PahiloPost

Jul 3, 2024 | २० असार २०८१

जितको नजिक रेनुको रफ्तार, मतान्तर झन्डै १० हजार



पहिलोपोस्ट

जितको नजिक रेनुको रफ्तार, मतान्तर झन्डै १० हजार

चितवन : भरतपुर महानगरपालिका निर्वाचनमा गठबन्धनका तर्फका उम्मेदवार रेनु दाहाल जितको नजिक पुगेकी छिन्। झन्डै १० हजारको फराकिलो मतान्तर कायम रहेकाले उनले जित सुनिश्चित गरेकी हुन्।

नेकपा माओवादी केन्द्रबाट दोस्रो कार्यकालका लागि मेयरमा प्रतिस्पर्धा गरेकी उनले पछिल्लो मत परिणाम अनुसार ४३ हजार ६१ मत हासिल गरेकी छिन्। उनका निकटतम प्रतिद्वन्द्वी विजय सुवेदीले ३३ हजार २ सय ३९ मत हासिल गरेका छन्। रेनु सत्ता गठबन्धनबाट उम्मेदवार हुन् भने विजय नेकपा एमाले र राप्रपाको चुनावी गठबन्धनका उम्मेदवार।

रेनुको निर्वाचनलाई जितोन्मुख बनाउन स्वतन्त्रतर्फका उम्मेदवार जगन्नाथ पौडेलले हासिल गरेको मत परिणामले पनि उल्लेख्य भूमिका खेलेको छ। पौडेलले १३ हजार २ सय ६६ मत हासिल गरिसकेका छन्। नेपाली कांग्रेसका पौडेलले सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका हुन्। मेयरको टिकट वितरणमा कांग्रेसको असन्तुष्ट समूहले उनलाई साथ दिँदा मेयरमा रेनुको जित बलियो बन्दै गएको हो।

प्रारम्भिक मत गणनामा नेकपा एमाले विजय र माओवादीका रेनु बिचको प्रतिस्पर्धा रोचक देखिएको थियो। झिनो मतान्तरले एकले अर्कालाई पछि पार्दा भरतपुरले चुनावी परिणाम पेचिलो बनेको थियो। तर, नेकपा एमालेकै बलियो मानिएका वडाहरुबाट समेत रेनुको पक्षमा मत बढी आउन थालेपछि प्रतिस्पर्धामा सुरुवातमा देखिएको रोचकता घट्दै गयो र लगातार रेनुले मतान्तर बढाउँदै लगिन्। १ लाख २७ हजारको हाराहारीमा भरतपुर नगरपालिकामा मत खसेको छ। त्यस आधारमा त्यहाँको आखिरी नतिजा आउन धेरै समय लाग्ने छैन।

यता उप प्रमुखमा त चुनावी नजितामा कुनै रोचकता छैन। सुरु देखि नै नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले लिड कायम राखे। नेकपा एमालेले राप्रपासँग तालमेल गरेकाले उप मेयरमा राप्रपाका हिमला गुरुङ प्रतिस्पर्धामा छिन्। अधिकारीले ४४ हजार ५ सय ९१ मत हासिल गर्दा निकटतम प्रतिस्पर्धी रहेकी गुरुङले २६ हजार ३ सय २२ मत ल्याएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell