
दमौली : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बलियो साथ लिएर दीपकराज जोशी तनहुँको व्यास नगरपालिकाको मेयरका लागि चुनावी मैदानमा उत्रिएका थिए। विदेशबाट फर्केर स्थानीय तहको निर्वाचनमा होमिएकाले धेरैको नजर उनीमाथि थियो। अझ नेपाली कांग्रेसका कार्यकर्ताको आक्रमणले पनि उनको चुनावी परिणाम सबैको प्रतीक्षाको विषय बनेको थियो।
व्यास नगरपालिकाको चुनावमा उनी चर्चामा रहनुको अर्को कारण थियो - नेकपा एमालेको साथ। भ्रष्टाचारको मुद्दापछि कांग्रेस राजनीतिबाट किनारा लागेका गोविन्दराज जोशीका छोरा दीपकलाई जिताएर सत्तारुढ दलसँग झोक फेर्ने एमाले चुनावी रणनीति मत परिणामसँगै असफल हुन पुगेको छ। झिनो मतान्तरले दीपकराज जोशी मेयरमा पराजित भएका छन्।
व्यास नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पद नेपाली काङ्ग्रेसले हत्याएको छ। नगरप्रमुखमा वैकुण्ठनाथ न्यौपाने र उपप्रमुखमा इन्दिरा दरै विजयी भएका छन्।
वैकुण्ठनाथ न्यौपाने र इन्दिरा दरै
व्यास नगरपालिकाको निर्वाचन भने रोचक रह्यो। प्रारम्भिक मत परिणाममा दीपकराज जोशीले अग्रता लिएका थिए। तर अन्तिममा जित कांग्रेसको पोल्टामा गयो। अन्तिम मत परिणाम अनुसार दुई सय ५२ को मतान्तरले न्यौपानेले नगरप्रमुखमा जित निकाले। उनले १२ हजार ७८ मत पाए भने नेकपा एमालेको समर्थनमा मैदानमा उत्रिएका स्वतन्त्र उम्मेदवार जोशीले ११ हजार८२६ मत प्राप्त गरे।
तनहुँको राजनीतिमा नेपाली कांग्रेसभित्रका दुई हेभिवेट नेता रामचन्द्र पौडेल र गोविन्दराज जोशीबिचको द्वन्द्व सधैं चर्चामा रह्यो। जोशी भ्रष्टाचारका कारण कांग्रेस राजनीतिबाट किनारातिर पुगे भने रामचन्द्र पौडेल कांग्रेसभित्र प्रतिपक्षी भूमिकाबाट पार्टी सभापति देउवाका सहयोगीका रुपमा स्थापित भएका छन्। नेकपा एमालेविरुद्धको गठबन्धनमा पौडेलले सभापति देउवालाई बलियो रुपमा साथ दिइरहेका छन्। त्यसैले पूर्व कांग्रेसी नेताका पुत्रलाई जिताएर एमाले कांग्रेससँग बदला लिन चाहन्थ्यो।
तनहुँको यो चुनावी परिणाम नेकपा एमालेका लागि पनि दुखद् नै बन्न पुग्यो। जोशीका लागि एमालेले चुनावी मैदानमा आफ्नो दलबाट कसैलाई उतारेको थिएन।
अझ कांग्रेस कार्यकर्ताको आक्रमणमा परेका थिए दीपकराज जोशी। त्यसक्रममा घाइते भएका जोशीलाई केपी ओलीले टेलिफोन सम्पर्क गरेको अडियो सोसल मिडियामा चर्चित थियो। ओलीले टेलिफोनमा दीपकराज जोशीलाई भनेका थिए – रामचन्द्र पौडेल असाध्यै नृशंस र हिंस्रक मान्छे हो।
ओलीमात्र होइन नेकपा एमालेका महासचिव शंकर पोखरेल र सुवास नेम्वाङले ले पनि जोशीको जितका लागि बलियो पहल कदमी गरेका थिए। दुवैजना नेता उपचारमा रहेका जीशीलाई भेट्न अस्पताल नै पुगेबाट पनि उनीहरुको बलियो साथ रहेको खुल्छ।
व्यासको उपप्रमुखमा दरै १३ हजार चार सय ९८ मत प्राप्त गरी विजयी भइन्। प्रतिस्पर्धी नेकपा (एमाले) का वसुन्धरा घर्तीले दश हजार ४२ मत प्राप्त गरिन्। कूल १४ वडामध्ये कांग्रेसले ११ वडामा प्यानलसहित जित निकालेको छ भने एमालेले तीन वडामा वडाध्यक्ष जितेको छ। एमालेले वडाध्यक्ष जितेको वडामा पनि कांग्रेसले सबै सदस्य जितेको छ। एमालेले व्यास–४, ५ र ७ को वडाध्यक्षमात्रै जितेको हो।
व्यास–१ को वडाध्यक्षमा रमेशचन्द्र हड्खले, २ को अध्यक्षमा काशीराम श्रेष्ठ, ३ को अध्यक्षमा अनुप राना, ४ को अध्यक्षमा मनबहादुर गुरुङ, ५ को अध्यक्षमा विष्णुकुमार श्रेष्ठ, ६ को अध्यक्षमा जीवन गुरुङ, ७ को अध्यक्षमा कृष्णप्रसाद न्यौपाने, ८ को अध्यक्षमा युवराज गुरुङ, ९ को अध्यक्षमा सुरेश थापा, १० को अध्यक्षमा खेमराज पोख्रेल, ११ को अध्यक्षमा दलबहादुर दुरा, १२ को अध्यक्षमा बमबहादुर आले, १३ को अध्यक्षमा वसन्तबहादुर आले र १४ को अध्यक्षमा काजीमान श्रेष्ठ विजयी भए।
स्वतन्त्र उम्मेदवार हार्नु जित्नु बराबर : दीपकराज जोशी
पराजयपछि उनले मतदातालाई धन्यवाद दिएका छन्। 'यो चुनावमा मैले भोटले नजिते पनि व्यास नगरबासीको मन जितेको छु,' दीपकले फेसबुकमा लेखेका छन्, 'जसलाई डर, धम्की , पेट्रोल, मासुभात, रक्सी र पैसाले किन्न सक्दैन।'
नेकपा एमालेसँग चुनावी तालमेलमा प्रतिस्पर्धामा उत्रिएको भए पनि उनले दलीय छत्रछायाँमा नबसेको दावी गरेका छन्।
'एउटा स्वतन्त्र उम्मेदवारले चुनाव हार्नु भनेको जित्नु बराबर हो। किनभने दलीय व्यवस्थामा कुनै पार्टी र यसको छत्रछायाँमा नरही मतदान गर्नसक्ने युवाहरुको जमात हुनु भनेकै परिवर्तनको चाहना अहिलेको पुस्तामा छ भन्ने कुराको संकेत हो,' दीपकले पराजित भएपछि भनेका छन्।
उनले चुनाव जित्नु र हार्नु ठूलो कुरा नभएको पनि लेखेका छन्।