PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

रूपन्देहीका १६ मध्ये १४ पालिकाको नतिजा सार्वजनिक : कुन पालिकामा कसले मार्‍यो बाजी?



रमेश पराजुली

रूपन्देहीका १६ मध्ये १४ पालिकाको नतिजा सार्वजनिक : कुन पालिकामा कसले मार्‍यो बाजी?

बुटवल : १६ स्थानीय तह रहेको रूपन्देहीमा १४ पालिकाको अन्तिम नतिजा आएको छ। जिल्लामा १ उपमहानगर, ५ नगरपालिका र १० गाउँपालिका छन्।

अन्तिम नतिजा आएका १४ पालिकामध्ये नेपाली कांग्रेस ९ पालिकामा विजयी हुँदै पहिलो दल बनेको छ भने नेकपा (एमाले) ले ३ पालिका जितेर दोस्रो दल बनेको छ। जनता समाजवादी पार्टी नेपाल (जसपा) र जनता प्रगतिशील पार्टीले एक/एक पालिकामा जितेका छन्। अघिल्लो चुनावमा तेस्रो बनेको कांग्रेस अहिले पहिलो बन्दा दोस्रो रहेको जनता समाजवादी पार्टी अहिले चौथो दलमा खुम्चिएको छ।

हालसम्म कांग्रेसले एक उपमहानगर, ३ नगरपालिका र ५ गाउँपालिकाको प्रमुख/अध्यक्ष जितेर पहिलो दल बनेको हो। एमालेले एक नगरपालिका र २ गाउँपालिका जितेको छ।

जिल्लाको एक मात्र उपमहानगरपालिका बुटवलको प्रमुखमा कांग्रेसका खेलराज पाण्डे विजयी भएका छन्। पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका पाण्डे ७ हजार ५ सय बढी मतान्तरले विजयी भएका हुन्।

पाण्डेले ३० हजार १३० मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका बाबुराम भट्टराईले २२ हजार ५९७ मत पाएका छन्। राप्रपाका मृगेन्द्र शेरचनले ४ हजार २९७ मत ल्याएका छन्। पाण्डे २०७४ सालको निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग २ हजार ३ सय मतान्तरले पराजित भएका थिए।

यस्तै उपप्रमुखमा भने एमालेकी सावित्रा अर्याल विजयी भएकी छिन्। उपप्रमुखमा एमालेकी अर्यालले २४ हजार ९०४ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का चिनबहादुर गुरुङले १६ हजार ९८० मत पाएका छन्। राप्रपाकी भगवती पाण्डेले ६ हजार ५२९ मत ल्याएकी छिन्।

त्यस्तै, देवदह नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा एमालेका उम्मेदवार विजयी भएका छन्। प्रमुखमा धुव्रप्रसाद खरेलले १२ हजार ९४३ मत प्राप्त गरी विजयी भएका हुन्।

खरेलले कांग्रेसबाट प्रमुखका उम्मेदवार बनेका हिराबहादुर खत्रीलाई एक हजार ६२० मतान्तरले पराजित गर्दै विजयी भएका हुन्। खत्रीले ११ हजार ३२३ मत प्राप्त गरेका छन्। उनी २०७४ सालको निर्वाचनमा प्रमुखमा विजयी भएका थिए।

यस्तै, उपप्रमुखमा एमालेकै विद्यालक्ष्मी गुरुङ विजयी भएकी छिन्। गुरुङले १३ हजार ७८४ मत प्राप्त गरी उपमेयरमा विजयी भएकी हुन्। उनले नेकपा (माओवादी केन्द्र)का सुन्दरी गिरीलाई ६ हजार ४९४ मतान्तरले पराजित गर्दै उपमेयरमा विजयी भएकी हुन्। गुरुङ २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि उपप्रमुखमा निर्वाचित भएकी थिइन्। गिरीले ७ हजार २९० मत प्राप्त गरेकी छन्।

त्यसैगरी, सैनामैना नगरपालिकामा प्रमुखमा संयुक्त गठबन्धन र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी भएका छन्। नगरप्रमुखमा एमालेका चित्रबहादुर कार्कीलाई पराजित गर्दै संयुक्त गठबन्धनबाट कांग्रेसका फणेन्द्र शर्मा विजयी भएका हुन्। शर्माले १५ हजार ६८६ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी कार्कीले १५ हजार १०४ मत ल्याएका छन्। कार्की २०७४ को निर्वाचनमा नगरप्रमुखमा निर्वाचित भएका थिए।

यस्तै, उपप्रमुखमा भने एमालेकी विना राना विजयी भएकी छिन्। राना माओवादी केन्द्रका मानबहादुर महतलाई पराजित गर्दै विजयी भएकी हुन्। रानाले १५ हजार ७६२ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी महतले १३ हजार ७२० मत ल्याएका छन्। राना २०७४ को निर्वाचनमा पनि उपप्रमुखमा निर्वाचित भएकी थिइन्।

सिद्धार्थनगर नगरपालिका प्रमुखमा कांग्रेसका इस्तियाक अहमद खान निर्वाचित भएका छन्। खानले ९ हजार १३४ मत ल्याए। उनका निकटतम प्रतिस्पर्धी राप्रपाका सागर प्रताप राणाले ८ हजार १३७ मत प्राप्त गरेका छन्। एमालेका रामप्रसाद बस्याल ७ हजार ३०५ मत ल्याउँदै तेस्रो स्थानमा रहेका छन्।

यस्तै, उपप्रमुखमा एमालेकी उमा अधिकारीले जित हासिल गरेकी छन्। अधिकारीले ८ हजार ८१३ मत ल्याउँदा राप्रपाकी विनिता गुप्ताले ६ हजार ५४४ मत प्राप्त गरेकी छन्। २०७४ सालमा भएको स्थानीय तह चुनावमा सिद्धार्थनगर नगरपालिकाको प्रमुख तथा उपप्रमुख एमालेले जितेको थियो।

यता, लुम्बिनी साँस्कृतिक नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा एमाले विजयी भएको छ।

प्रमुखमा कांग्रेसका सजरुद्दिन खान ८ हजार २११ मत ल्याई विजयी भएका छन्। उनका प्रतिस्प्रर्धी डा सिके राउत नेतृत्वको जनमत पार्टीका उम्मेदवार चन्द्रकेश गुप्ताले ५ हजार ५९६ मत ल्याएका छन्।

यस्तै, उपप्रमुखमा एमालेकी कल्पना हरिजन विजयी भएकी छिन्। उनले ६ हजार ९६९ मत प्राप्त गर्दा जनता समाजवादी पार्टीकी शबनम जहाँशेषले ४ हजार ९०९ मत ल्याएकी छिन्।

यसैगरी, रोहिणी गाउँपालिकाको अध्यक्षमा जसपाका उम्मेदवार विद्याप्रसाद यादव विजयी भएका छन्। यादव ७ हजार ४९६ मत प्राप्त गरी विजयी भएका हुन्। उनका प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ताहिर अलिले ६ हजार ४५८ मत प्राप्त गरेका छन्।

यस्तै उपाध्यक्षमा राप्रपाकी उम्मेदवार शिवकान्ति चमार ६ हजार १५४ मत प्राप्त गरी विजयी भएकी छिन्। उनकी प्रतिस्पर्धी जसपाकी रिमा मिश्राले ५ हजार ९०२ मत प्राप्त गरेकी छन्।

उता, मर्चवारी गाउँपालिकाको अध्यक्षमा जनता प्रगतिशिल पार्टीका उम्मेदवार गया प्रसाद बरई निर्वाचित भएका छन्। कांग्रेसका उम्मेदवार ज्ञान प्रकाश मिश्रालाई ११४० अन्तरले पराजित गर्दै बरई विजयी भएका हुन्। बरईले ४ हजार ३ सय ८५ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिस्पर्धी मिश्राले ३ हजार २ सय ४५ मत प्राप्त गरे।

मर्चवारी जनता प्रगतिशिलले जितेको रुपन्देहीको एक मात्र पालिका हो। जनता प्रगतिशिललाई यो सफलता दिलाउने गया यसअघि कांग्रेसमा आबद्ध थिए।

यस्तै, उपाध्यक्षमा पनि जनता प्रगतिशिल पार्टीकै उम्मेदवार आशा सिंह विजयी भएकी छिन्। कांग्रेसका उम्मेदवार सुमन यादवलाई ५५६ अन्तरले पराजित गर्दै उनी विजयी भएकी हुन्। सिंहले २ हजार ९६५ मत प्राप्त गरिन् भने उनको निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार यादवले २ हजार ४०९ मत प्राप्त गरिन्।

त्यस्तै, ओमसतीया गाउँपालिकाको अध्यक्ष एमालेले जितेको छ। गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार मन्जितकुमार यादव विजयी भएका छन्। उनले ४ हजार ८३१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी राप्रपाका तिलकसिंह कोइरालाले ३ हजार १३९ मत प्राप्त गरेका छन्।

यस्तै, उपाध्यक्षमा भने नेपाली कांग्रेसकी उम्मेदवार सुनिता चौधरी विजयी भएकी छिन्। उनले ४ हजार १३९ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी राप्रपाकी चित्रलेखा थारुले ३ हजार ४५५ मत प्राप्त गरिन्।

त्यसैगरी, मायादेवी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार ध्रुवनारायण चौधरी विजयी भएका छन्। उपाध्यक्षमा भने लोसपाकी नर्वदादेवी उपाध्याय विजयी भएकी छिन्।

अध्यक्षमा चौधरी ५ हजार ३ सय ८६ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का उम्मेदवार रामअधारे अहिरले ४ हजार ९ सय ८८ मत प्राप्त गरे। चौधरी २०७४ मा पनि गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।

यस्तै, उपाध्यक्षमा लोसपाकी उम्मेदवार नर्वदादेवी उपाध्याय ४ हजार ९ सय ४२ मत प्राप्त गरी विजयी भएकी छिन्। उनकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी तारादेवी यादवले ४ हजार ८ सय ८९ मत प्राप्त गरिन्। तारादेवी २०७४ को स्थानीय तह निर्वाचनमा गाउँपालिका उपाध्यक्षमा विजयी भएकी थिइन्। २०७९ सालको निर्वाचनमा भने उनी पराजित भएकी छिन्।

यता, सियारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसमा उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा थानेश्वर घिमिरे १० हजार ४५ मत ल्याई विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका अयोध्या थारुले ७ हजार २६८ मत ल्याएका छन्। थारु २०७४ मा भने गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।

यस्तै, उपाध्यक्षमा कांग्रेसकै तारा थारु ८ हजार ९९० मत ल्याई विजयी भएकी छिन्। उनकै निकटतम प्रतिस्पर्धी एमालेकी अमृता गुरुङ्गले ७ हजार २६९ मत प्राप्त गरिन्।

यसैगरी, गैडहवा गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार सुरेन्द्र पौडेल विजयी भएका छन्। पौडल ५ हजार ६३१ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका हुन्। उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार बसि उल्लाह मुसलमानले ४ हजार ३८८ मत प्राप्त गरे।

यस्तै, उपाध्यक्षमा एमालेकै उम्मेदवार माधुरी जैसवाल विजयी भएकी छिन्। जैसवालले ४ हजार ७५७ मत प्राप्त गरिन्। उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार मन्जु न्यौपानेले ४ हजार ६५१ मत प्राप्त गरिन्।

उता, सम्मरीमाई गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार विनोद श्रीवास्तव र उपाध्यक्ष कुमारी प्रियंका शाही सिंह विजयी भएका छन्। श्रीवास्तवले ४ हजार १३४ मत ल्याई विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका जितेन्द्रनाथ शुक्ल (बब्लु) ले ३ हजार ५ सय २ मत प्राप्त गरेका छन्।

यस्तै, उपाध्यक्षमा निर्वाचित सिंहले ४ हजार ४ मत प्राप्त गरेकी छिन्। उनका निकटतम प्रतिद्वन्द्वी लोसपाकी बिन्द्रावती गुप्ताले ३ हजार ३०४ मत प्राप्त गरिन्।

त्यस्तै, शुद्धोधन गाउँपालिकामा कांग्रेसका विष्णुप्रसाद बस्याल विजयी भएका छन्। बस्याल सात हजार ९८३ मत ल्याई विजयी भएका हुन्। उनका निकटतम् प्रतिस्पर्धी एमालेका किशुनचन्द्र चौधरीले ६ हजार २७० मत प्राप्त गरे।

यस्तै, उपाध्यक्षमा एमालेकी शान्तादेवी ज्ञवाली छ हजार ६८२ मत ल्याई विजयी भएकी छिन्। गठबन्धनतर्फ माओवादी केन्द्रकी शारदा भुसालले तीन हजार २५५ मत प्राप्त गरेकी छिन्।

त्यसैगरी, कञ्चन गाउँपालिकामा कांग्रेसका नवराज ढकाल विजयी भएका छन्। उनले एमालेका दिनानाथ आचार्यलाई पराजित गरे। ढकालले ९ हजार ८५ मत र आचार्यले सात हजार ८४५ मत प्राप्त गरेका छन्।

यस्तै, उपाध्यक्षमा पनि कांग्रेसकै मौसमी थापा मगर ९ हजार १९४ मत ल्याई विजयी भएकी छिन्। उनका निकटतम प्रतिस्पर्धी एमालेकी ओमकली रहाडीले सात हजार ६९९ मत प्राप्त गरिन्।

दुई पालिकाको नतिजा आउन बाँकी

जिल्लाका १६ मध्ये अब दुई वटा पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी छ। तिलोत्तमा नगरपालिका र कोटहीमाई गाउँपालिकाको मतगणना जारी रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell