
- बेदबहादुर खड्का-
२०६१ वैशाख अन्तिमतिरको एक दिन। नारायणी किनारास्थित लिलाचोकबाट मासुको लागि बिक्री गर्न लागेको घाइते कछुवा जिल्ला प्रहरी कार्यालय, चितवनले जफत गरेको थियो।
उक्त कछुवालाई के गर्ने, कसो गर्ने? भनेर प्रहरी टोली रल्लीई रहेका रहेछन्। जफत गरेको कछुवाको प्रजाति नछुट्टिएका कारण प्रहरीले चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा टेलीफोन गर्यो। टेलीफोनको सूचनापछि यो पङ्क्तिकार सहितको टोली उक्त कछुवाको प्रजाति पहिचान र उद्धार गर्न नारायणगढ पुल्चोकस्थित प्रहरी कार्यालयमा पुग्यो।
कछुवा बडेमानको थियो र खुट्टा बाँधिएकै अवस्थामा पक्राउ गरिएको भन्ने जानकारी पाइयो। अनुसन्धानबाट कछुवा ठूलाखाले नदीमा बस्ने बदार (चित्राइन्डिका, Chitra indica) प्रजातिको पहिचान भयो। त्यो कछुवालाई स्थानीय बोटे, माझीहरुले बदार नामले चिन्दथे। बदार प्रजातिको कछुवाको खपटा नरम हुन्छ र सफा बगुवा पानीमा बस्ने गर्दछ। पक्राउ परेको बदार कछुवाको मुखलगायत शरीरको विभिन्न भागमा घाउ र निलडामहरु देखिन्थे।
मुखको घाउ नियाल्दा मुखमा अल्झेको बल्छीले छाला च्यातेजस्तो देखिन्थ्यो। शरीरका अन्य भागको घाउ हेर्दा माझीको जालमा रगडिएर लागेको चोटपटकजस्तो पनि देखिन्थ्यो। माझीहरुले नारायणीमा माछा मार्न थापेको चारोसहितको बल्छी निल्ने क्रममा कछुवा फसेको र बल गरेर बल्छी तान्दा बल्छीले कछुवाको मुख च्यातेको निर्क्यौल गरियो। उक्त कछुवालाई चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरास्थित घडियाल प्रजनन् केन्द्रमा ल्याएर राखियो।
यस केन्द्रको पोखरीहरुमा अन्य प्रजातिका कछुवाहरु पालना गर्दै आइएको छ। उचित आहारा दिइ हेरचाह गरेको २ हप्तापश्चातः कछुवा स्वस्थ्य भयो र राम्रैसँग हिंडडुल गर्न थाल्यो। तर त्यहाँ रहेका अन्य कछुवाहरु भने ठुलो कछुवाको डरले निर्भय रुपमा आहारा खान र हिड्डुल गर्नसमेत छोडे। उक्त कछुवालाई सधैभरी घडियाल प्रजनन केन्द्रमा पालन गरी राख्न छुट्टै ठूलो पोखरी चाहिने देखियो। छुट्टै ठूलो पोखरी भने त्यस केन्द्रमा उपलब्ध थिएन। उपयुक्त पोखरीको अभावले गर्दा त्यस स्थानमा कछुवापालन गर्न कठिनाई उत्पन्न भयो। अतःनिकुञ्जको खोरिया मुहानस्थित नारायणी नदीमा लगेर प्राकृतिक बासस्थानमा पुनर्स्थापना गरियो।
यो एउटा प्रतिनिधि उदाहरणमात्र हो तर कछुवाहरु निरन्तर रुपमा उद्धार र पुनर्स्थापना कार्य निकुञ्जमा भइरहने गर्दछ।
बदार कछुवा सफा खाले ठूला नदीमा बस्ने जलचर प्राणी हो। यसले नदी किनारका बालुवाका ढिस्कामा फुलपारी बच्चा कोरल्छन्। फुल पार्ने बेलामात्र पानीबाट बाहिर निस्कने स्वभाव बदार कछुवाको हुन्छ। यसले अरु प्रजातिका कछुवाहरु जस्तो पानीबाहिर आएर घाम तापेर बस्दैन। नदी किनारको पानीभित्रको बालुवामा आफ्नो शरीरलाई लुकाई केवल टाउकोमात्र निकालेर बस्ने गर्दछ।
यो कछुवाको टाउको पानीभित्र बालुवामा गडेको काठको कालो ठुटाको आकृतिजस्तो देखिन्छ र माछाहरु झुक्किएर सलबलाउँदै चर्न आएका बखतमा च्याप्पै अट्ठ्याएर शिकार गर्दछ र निल्छ।
माथि उल्लेखित घाइते बदार कछुवालाई स्वस्थ भएपछि २०६१ जेठ महिनाको पहिलो हप्तातिर खोरिया मुहानस्थित नारायणी नदीमा छोड्दै गर्दा। फोटो : बेदवहादुर खड्का।
चुनौती
हामी सबैले नदीमा पानीमात्र बगेको देख्छौ र प्रायः नीतिनिर्माता तहमासमेत नदीहरुको पानी त्यसै खेर गइरहेको छ भन्ने बुझाई रहेको पाइन्छ भने सर्वसाधारणको त कुरै नगरौं। प्रकृति विनासको आँखाबाट हेर्दा मानव त वुद्धि भएर पनि विनासकारीमा चित्रित छ। यही सोचाईले गर्दा नदीमा पाइने माछालगायत अन्य प्रकारका जलचरहरु पनि महत्वहीन अवस्थामा पुर्याइँदै गएको देखिन्छ। आफ्नो खेतवालीको अन्न भित्र्याउने अधिकार भएजस्तै गरेर विना लगानी प्रकृतिबाट सिर्जित र पोषित नदीका माछा मारेर सिध्याउँदैछौं। जाल, बल्छीमा फसाएर कछुवालाई पनि शिकार गर्न पछि परेका छैनौ। पानीभित्र रहने काठपात एवं त्यस्का जराहरु माछा, कछुवालगायत अन्य जलचरको लुक्ने स्थान हो भन्ने हामीलाई के थाहा? तिनलाई पनि हामी प्रयोग गर्न छोड्दैनौ। नदीमा रहने ढुङ्गा, गिट्टीमा लेऊजन्य वनस्पति उम्रेको हुन्छ, जसले लाखौ सुक्ष्म जीवाणुहरु देखि माछा, भ्यागुता, सर्प, कछुवा, गोही, सोंस, जलीय पंक्षीहरु र वनस्पतिसमेत यसैको सेरोफेरोमा आश्रित हुन्छन्। तर ती जीवहरुको हामीलाई के मतलब? त्यस्ता नदीजन्य पदार्थहरु अन्धाधुन्ध प्रयोगको लागि निकाल्छौ। अनि काम नआउने भएभरका फोहर जति नदीमा फालेर नदीलाईसमेत प्रदुषित बनाएर त्यहाँ रहने जलचरहरुलाई संकटमा पुर्याई रहेका छौं। सबै निकुञ्ज/आरक्षहरु आफ्नो अधिकार क्षेत्रका नदीहरुको संरक्षण गर्न सचेत छन् तर अवान्छित कृयाकलापहरु नियन्त्रण गर्न रोक्न खोज्दा निकुञ्ज/आरक्षहरु एक्लो परेको अवस्था छ।
बेलाबखत निकुञ्जलाई विकास विरोधीको बिल्लासमेत लगाइन्छ। नदीमा आश्रित जीवहरुलाई निकुञ्जले घेराबन्दी नगरी पालन गरेको हुँदा निकुञ्ज बाहिरका नदीहरुमा पनि तिनीहरुको आवागमन भइरहने गर्दछ। यसरी निकुञ्ज बाहिरका नदीहरुमा पनि जलचरहरुको घर अर्थात् बासस्थान स्वतःसंरक्षण भई जलीय जीवहरुको संरक्षण हुने अवस्था रहन्छ। हालको अवस्था भने बेग्लै छ। निकुञ्ज बाहिरका नदीहरुमा जलचरहरुको संरक्षण त परै जाओस यी जीवहरुको मूख्यवासस्थानको रुपमा रहेको नदीलाई दोहन गरेर गरी खाने, ठगी खाने भाँडो बन्न थालेको पाइन्छ। गैँडा, हात्ती, बाघजस्ता ठूलाखाले वन्यजन्तु बचाउन राज्यको प्राथमिकता रहे पनि नदीभित्र रहने यस्ता निरीह प्राणीहरु बचाउन कसले चासो दिने हो खै! जलचर संरक्षण ऐन कुन कुनामा थन्किएर बसेको छ कुन्नि? कुन संयन्त्रले जलचरलाई बचाउने होला! नेपालमा दु:खको कुरो जलीय जीवहरु आउने पिँढीले देख्नै नपाईकन सकिने भए!
कछुवाको महत्व
जो कोहीले भन्न सक्छन् नदीमा कछुवाको के महत्व छ भनेर? उसो भए कछुवाको तर्फबाट बोल्दा मानवको पनि के महत्व छ भनेर कसैले भन्यो भने के कसरी उत्तर दिने हामीले? हामीले नदीमा रहने कछुवाहरुको महत्व देख्दैनौ भने उसका अगाडि मानिसहरुको पनि महत्व देखिदैन। तर कछुवा नदीमा हुनु भनेको नदीहरुमा बग्ने पानी स्वच्छ छ भन्ने संकेत हो। जसरी जमीनमा रहने अस्वस्थ्य जीवहरुलाई बाघ, चितुवाले खाएर पर्यावरण स्वच्छ राख्छन त्यसरी नै नदीभित्रका स–सानाजीवहरु र वनस्पति खाएर जलिय पर्यावरण स्वच्छ सन्तुलन कायम राख्नमा कछुवाहरुले मद्दत पुर्याउँछन्। यस्ता जीवहरुको अभावमा प्राकृतिक रुपमै पनि नदी अस्वस्थ्य हुन्छ।
पृथ्वीलाई स्वच्छ हराभरा र स्वस्थ्य राख्न पृथ्वीमा सिर्जना भएका सबै जीव–जीवात्माको आ–आफ्नो भूमिका र महत्व छ र तिनको संरक्षण भएमात्र मानवको संरक्षण हुन्छ। कछुवाले पनि यही महत्व राख्दछ। न त नदीमा माछा, कछुवा घडियाल गोही एक्लै रहन सक्छन्, न त सुक्ष्म जलीय जीवलगायतका जलचरहरु एक्ला–एक्लै बस्न/बाँच्न सक्छन्। यि जीवहरु अल्पकालीन समयको लागि भने चिडियाखाना जस्ता स्थानमा घेराभित्र मानवीय पालनपोषणबाट बाँच्न सक्लान् तर त्यसले पर्यावरणको स्वच्छता निर्माणमा भने कुनै भूमिका खेल्न सक्ने देखिदैन। यसरी प्रकृतिबाट श्रृजित जीव संरचनाहरु विनास भएपछि अन्तमा गएर मानिस पनि यस पृथ्वीमा एक्लै बाँचिरहन सम्भव होला र? वनजङ्गल र सीमसारमा पाइने कछुवाले इकोसिस्टमलाई बचाई राख्नमा मूख्य भूमिका खेल्ने भएकाले कुनै पनि कछुवाका प्रजातिलाई संकटमा पार्नु हुदैन।
नदीय चक्र
जलीय वनस्पति लेऊ भनेको नदीको लागि मानिसको फोक्सोजस्तै हो। फोक्सोले शरीरका लागि जसरी काम गर्छ, त्यसरी नै जलीय वनस्पतिले जलीय इकोसिस्टमका लागि काम गरेको हुन्छ। नदीमा विभिन्न प्राकृतिक समुदायका लाखौ जीवप्रजाति–पानीमा हुने सुक्ष्म जीवाणुहरुदेखि माछा, भ्यागुता, सर्प, कछुवा, गोही, सोंस र जलियवनस्पति समेत) एक आपसमा मिलेर पर्यावरणीय स्वच्छता कायम गर्न मद्दत गर्दछ। भनिन्छ, जलीय वनस्पतिले छोडेको अक्सिजन जलीय जीवहरुले लिने र यिनीहरुले निस्कासन नगर्ने कार्बनडाइअक्साईड वनस्पतिले लिन्छन्। यिनीहरुबीच एक आपसमा माकुराको जालोजस्तो प्राकृतिक रुपमै संतुलित खाद्य आहार सञ्जाल (एकले अर्कोलाई खाने जस्तैः वनस्पतिलाई किरा, माछा र कछुवाले खाने, किरालाई भ्यागुता र सर्पले खाईदिने र अन्तमा माछालाई कछुवा,गोहीले खाने) चलेको हुन्छ। खाद्य सञ्जाल चक्रमा विभिन्न प्रकारका सुक्ष्म जलीय वनस्पतिदेखि विभिन्न सुक्ष्म जलजीवहरु, माछाहरु र अन्तमा कछुवा र गोहीसमेत जोडिएको हुन्छ। यस्तो खाद्य श्रृंखला नदी तथा तालहरुमा सधैं सञ्चालनमा रहेको हुन्छ र यसैको सेराफेरोमा स्वच्छ जलीय पर्यावरण कायम भएको हुन्छ। यतिमात्रै कहाँ हो र! जलीय वनस्पतिले जाडो याममा पानीलाई तातो र गर्मी याममा चिसो बनाएर राख्नाले यसमा आश्रित जलचरहरुलाई समयअनुसार बाँच्न ठूलै सहयोग पुग्दछ।
अब सौचौं, विचारै नगरी मनिसहरुले नदीका श्रोतहरु दोहन गरिरहनु आफ्नै खुट्टामा बन्चरो हानेजस्तै होइन त?
अन्तमा, नदी भन्नाले प्रकृतिले सिर्जना गरिदिएका पानीमा पाईने सबै किसिमका जीवहरु माछा, कछुवा, गोही सोंसको अलवा जलीय वनस्पतिहरु र कैयौं प्रकारका सुक्ष्म जीवहरुको साझाघर हो भन्ने कुरा पनि बुझ्न, बुझाउन सके मानव जातिको पनि कल्याण हुने थियो कि?
-खड्का चितवन राष्ट्रिय निकूञ्जका पूर्व संरक्षण अधिकृत हुन्। उनी गोही अध्ययन र संरक्षणमा चासो राख्छन्।