
काठमाडौं : युक्रेनमाथि रसियाको आक्रमणलाई कारण देखाउँदै आज फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएको छ। पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रति लिटर १० रुपैयाँ बृद्धि भएको नेपाल आयल निगमले जनाएको छ। स्थानीय तहको निर्वाचन यतामात्रै पेट्रोल, डिजेल र मट्टीतेलमा २० रुपैयाँ प्रतिलिटर मूल्य बढिसकेको छ। त्यतिमात्र होइन, आज ग्यासमा समेत मूल्य वृद्धि गरिएको छ। एलपी ग्यासमा प्रति सिलिन्डर २ सय रुपैयाँ वृद्धि गरिएको हो।
भारतले पेट्रोलियम पदार्थको मूल्य अत्याधिक हुँदा जनस्तरमा प्रभाव परेको भन्दै कर कटौती गरेर राहत दिएको समाचार सार्वजनिक भएकै दिन नेपालमा भने इन्धनको मूल्य थप महँगो गराएको छ, सरकारले।
नयाँ मूल्य अनुसार अब एक लिटर पेट्रोलको मूल्य १ सय ८० रुपैयाँ निर्धारण भएको छ। त्यसैगरी डिजेल र मट्टीतेलको मूल्य लिटरको १ सय ६३ रुपैयाँ कायम भएको छ। बढेको मूल्य अनुसार अब एक सिलिन्डर ग्यासलाई १ हजार ८ सय रुपैयाँ तिर्नुपर्नेछ।
आज राति १२ बजेबाट इन्धनको नयाँ मूल्य कायम हुने निगमले जनाएको छ। सबैखाले इन्धनमा भएको मूल्य वृद्धिले ढुवानीसँगै भान्छा नराम्ररी महँगिने निश्चित छ।
निगमको दावीलाई मान्ने हो भने आज मूल्य बढाउँदा पनि पेट्रोलमा निगमलाई प्रतिलिटर १४ रुपैयाँभन्दा धेरै घाटा छ। त्यसैगरी डिजेलमा झन्डै २७ रुपैयाँ घाटा छ। एक सिलिन्डर ग्यासमा ८ सय ८० रुपैयाँ घाटा रहेको निगमले जनाएको छ।
नेपालले भारतको इन्डियन आयल कर्पोरेसनबाट इन्धन आपूर्ति गर्छ। मे महिनामा ४३ अर्ब रुपैयाँ भुक्तानी गर्नुपर्नेमा २० अर्ब ६० करोड रुपैयाँमात्र भुक्तानी गर्न सकिएको निगमले जनाएको छ।
इन्धन आपूर्तिका कारण वैदेशिक मुद्रा सञ्चितीमा असर परेको भन्दै सरकारले शनिवार र आइतवार दुई दिन बिदा दिन सुरु गरिसकेको छ। यद्यपि, त्यसको प्रभावकारिता देखिएको छैन। न त इन्धनको मूल्य बढ्दा सडकमा सवारी साधनको संख्यामा कटौती नै आएको छ।