PahiloPost

Mar 31, 2026 | १७ चैत्र २०८२

जहाँ ओलीको विशाल आमसभा, त्यहाँ एमाले शून्य



पहिलोपोस्ट

जहाँ ओलीको विशाल आमसभा, त्यहाँ एमाले शून्य
फोटो : नेपाल कम्युनिस्ट पार्टी (एमाले)/फेसबुक

काठमाडौं : स्थानीय तह निर्वाचन अघि जुम्लाको सिंजामा आयोजित नेकपा (एमाले)को आमसभामा सयौंको संख्यामा मानिसको सहभागिता थियो। सभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका थिए।

सर्वसाधारणहरुको उल्लेख्य सहभागितालाई पार्टीप्रतिको लोकप्रियताको रुपमा एमालेले प्रस्तुत गरेको थियो त्यतिबेला। तर, आमसभामा जनताको उल्लेख्य उपस्थिति रहेको देखिए पनि चुनावको नतिजा भने एमालेको पक्षमा देखिएन।

जुम्लामा एमाले पालिका प्रमुख/उपप्रमुख बिहीन बन्यो। अघिल्लो निर्वाचनमा एमालेले तिला गाउँपालिको अध्यक्ष र सिंजा गाउँपालिकाको उपाध्यक्ष जितेको थियो। यसपटकको निर्वाचनमा एमालेले ती पालिका पनि गुमाएको छ।

त्यस्तै, अघिल्लो पटक जुम्लामा माओवादी केन्द्रले ३ अध्यक्ष र ५ उपाध्यक्ष जितेको थियो। यसपटक माओवादी केन्द्रले २ अध्यक्ष र ४ उपाध्यक्ष जितेको छ।

यो स्थानीय तहको चुनावमा जुम्लाका ८ पालिकामध्ये ५ पालिकाको प्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ भने ३ उपप्रमुख पद जितेको छ। यहाँको एकमात्र नगरपालिका चन्दननाथमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्।

चन्दननाथ नगरमा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायतले २ हजार ४०३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका पदमबहादुर शाहीले २ हजार ३४१ मत प्राप्त गरे। कांग्रेसले कनकासुन्दरीमा अध्यक्ष र उपाध्यक्ष, गुठीचौरमा अध्यक्ष, चन्दननाथ नगरपालिकामा उपाध्यक्ष, तातोपानीमा अध्यक्ष, पातारासीमा अध्यक्ष तथा हिमामा अध्यक्ष र उपाध्यक्ष जितेको छ।

त्यस्तै, माओवादी केन्द्रले तिला र सिंजा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै जितेको छ भने तातोपानी र पातारासी गाउँपालिकाको उपाध्यक्षमा मात्रै विजयी भएको छ। यता, नेकपा (एकीकृत समाजवादी)ले गुठिचौर गाउँपालिकाको उपाध्यक्ष मात्र जितेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell