महेन्द्रनगर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का उम्मेदवार रणबहादुर महरा निर्वाचित भएका छन्। आज सम्पन्न मतगणना अनुसार नेपाली कांग्रेसका चिन्तामणि भट्टलाई पराजित गर्दै महरा नगरप्रमुखमा निर्वाचित भएका हुन्।
महराले ६ हजार ७७३ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका भट्टले ६ हजार २६४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। नगरप्रमुखमा नेकपा (माओवादी केन्द्र)-एकीकृत समाजवादी गठबन्धनका उम्मेदवार नवराज ऐरले ५ हजार २२५ मत प्राप्त गरेका छन्।
शुक्लाफाँटाको नगर उपप्रमुखका कांग्रेसका कल्पना जोशी पन्त निर्वाचित भएकी छन्। उनले ६ हजार ५१९ मत प्राप्त गरिन्।
त्यसैगरी, उप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का माधव पन्तले ५ हजार ३६० र एमालेका उम्मेदवार मोनिका भण्डारी भट्टले ५ हजार २३६ मत प्राप्त गरेका छन्। अघिल्लो निर्वाचनमा शुक्लाफाँटामा नगरप्रमुखमा कांग्रेसका दिलबहादुर ऐर र उपप्रमुखमा एमालेका तुलसी हमाल निर्वाचित भएका थिए।
९ पालिका रहेको कञ्चनपुरमा हालसम्म तीन पालिकामा कांग्रेस, तीनमा एमाले र एउटा पालिकामा माओवादी केन्द्र विजयी भएको छ। यहाँको भीमदत्त नगरपालिका र पुर्नवास नगरपालिकामा मतगणना जारी रहँदा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन्।