राजन पौडेल तथा उपमेयरमा एमालेका भोलाप्रसाद अधिकारी विजयी भएका छन्। कलैया उपमहानगरपालिकाको मेयरमा एमालेका विनोद प्रसाद साह र उपमेयरमा एमालेकै रौशन परविनले जित हासिल गरेका छन्।
त्यसैगरी, निजगढ नगरपालिकाको मेयरमा एमालेका सुरथ पुरी र उपमेयरमा एमालेकै सोममाया थिङ विजयी भएका छन्। कोल्हबी नगरपालिकामा कांग्रेसका रामप्रसाद चौधरी मेयर र कांग्रेसकै लक्ष्मीकुमारी चौधरी उपमेयरमा विजयी भएकी छन्।
त्यसैगरी, सिम्रौनगढ नगरपालिकामा लोसपाका किशोरी प्रसाद कलवार मेयर र सोही पार्टीकी नजमु शेहरले उपमेयरमा जितेका छन्। परवानीपुर गाउँपालिकामा एमालेका रामक्षत्री प्रसाद कुर्मी अध्यक्ष र एमालेकै सुगान्धी देवी कनुइन उपाध्यक्षमा विजयी भएका छन्।
प्रसौनी गाउँपालिकामा एमालेका विनोद प्रसाद जैसवाल अध्यक्ष र सोही पार्टीकी किरण देवी उपाध्यक्षमा विजयी भएका छन्। फेटा गाउँपालिकामा विवेकशील साझा पार्टीका रुस्तम अन्सारी अध्यक्ष र सोही पार्टीकी निलम साहले उपाध्यक्षमा जित हासिल गरेका छन्।
यस्तै, विश्रामपुर गाउँपालिकामा लोसपाका जुल्फकार अलि भुटो अध्यक्षमा र लोसपाकै प्रियंका देवी उपाध्यक्षमा निर्वाचित भएका छन्। करैयामाई गाउँपालिकामा जसपाका शम्भुप्रसाद यादव अध्यक्ष र जसपाकै सुनैना कुमारी चौधरी उपाध्यक्षमा निर्वाचित भएका छन्।
यता, देवताल गाउँपालिकामा जसपाका उदय प्रसाद यादव अध्यक्षमा र जसपाकै सीतापती देवी यादव उपाध्यक्षमा तथा सुवर्ण गाउँपालिकामा कांग्रेसका राजेश प्रसाद यादव अध्यक्षमा र कांग्रेसकै पुनम कुमारीले उपाध्यक्षमा जितेकी छन्।