वीरगंज : वीरगंज महानगरको मेयरमा सत्तारुढ गढबन्धनका साझा उम्मेदवार तथा जसपा नेता राजेशमान सिंहको जित लगभग निश्चित भएको छ। त्यसैगरी उपमेयरमा सत्तारूढ गठबन्धनका साझा उम्मेदवार तथा काङ्ग्रेस नेता इम्तियाज आलमको पनि जित निश्चित भएको छ।
सोमवार बिहान साढे ५ बजेको अपडेटअनुसार, वीरगंजको ३२ वडाको ९४ हजार ३२४ कुल खसेकोमध्ये ७७ हजार ५७७ मतपत्रको गणना गर्दा मेयरमा सिंह एमालेका विजयकुमार सरावगी भन्दा १८ हजार ७५८ मतले अगाडि छन्। १६ हजार ६४७ मतमात्र गन्न बाँकी रहेकोले मेयरमा गठबन्धनका सिंहको जित निश्चित भएको हो। सिंहले ३८ हजार ४३७ मत ल्याउँदा सरावगीले १९ हजार ६७९ र राप्रपाका मेयरका उम्मेद्वार गिरिश गिरीले २ हजार ८५७ मत ल्याएका छन्।
त्यसैगरी उपमेयरमा कांग्रेसका इम्तियाज लोसपाका पुरुषोतमलाल झाभन्दा १८ हजार ३४७ मतले अगाडि छन्। उपमेयरमा इम्तियाजले २४ हजार ९१५ पाउँदा लोसपाका झाले ६ हजार ५६८ पाएका छन्। राप्रपाकि विणा जैसवाल कुर्मीले ४ हजार ८३४, स्वतन्त्र उम्मेद्वार रम्भा मिश्रले ३ हजार ४५८ ल्याएकी छन्। हाल सम्मको मतगणनामा मेयरमा २१ र उपमेयरमा ४५.५९ प्रतिशत मत बदर भएको वीरगंजका मुख्य मतदान अधिकृत धर्मराज पौडेलले बताए।