PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

माधव नेपालले भन्ने गरेको 'अपमान' भएकै हो त स्थानीय तह निर्वाचनमा?



प्रकाश भण्डारी

माधव नेपालले भन्ने गरेको 'अपमान' भएकै हो त स्थानीय तह निर्वाचनमा?

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वैशाख ६ गते गठबन्धनभित्र आफ्नो पार्टीलाई 'अपमान' भएको बताए। सत्ता गठबन्धनको भागबण्डाको ‘मैझारो’चलिरहेका बेला नेपालले आफूलाई कमजोर नठान्न चेतावनी पनि दिए। मत परिणामको मैझारो नजिकिँदा भने नेता नेपालको अभिव्यक्तिलाई उनको दलले हासिल गरेको जितसँग तुलना गर्न थालका छन्।

‘जिल्ला जिल्लामा हामीले सुनिरहेका छौं, कतिपय ठाउँमा सहमति गर्दै हुनुहुन्छ, कतिपय ठाउँमा गाह्रो छ। सबै पार्टीले आफ्नो शक्तिको अति मुल्याङ्कन गर्दै अर्काको अवमूल्यन गरिरहनु भएको भन्ने रिपोर्ट आएको छ। हामी अपमान सहनका लागि जन्मिएका होइनौं। हामी हाम्रो शक्ति र सामार्थ्यमा विश्वास गर्छौँ,’ उनले काठमाडौंमा भनेका थिए।

हुन त नेपालले दोहोर्‍याइ तेहेर्‍याइ आरोप लगाउने गरेका छन् - एमालेका अध्यक्ष केपी शर्मा ओलीजस्तो अरुको मान गर्न नजान्ने अर्को नेता छैन। एमालेभित्र आफूमाथिको अपमान बढ्न थालेपछि नयाँ पार्टी बनाउन बाध्य भएको नेपालले दाबी गर्ने गरेका छन्।

गठबन्धनमा अलिकति अप्ठेरो हुने बितिक्कै नेपाल दोहोर्‍याउछन् - आफू बिद्रोही नेता भएको र त्यसै अनुसारको व्यवहार हुनुपर्ने। यही विषय चुनाव अघि भागबण्डामा बार्गेनिङको आधार थियो उनको।

जति बल गरे पनि गठबन्धनमा नेकपा एकीकृत समाजवादीले मागेअनुसार नै भाग त पाएन तर पोखरा महानगरको प्रमुखको भाग पाउनु उसका लागि सानो सफलता थिएन। माओवादी र जनता समाजवादी पार्टी (जसपाले) पनि एकएक महानगरको भाग पाएका थिए जसरी एकीकृत समाजवादीले पाएको थियो।

नेपालले बेला बेलामा भन्ने गरेका छन्, 'नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आफ्नो साथ नभएको भए एमालेका अध्यक्ष केपी शर्मा ओली बालकोट र देउवा बालुवाटार पुग्ने थिएनन्।'

अर्थात् त्यतिबेला एकीकृत समाजवादी निर्णायक थियो ओलीलाई सत्ताबाट हटाउन। हुन त नेपालले लगाएको गुन देउवाले नतिरेका भने होइनन्। केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशतका आधारमा दल विभाजन गर्न मिल्नेगरी अध्यादेश ल्याइदिएर नेपाललाई सुरक्षित अवतरण गराएकै हुन् देउवाले।

तर, नेपालले देउवालाई प्रधानमन्त्री बनाइदिएको ब्याज भने उठाउन छाडेका छैनन्। भागबण्डाका बेला पनि एकीकृत समाजवादीले देउवालाई आफूले दिएको साथलाई आधार बनाएर बार्गेनिङ गरेका थिए। २०७४ मा एमालेले जितेका २ सय ९४ ठाउँमा पहिलो हक एकीकृत समाजवादीको हुने दाबी गठबन्धन भित्र नेपालको थियो।

तर, त्यस अनुसारको हिस्सा नेपालले पाउने सम्भावना गठबन्धनमा थिएन। किन भने एकीकृत समाजवादी र माओवादीलाई नै कांग्रेसलाई फकाएर गठबन्धनलाई निरन्तरता दिनु बाध्यता थियो - एमाले अध्यक्ष केपी शर्मा ओलीलाई देखाउनु जो थियो।

एकीकृत समाजवादीले पोखरा महानगरपालिका र हेटौंडा उपमहानगरपालिकामा प्रमुख तथा इटहरी, बुटवल र तुल्सीपुर उपमहानगरमा उपप्रमुखको उम्मेदवारी दिने गठबन्धनमा सहमति भएको थियो। उक्त सहमति अनुसार नै महानगर र उपमहानगरमा गठबन्धन दल अघि बढे।

नेपाली कांग्रेसले अधिकांश ठाउँमा चुनाव जित्दा पहिलाको तुलनामा नेकपा माओवादी केन्द्रले पनि आफ्नो नतिजामा सुधार गरेको छ। तर, एकीकृत समाजवादीले भने गठबन्धनको साहरबिना अधिकांश स्थानीय तह र त्यसको वडामा पनि चुनाव जित्न सकेको छैन। आक्कल झुक्कलका ठाउँमा मात्रै एकीकृत समाजवादीले नतिजा हात पारेको छ। हालसम्मको नतिजा अनुसार एकीकृत समाजवादीले १७ ठाउँमा चुनाव जितेको छ। जसमा १४ वटामा गठबन्धनको आडमा एकीकृत समाजवादीले चुनाव जित्यो भने ३ ठाउँमा मात्रै एकीकृत समाजवादीले आफ्नै शक्तिको आडमा विजयी बन्यो।

भिखारी प्रसाद यादवले रौतहटको राजदेवी नगरपालिकामा कांग्रेसका उम्मेदवारसँग प्रतिस्पर्धा गरेर चुनाव जिते भने सिराहको सुखुवानान्कारकट्टीमा एकीकृत समाजवादीका केदारनाथ यादवले कांग्रेसका सत्रुधनप्रसाद साहलाई पराजित गरे। सप्तरीको शम्भुनाथ नगरपालिकामा एकीकृत समाजवादीका जितेन्द्रकुमार गुप्ताले नेपाली कांग्रेसका दीपेन्द्र कुमार चौधरीलाई हराए।

तीन ठाउँमा मात्रै चुनाव जितेको तथ्यले देखाउँछ कि नेपालले भनेजस्तो एकीकृत समाजवादीलाई आफ्नो शक्तिका आडमा चुनाव जित्न सजिलो छैन। स्थानीय तह निर्वाचनको मत परिणामलाई आधार मान्ने हो भने एकीकृत समाजवादीले 'बार्गेनिङ'मा बाघ र नतिजामा स्याल देखिएको छ। पार्टी जन्मिएको ९ महिनामै १ महानगर र १ उपमहानगरमा जित निकाल्नु नै एकीकृत समाजवादीका लागि सबैभन्दा ठूलो उपलब्धी हो। पोखरामा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य जित नजिक छन् भने हेटौंडामा मीना कुमारी लामाले चुनाव जितिसकेकी छन्।

गठबन्धनलाई धम्काइरहने एकीकृत समाजवादीलाई चुनावी नतिजाले देखाएको छ - गठबन्धनबिना महानगर र उपमहानगरमा जितविहीन हुने स्थिति थियो। अर्कोतिर गठबन्धन मात्रै नभएको भए स्थानीय तह निर्वाचनमा पार्टीको अस्तित्व जोगाउनै मुस्किल हुने थियो। त्यसैले पनि नेपाललाई गठबन्धनले दिइरहेको जितले पनि मान भइरहेको छ कि अपमान? जवाफ माधव नेपालले मात्र दिन सक्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell