.jpg)
काठमाडौं : फराकिलो मतान्तर कायम राख्दै काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो लिड कायम राखेका छन्। स्वतन्त्रबाटै उम्मेदवारी दिएका सुमन सायमिले पनि मत बढाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठलाई पछि पारेका छन्।
मत गणनाको शीर्षस्थानमा स्वतन्त्र उम्मेदवार बालने रहँदा चौथोमा सुमन छन्। बालेन्द्र र सुमनको बिचमा छन् नेपाली कांग्रेसका सिजना सिंह र नेकपा एमालेका केशव स्थापित। यिनै ४ उम्मेदवार मात्र हुन् जसले काठमाडौं महानगरपालिकामा चार अंकभन्दा माथि मत हासिल गरेका छन्।
बालेन्द्रले लौरो चिन्हबाट ४३ हजार १ सय ६२ मत हासिल गरिसकेका छन्। उनलाई पछ्याउँदै कांग्रेसका सिर्जना सिंहले २५ हजार ५ सय ९९ मत ल्याएकी छिन्। उनीभन्दा झिनो मतान्तरले पछाडि छन् एमालेका केशव स्थापित। स्थापितले २५ हजार २ सय ६८ मत ल्याएका छन्।
तिखिझ्या: अर्थात् आँखीझ्याल चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका सुमन सायमिले अहिलेसम्म ३ हजार ३ सय ३४ मत हासिल गरेका छन्। राप्रपाका मदनदास श्रेष्ठले २ हजार ९ सय ९६ मत हासिल गरेका छन्।
यी चार उम्मेदवार बाहेक कुनै पनि दलका उम्मेदवारले काठमाडौं महानगरको चुनावी प्रतिस्पर्धामा एक हजार मत कटाउन सकेका छैनन्। मदनदासपछि धेरै मत ल्याउनेमा विवेकशील साझाकी समीक्षा बास्कोटा छिन्। उनले ३ सय ४४ मत हासिल गरेकी छिन्। उनीपछि अर्का दुई उम्मेदवार छन् जसले १ सयभन्दा धेरै मत जोडेका छन्। काठमाडौं महानगरपालिकामा मेयरका ५५ जना प्रत्यासी थिए। जसमध्ये आधा भन्दा धेरै अर्थात् २७ जनाले अहिलेसम्म एक मत पनि जोड्न सकेका छैनन्।
यता उप प्रमुखमा सुनिता डंगोलले ३० हजार भन्दा बढीको मतान्तरले निकटतम प्रतिस्पर्धीलाई पछि पारेकी छिन्। नेकपा एमालेकी सुनिताले ४५ हजार ८ सय ७५ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १५ हजार २ सय ८२ मत हासिल गरेका छन्। उप प्रमुखमा राप्रपाका विनिता मजगैयाले ७ हजार २३ मत हासिल गरेकी छिन् भने स्वतन्त्र उम्मेदवार वेन्जी सिंह महर्जनले २ हजार १ सय ४२ मत ल्याएकी छिन्। विवेकशील साझाका कृति कंसाकारले १ हजार ६ सय ७५ मत हासिल गरेकी छिन्। अर्का स्वतन्त्र उम्मेदवार विद्या श्रेष्ठले १ हजार ५ सय ७८ मत हासिल गरेकी छिन्।