PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

भरतपुरमा जिततर्फ रेनुको रफ्तार, ७ हजारभन्दा बढीले अग्रता



पहिलोपोस्ट

भरतपुरमा जिततर्फ रेनुको रफ्तार, ७ हजारभन्दा बढीले अग्रता

चितवन : महानगरपालिका मध्ये सबैभन्दा बढी चासोका साथ हेरिएको भरतपुर महानगरपालिकामा रेनु दाहालले मतान्तर थप फराकिलो बनाएकी छिन्। अघिल्लो पटक झिनो मतान्तरले मेयरमा जित निकालेर भरतपुरको मेयर सम्हालेकी रेनुले यसपाला ठूलो अन्तरले जिततिर आफूलाई उन्मुख गरेकी छिन्।

आइतवार बिहान ७ बजेसम्म रेनुले ७ हजार ४१५ मतले अग्रता लिँदै जिततर्फको यात्रा सुनिश्चित गर्दै लगेकी हुन्। एउटा कार्यकाल मेयर सफलतापूर्वक सम्पन्न गरे पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी भएको विषयलाई लिएर भरतपुरमा चर्को आलोचना भएको थियो उनको। गठबन्धनबाट उम्मेदवार भएकी रेनुको अग्रताले उनीमाथि लाग्दै आएको आक्षेपका स्वर मधुरो बन्न पुगेको छ।

बिहान ७ बजेसम्म ८९ हजार ५०८ मत गनिएको छ। यसमध्ये रेनुले ३५ हजार ९८ मत सहित आफ्नो फराकिलो अग्रता कायम राखेकी छिन्। उनलाई पछ्याइरहेका नेकपा एमालेका विजय सुवेदीले २७ हजार ६ सय ८३ मत ल्याएका छन्। निर्वाचनका प्रारम्भिक परिणाम आउँदा दाहाल र सुवेदीबिच कडा प्रतिस्पर्धा हुने संकेत देखिएको थियो। तर, मत गणना बढ्दै जाँदा रेनुले मतान्तर निक्कै फराकिलो बनाउन सफल भएकी छिन। यही दर कायम हुँदा उनी जितोन्मुख हुँदैछिन्।

एमाले उम्मेदवार विजय सुवेदीसँग मतान्तर फराकिलो बनाउनमा नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलको पनि महत्वपूर्ण भूमिका रहेको देखिन्छ। भूइकटर चुनाव चिन्हबाट उम्मेदवारी पाएका पौडेलले ११ हजार ८३५ मत ल्याएका छन्। उनी बागी उम्मेदवारका रुपमा रहेका थिएनन् भने भरतपुरका असन्तुष्ट मतदाताले एमालेका सुवेदीलाई मत दिनसक्थे।

यता भरतपुरको उप प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले १५ हजार ४२६ मतान्तरले आफ्नो जित करिब करिब सुनिश्चित गरिसकेका छन्। उनले ३७ हजार ३२६ मत हासिल गरेका छन्। उनलाई पछ्याइरहेका राप्रापाका हिमला गुरुङको मत २१ हजार ९०० रहेको छ। चितवनमा नेकपा एमाले र राप्रपाबिच चुनावी गठबन्धन छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell