
काठमाडौं : काठमाडौं महानगरपालिका वडा नम्बर १२ को अध्यक्षमा नेपाली कांग्रेसका बालकृष्ण महर्जन निर्वाचित भएका छन्। नेकपा एमालेका विकाश डंगोललाई पराजित गर्दै महर्जन अध्यक्ष बनेका हुन्।
महर्जनले २ हजार १७ मत ल्याउँदा डंगोलले १ हजार ४८ मत मात्र ल्याएका छन्।
वडा सदस्यमा कांग्रेसकै पुष्प रत्न प्रजापति र श्याम कृष्ण खड्गी निर्वाचित हुँदा महिला सदस्यमा नानी हेरा डंगोल विजयी भइन्। यस्तै, दलित महिला सदस्यमा पनि कांग्रेसकै मुना गहतराज रामदान निर्वाचित भएका छन्।
महानगरपालिका प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ४३ हजार ७५७ मत प्राप्त गरी अग्रस्थान कायम राखेका छन्। जारी मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २५ हजार ६८० मत प्राप्त गरेका छन्। यसैगरी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २४ हजार ५७८ मत ल्याएका छन्।
उपप्रमुखमा एमालेका उम्मेदवार सुनिता डंगोलले ४४ हजार ७०५ मत ल्याएर अग्रस्थानमा छिन्। उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १५ हजार ६७० मत पाएका छन्।
वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ११, १२, २३, २४, २५, २७, २८, २९ ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ। नेपाली कांग्रेसले हालसम्म महागरको ११ वटा वडामा जित निकालिसकेको छ। एमालेले ८ वटा वडामा जित निकालेको छ। अहिले वडा नं ९, १०, १३, १४, १५, २०, २२ र २६ को मतगणना कार्य जारी छ।