काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्वतन्त्र उम्मेदवारी दिएर जित निकालेकाहरुलाई सबैले सघाउनुपर्ने धारणा राखेका छन्। सोमवार बिहान सामाजिक सञ्जालमार्फत महामन्त्री शर्माले यस्तो बताएका हुन्।
स्वतन्त्रमा जित निकालेका धरानका मेयर हर्क साङ्पाङलाई बधाई दिँदै शर्माले 'बुलेट'ले उदाएकालाई समेत स्वागत गर्ने लोकतन्त्रमा ब्यालेटबाट आएकालाई झनै सहज आत्मसात गर्नुपर्ने बताए।
'हर्क साङ्पाङहरुलाई बधाई! 'बुलेट´ले उदाएकालाई समेत स्वागत गर्ने लोकतन्त्रले 'ब्यालेट´बाट आएकालाई सहज आत्मसात गर्नुपर्छl धरान-धनगढी या कहिँपनि स्वतन्त्रको जीतले मुख्य दलहरुलाई दिएको सन्देश हामीले आत्मसात गर्नुपर्छ,' शर्माले भनेका छन्, 'एक्लै जितेका छन्, कसरी काम गर्लान्? यस्तो प्रश्न नगरी जनताको हितमा काम गर्न सबैले सघाउनु पर्छ!'
धरानमा स्वन्त्रता उम्मेदवार साङपाङ विजयी हुँदा धनगढीमा पनि स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित भएका छन्। दुबै उपमहानगरको निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार थिए। यता काठमाडौं महानगरमा पनि स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता कायमै राखेका छन्।
