काठमाडौं : राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा अर्थविद् स्वर्णिम वाग्लेद्वारा लिखित पुस्तक ‘अतृप्त अवसर’ लोर्कापण गरिएको छ। किताबमा नेपालको आर्थिक अवस्था, विकासका चरण, विपि कोइरालाको समाजवादी चिन्तन लगायतका लेख समावेश छ।
आज राजधानीमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपाली उत्पादनको प्रवद्र्धनमा ध्यान दिइने बताए।
उनले आफूहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको सुझाव अनुसार उद्योग मन्त्रालय अन्तर्गत प्रधानमन्त्री नेपाली उत्पादन प्रवद्र्धन कार्यक्रमको नाममा छुट्टै परियोजना आउने बताए। यसअन्तर्गत कृषि, खाद्यान्न, वनपैदावार, जडिबुटी, औषधी, निर्माण तथा हस्तकला लगायतका क्षेत्रमा काम हुने उनले बताए।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेले नेताहरुको कुर्सी मात्रै जोगाउने राजनीतिक स्थिरताले केही दिन नसकिने बताए। उनले देश विकासका लागि नीतिगत सुनिश्चितता आवश्यक रहेको बताए। देशको विद्यमान पद्धती र प्रणालीमा सुधार आवश्यक रहेको उनले बताए।