जनकपुरधाम : धनुषा जिल्लाका विभिन्न नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका प्रमुख चार दलका अध्यक्षहरू निर्वाचनमा पराजित भएका छन्।
नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादि पार्टी र नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्षहरू नै स्थानीय तह निर्वाचनमा पराजित भएका हुन्।
नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियार क्षिरेश्वरनाथ नगरपालिकाको मेयर पदका लागि उठेका थिए। यसअघिको कार्यकालमा समेत मेयर रहेका कांग्रेस सभापति पजियार ६ सय १३ मतले पराजित भएका छन्। उनलाई नेकपा एमालेका सुखदेव यादवले ७ हजार ९१३ मत ल्याएर पराजित गरेका छन्। पजियारले ७ हजार ३०० मत मात्रै ल्याउन सके।
त्यसैगरि सबैला नगरपालिकाकाको मेयरमा उठेका नेकपा एमालेका जिल्ला अध्यक्ष राजकिशोर यादव निर्वाचनमा तेस्रो बने। उनले ३ हजार ५८१ मत ल्याएका छन्। सबैलामा नेकपा माओवादी केन्द्रका कारी राम यादव ४ हजार २१२ मत ल्याएर विजय भए। कारी राम यादवका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जगत सुन्दर साहले ४ हजार २७६ मत ल्याए।
धनुषाधाम नगरपालिकाको मेयरमा उठेका माओवादीका जिल्ला अध्यक्ष देवेन्द्र यादव (दिपक) ले पनि हार व्यहोर्नु परेको छ। उनी पनि निर्वाचनमा तेस्रो बने। धनुषाधाममा नेपाली कांग्रेसका बालेश्वर मण्डल विजय भएका छन्। मण्डल ४ हजार ७१८ मतल्याएर विजय भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका योगकुमार यादवले ४ हजार १७९ मत लयाए।
यस्तै, जनता समाजवादी पार्टिका जिल्ला अध्यक्ष पशुपति यादव कमला नगरपालिकाको मेयरमा उठेका थिए। यादव १ हजार २८ मतले पराजित भएका छन्। कमला नगरपालिकामा नेपाली कांग्रेसका विशेश्वर यादव विजय भएका छन्। उनले ३ हजार ८८७ मत ल्याएर विजय भएका हुन्।