PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

अधिकांश वडा र उपप्रमुख जित्दा पनि इटहरी उपमहानगरको मेयर गुमायो एमालेले, कांग्रेसका पौडेललाई मिल्यो सफलता



पहिलोपोस्ट

अधिकांश वडा र उपप्रमुख जित्दा पनि इटहरी उपमहानगरको मेयर गुमायो एमालेले,  कांग्रेसका पौडेललाई मिल्यो सफलता

काठमाडौं : इटहरी उपमहानगरको मेयरमा गठबन्धन तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार हेम कर्ण पौडेल निर्वाचित भएका छन्। पौडेल ३३ हजार ४९ मत ल्याएर मेयरमा निर्वाचित भएका हुन्। एमालेका यामकुमार चाङ्गवाङ सुब्बाले २८ हजार ३१ मत ल्याए।

राप्रपा आकाशहाङ लिम्बुले ३ हजार ९ सय ८ मतमात्र ल्याए। प्रमुखमा गठबन्धनलाई सफलता मिल्दा उपप्रमुखमा भने गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार केशवकुमार विष्ट पराजित भएका छन्। उनी एमालेका उम्मेदवार संगिता कुमारी चौधरीसँग पराजित भएका हुन्।

उपप्रमुखमा एमालेकी चौधरीले ३२ हजार ४ सय ३६ मत ल्याउदा एकीकृत समाजवादीका विष्टले १८ हजार ३१ मत मात्र ल्याएपछि पराजित भएका हुन्। राप्रपाकी वविताकुमारी चौधरीले ४ हजार ७ सय ९१ मत ल्याइन्।

उपमहनगरपालिकाको उपमेयरमा निर्वाचित भएको एमाले अधिकांश वडाहरुमा पनि जितेको छ। यस पटकको निर्वाचनमा एमाले उपप्रमुख र वडाहरुमा जिते पनि प्रमुख पदमा भने पराजित भएको छ अधिकांश ठाउँमा। इटहरीमा पनि एमालेका उम्मेदवारलाई पार्टी विभाजन र गठबन्धन महंगो सावित भयो। र, पराजित हुनपर्‍यो।

वडा नम्बर १ मा रतन कार्की कांग्रेसबाट निर्वाचित हुँदा २ मा एमालेका माधव कोइराला ३ मा एमालेकै उमेश सुवेदी निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ। यस्तै वडा ४ मा भक्त लामा तामाङ, ५ मा भिस्मकुमार घिमिरे पनि एमालेबाटै विजयी भएका छन्। ६ मा दिवश पोखरेल कांग्रेसबाट, ७ मा देवनारायण चौधरी एमालेबाट, ८ मा रोहितकुमार चौधरी कांग्रेसबाट, ९ जितेन्द्र थापा एमालेबाट निर्वाचित भएका छन्।

यस्तै एमालेबाटै निर्वाचित हुनेमा वडा १० मा अबोध चौधरी, ११ मा केशवप्रसाद कोइराला र १२ मा भुवनराज पोखरेले छन्। १३ नम्बर वडामा भने चन्देश्वर सरदार एमालेबाट निर्वाचित हुँदा १४ मा रमेशप्रसाद चौधरी स्वतन्त्रबाट विजयी भएका छन्। एमालेबाट निर्वाचित हुनेमा १५ नम्बर वडाका जयनारायण चौधरी, १६ का तेजनारायण चौधरी, १७ का प्रभातकुमार आचार्य, १८ का रामकुमार चौधरी र १९ का श्रीनारायण चौधरी छन्। वडा नम्बर २० मा भने कांग्रेसका मणिराम श्रेष्ठ निर्वाचित भएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell