PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

एमालेका लागि उपमहानगरमा पनि अप्रत्याशित हार : अधिकांश उपप्रमुखमा सफलता मिल्दा गुमायो प्रमुख किन?



प्रकाश भण्डारी

एमालेका लागि उपमहानगरमा पनि अप्रत्याशित हार : अधिकांश उपप्रमुखमा सफलता मिल्दा गुमायो प्रमुख किन?

काठमाडौं : नेकपा एमालेले अघिल्लो स्थानीय तह निर्वाचनमा ११ उपमहानगरमध्ये ७ वटामा जित निकालेको थियो। त्यतिखेर सोझो रुपमा इटहरी, धरान, हेटौंडा, जीतपुर सिमरा, बुटवल, तुल्सीपुर र घोराहीमा एमालेको पकड जबरजस्त देखिएको थियो।

अघिल्लो निर्वाचनमा कांग्रेसले दुई उपमहानगर धनगढी र कलैयामा मात्रै जित निकालेको थियो भने तत्कालीन राष्ट्रिय जनता पार्टी 'राजपा'ले जनकपुरधाम उपमहानगर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपालगन्ज उपमहानगरमा जित निकालेको थियो। यसपटक भने अघिल्लो पटक जितेका स्थानमा घोराहीबाहेक अरु उपमहानगर गुमाउने अवस्थामा पुगेको छ एमाले।

हालसम्म नतिजा आएमध्ये एमालेले कलैया भने कांग्रेसबाट खोसेको छ। यसरी हेर्दा गत निर्वाचनमा सात उपमहानगर जितेको एमालेले यसपटक कलैया र घोराही मात्रै जितेको छ। सत्ता गठबन्धनले ११ वटै उपमहानगरमा भागबन्डा गरी तालमेल गरेको थियो। अधिकांश ठाउँमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेकाले चुनाव जित्दैछन्। यसो त धनगढीमा गोपाल हमालको जितसँगै धरान र जनकपुरमा गठबन्धनका लागि स्वतन्त्र उम्मेदवार तगारो बने। यता गठबन्धन र स्वतन्त्र मेयर जितेको ठाउँमा उपप्रमुखमा भने एमालेका उम्मेदवारलाई नै फाइदा मिलेको छ। ११ उपमहानगरमध्ये ८ वटाको नतिजा आउँदा ६ ठाउँमा उपप्रमुखमा एमालेले जित निकालेको छ।

एमालेले जितेको उपमहानगर

कलैया उपमहानगरमा एमालेका विनोदप्रसाद साहले २४ हजार १ सय ७४ मत ल्याएर मेयरमा जितेका छन्। कांग्रेसका राजेश राय यादवको १८ हजार ५ सय ४० मत रह्यो भने लोकतान्त्रिक समाजवादी पार्टीका प्रकाश साह तेलीले ९ सय १० मत ल्याए।

घोराही उपमहानगरमा एमालेका नरुलाल चौधरी निर्वाचित भएका छन्। चौधरीले ३१ हजार ७ सय २८ मत ल्याउदा माओवादीका हेमराज शर्मा पोख्रेलले २६ हजार ३ सय ६८ मत ल्याए। राप्रपाकी सरिता देवकोटा ५ हजार ३ सय २४ मत ल्याइन्।

उपप्रमुखतर्फ पनि एमालेका हुमाकुमारी डीसीले ३० हजार ४ सय ३ मत ल्याएर जितेकी छन्। कांग्रेसका भुपबहादुर डाँगी क्षेत्री ३० हजार ३ सय ५४ मत ल्याएर पराजित भए।

गठबन्धनबाट कहाँ कसको जित?

इटहरीमा हेमकर्ण पौडैल नेपाली कांग्रेसबाट ३३ हजार ४९ मत ल्याएर निर्वाचित भए। एमालेका यामकुमार चुङ्गवाङ सुब्बाले २८ हजार ३१ मत पाए। राप्रपा आकाशहाङ लिम्बु ३ हजार ९ सय ८ मतमात्र ल्याए।

उपप्रमुखतर्फ एमालेकी  संगीताकुमारी चौधरीले ३२ हजार ४ सय ३६ मत ल्याएर निर्वाचित भइन् भने गठबन्धनबाट एकीकृत समाजवादीका केशवकुमार विष्टले १८ हजार ३१ मत ल्याए। राप्रपाकी बबिताकुमारी चौधरीले ४ हजार ७ सय ९१ मत ल्याइन्।

धरान उपमहानगरमा स्वतन्त्र उम्मेदवार हर्कराज राईको अग्रता छ। निर्वाचन आयोगकाअनुसार उनको मत १३ हजार ६ सय ३ पुग्दा कांग्रेसका किशोर राईको ११ हजार ९ सय २४ र एमालेका मञ्ज भण्डारीको ९६२९ छ।

तुल्सीपुर उपमहानगरको प्रमुखमा एमालेका टीकाराम खड्काको अग्रता छ। उनको ११ हजार ९७ मत आइसकेको छ भने कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले १० हजार ५ सय ७२ मत ल्याएका छन्। उपप्रमुख तर्फ एमालेकी स्यानी चौधरीले १० हजार ४ सय २३ मत ल्याउँदा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का जोगबहादुर राना मगरले ८ हजार १ सय ६४ मत ल्याएका छन्।

जितपुर सिमरा उपमहनगरको प्रमुखमा माओवादी केन्द्रका राजन पौडेलले १८ हजा ७ सय ४३ मत ल्याएर जिते। एमालेकी सरस्वती देवी चौधरीले १७ हजार ७ सय ७९ मत ल्याइन्। लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका संजयकुमार साहको मत ५ हजार ३ सय ८२ छ।

उपप्रमुखमा भने एमालेका भोलाप्रसाद अधिकारी निर्वाचित भएका छन्। १७ हजार ४ सय ९२ मत ल्याएर अधिकारी निर्वाचित भएका हुन्। नेपाली कांग्रेसकी मेघा शाहीले १५ हजार ८ सय ४२ मत ल्याएर पछि परिन्।

बुटवल उपमहानगरमा नेपाली कांग्रेसका खेलराज पाण्‍डेय ३० हजार २ सय ४९ मत ल्याएर निर्वाचित भए। एमालेका बाबुराम भट्टराईको २२ हजार ७ सय १८ मत थियो। राप्रपाका मृगेन्द्रकुमार शेरचनले ४ हजार ३ सय ७९ मत ल्याए।

उपप्रमुखमा एमालेकी सावित्रादेवी अर्याल २५ हजार ६१ मत ल्याएर निर्वाचित भइन्। नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का चीनबहादुर गुरुङ १७ हजार २३ मत ल्याएर पराजित भए।

नेपालगंज उपमहानगरमा कांग्रेसका प्रशान्त विष्टले २३ हजार ४ सय ६० मत ल्याएर निर्वाचित भएका छन्। त्यहाँ एमालेका पशुपति दयाल मिश्राले ११ हजार ६ सय ७५ मत ल्याए। उपप्रमुखतर्फ जसपाका कमरुद्दीन राईले १७ हजार ९ सय ५० मत ल्याएर निर्वाचित भएका छन्।

हेटौंडा उपमहानगरको प्रमुखमा एकीकृत समाजवादीकी मीनाकुमारी लामाले जित निकालेकी छिन्। उनले २३ हजार ७५ मत ल्याइन्।

एमालेका अनन्‍तप्रसाद पौडेल २० हजार ९ सय ८ मत ल्याए। राप्रपाका दीपकबहादुर सिंहले २० हजार ५ सय ३१ मत ल्याएका थिए। उपप्रमुख तर्फ कांग्रेसका राजेश बानिया ३२ हजार ५ सय ९३ मत ल्याएर निर्वाचति भए।  एमालेकी सुमित्रा काफ्‍लेले २३ हजार ९ सय ९ मत ल्याइन्।

जहाँ स्वतन्त्र उम्मेदवारले पार्दै हायल कायल

धनगढी उपमहानगरमा गठबन्धनका साझा उम्मेदवारलाई पराजित गर्दै मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल र उपमेयरमा नेकपा एमालेकी उम्मेदवार कन्दकला राना विजयी भएकी छन्। हमाल २६ हजार ८ सय ६५ मत ल्याएर मेयरमा विजयी भए।

उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनको भाग पाएका नेपाली कांग्रेसका उम्मेदवार तथा निवर्तमान मेयर नृप वडले १४ हजार ८ सय १७ मत पाए। गठबन्धनका उम्मेदवार र स्वतन्त्र उम्मेदवारको यो १२ हजार ४८ को मतान्तर हो। नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले भने ९ हजार १ सय १५ मत पाए।

उपमेयरमा गठबन्धनको भाग पाएका नेकपा माओवादी केन्द्रकी शान्ति अधिकारी नेकपा एमालेकी उम्मेदवार कन्दकला रानासँग पराजित भइन्। रानाले १५ हजार ४ सय ७९ मत पाउँदा अधिकारीले १२ हजार ६ सय ७० मत पाइन्।

जनकपुरधाम उपमहानगरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुड्डीको अग्रता छ। गठबन्धन विरुद्ध बागी उम्मेदवारका रुपमा उठेका उनी नेपाली कांग्रेसका हुन्। उनले ९ हजार ७ सय ७४ मत ल्याएका छन्। एमालेका शिवशंकर साहले ७ हजार ६ सय ४ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका मनोज चौधरीले ३ हजार ९ सय ५८ मत ल्याएका छन्।

किन हार्‍यो एमाले?

एमाले अधिकांश उपमहानगरमा पराजित हुनुको कारणबारे एमालेभित्र छलफल भइनसकेको नेताहरुले बताएका छन्। एमालेकी सचिव पद्मा अर्यालले अहिले नै जित हारको बारेमा बहस गर्नु हतार हुने बताइन्। चुनावको प्रारम्भीक परिणाम आएलगतै विज्ञप्ति जारी गरेर आफ्नो धारणा सार्वजनिक गरेको एमालेले सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएको छ।

अर्यालले एमालेका प्रमुख पराजित हुने र उपप्रमुख मात्रै निर्वाचित हुने कारणबारे विस्तृत छलफल हुने बताइन्।

'यसबारेमा गहन छलफल नगरी केही भन्न सकिन्न। अहिले प्रतिक्रिया दिँदा हतार हुन्छ। त्यसैले यसबारे पार्टीमा पहिले छलफल हुन्छ,' उनले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell