PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

दलीय आडविना नै अत्याधिक मतको जगमा उभिएका गोपाल जसले चुनौतीभन्दा अवसरमात्र देखेको छ सामुन्ने



एम बम

दलीय आडविना नै अत्याधिक मतको जगमा उभिएका गोपाल जसले चुनौतीभन्दा अवसरमात्र देखेको छ सामुन्ने

कैलाली : स्वतन्त्रबाट उम्मेदवारी दिएर प्रतिस्पर्धा गर्दा २०७४ को स्थानीय तह निर्वाचनमा पराजय बेहोरेपछि रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझामा प्रवेश गरेका गोपाल हमाल उक्त पार्टीको सुदूरपश्चिम संयोजक नै भए। तर, भर्खरै सम्पन्न निर्वाचन नजिकिँदा फेरि मेयरमा उम्मेदवारी दिँदा उनले विवेकशील साझा छाडिसकेका थिए। स्वतन्त्रबाट लड्ने लक्ष्य लिएर र राजनीतिक दलबाट दिए राजीनामा। विवेकशीलकै छातामुनि बसेर निर्वाचनमा जित निकालेको भए रवीन्द्र मिश्रका लागि गतिलै ब्रान्ड हुन्थे उनी। तर, गोपाल हमाल आफैँमा ब्रान्ड थिए - उनलाई विवेकशील साझाको आड थिएन आवश्यक।

सुन्दर सुदूर पश्चिमका अभियन्ता भनेर परिचित हमाल सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीको मेयरमा विजयी भएका हुन्। नेपाली कांग्रेसका नृपबहादुर वडलाई भारी मतान्तरले पराजित गर्दै स्वतन्त्र उम्मेदवार हमाल विजयी भए। अघिल्लो पटक हमाललाई पराजित गरेर वड मेयर बनेका थिए। यसपाला कांग्रेसमात्र होइन, सिंगो सत्ता गठबन्धन उनको पक्षमा थियो। तै पनि हमालका अगाडि वड तेजहीन सावित भए। हमालले २६ हजार ८ सय ६५ मत पाए भने वडले १४ हजार ८ सय १७ मत। हमालले यस अघि नै उपमहानगरपालिकाको कुनै सेवा सुविधा नलिने, भ्रष्टाचार नगर्ने र गर्न नदिई धनगढी मोडेल स्थापित गर्ने घोषणा गरिसकेका छन्।

२०२० साल जेठ १६ गते कैलालीको तत्कालीन मनिकापुर गाविसको झन्झटपुरमा जन्मेका हमाल कृष्णप्रसाद र झरेन्द्रदेवीका माइला छोरा हुन्। उनले धनगढीस्थित त्रिनगर माध्यमिक विद्यालयमा अध्ययन गरे। उच्च शिक्षा कैलाली बहुमुखी क्याम्पसमा गरे।

भारोत्तोलनका राष्ट्रिय खेलाडी समेत रहेका हमालको खेलकुदका विभिन्न संस्थामा पनि लामो समय आबद्धता रह्यो। कम उमेरमै हमालले धनगढी र सुदूरपश्चिममा थुप्रै सामाजिक कामको नेतृत्व गरे। २०४२ सालमा धनगढीमा ब्लड बैङ्क स्थापनाका लागि स्वर सम्राट नारायण गोपाल, हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठहरूको एकल साँझ भएको थियो, त्यसको नेतृत्व हमालले गरेका थिए।

त्यसयता उनले कहिले ‘सुन्दर सुदूरपश्चिम’ त कहिले ‘गन्तव्य सुदूरपश्चिम’ भन्दै प्रदेशलाई चिनाउने अभियान चलाए। उक्त अभियानमार्फत् हमालको नेतृत्वमा सुदूरपश्चिममा सम्भावना छ भनेर चिनाउने प्रयास भएको थियो। त्यसलाई चिर्न सुन्दर सुदूरपश्चिम अभियान चलाइएको थियो। सुदूरपश्चिमका सम्भावनाका एक हजार तस्बिर देशव्यापी रूपमा प्रदर्शनीमा लगिएपछि उक्त अभियान चर्चामा आएको थियो। त्यसैले उनलाई सुन्दर सुदूरपश्चिमका अभियन्ता (परिकल्पनाकार) का रूपमा पनि लिइन्छ।

डेढ दशक अगाडि कैलाली उद्योग वाणिज्य सङ्घको अध्यक्ष हुँदा सङ्घले सर्वोत्कृष्ट शाखाको पुरस्कार पायो। उनकै नेतृत्वमा सुदूरपश्चिममा पुग्ने केन्द्रका प्रभावशाली नेतालाई यहाँका समस्या सम्झाउनका लागि मागका बुँदा बराबर तौल भएको माला लगाउने अभियान सुरु गरियो। धनगढीमा महोत्सवको सुरुवात गरेर २१ बुँदे मागसहित २१ किलोको माला शेरबहादुर देउवालाई त्यही अभियानअन्तर्गत लगाइएको थियो। हमालले धनगढी उपमहानगरमा कपडा बैङ्क र निःशुल्क महाप्रस्थान यान पनि सञ्चालन गरेका छन्। टिनको बाकस बनाउन थालेर दिनेश ग्रुपको नेतृत्व गरिरहेका हमालले विभिन्न व्यापार व्यवसायमा ६ सय बढीलाई रोजगारी दिलाएका छन्।

धनगढीलाई देशकै नमुना उपमहानगर बनाउने चुनौतीका बिचमा अवसर प्राप्त भएकाले त्यसको सही सदुपयोग गर्ने उनको भनाई छ ।

‘अहिले चुनौती भन्दा बढी अवसर प्राप्त भएको छ,’ उनले भने, ‘म कुनै दलको नभएर सबैको साझा मेयर हो। त्यसैले मेरो प्राथमिकतामा कुनै दलका कार्यकर्ता वा नेता मात्रै पर्दैन। आम जनता र तीनका आम समस्याहरू पर्छन्। त्यसैलाई सही सदुपयोग गर्ने र पक्षपातरहित ढङ्गबाट अघि बढेर धनगढीलाई उत्कृष्ट बनाउने योजना हाम्रो छ।’

जितले उनको महत्वकांक्षालाई थप उडानको अवसर दिएको छ। साथै उनका पहिलेदेखिका गतिविधिले उनको उडानलाई सार्थक बनाएक पनि छ।

‘मेरो पहिलो प्राथमिकता सचिवालय सुदृढीकरण गर्ने हो। किनभने सचिवालय सुदृढीकरण नगरेसम्म कुनै पनि योजना सही तरिकाले कार्यान्वयन हुँदैन,' जितपछि कसरी काम गर्छन् त उनी? हाम्रो प्रश्नमा उनले जवाफ दिए, 'यहाँ जति सचिवालय छन्, त्यसलाई पारदर्शी, चुस्त, दुरुस्त र जनमुखी कसरी बनाउनेबारे कार्यालय प्रमुख, शाखा प्रमुखसँग बसेर, सल्लाह गरेर अगाडि बढ्छौँ।’

उनले इमानदारीपूर्वक धनगढीलाई विकास गर्ने बताउँदै यो आर्थिक वर्षमा पूरा नभएका योजनालाई सम्पन्न गर्नेतिर ध्यान दिने उल्लेख गरे। ‘आर्थिक वर्षको अन्त्य पनि आइसकेको छ। त्यसैले जति पनि पेन्डिङ योजनाहरू छन् तिनलाई समय सीमाभित्र गुणस्तर कायम गरेर सम्पन्न गर्नेमै ध्यान दिन्छौँ,’ उनले भने।

साथै उनले धनगढीलाई योजनाबद्ध विकासतर्फ अगाडि बढाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । ‘चुनौतीलाई अवसरमा बदल्ने भनेर आएको हुँ। धनगढी बनाउन सबैले समान दायित्व निर्वाह गर्ने वातावरण सृजना गर्न समन्वयकर्ताको रूपमा म मेयर निर्वाचित भएको छु,' उनले भने, 'मैले यहाँका सबै सम्भावना जोडेर धनगढीलाई योजनावद्ध विकासतर्फ अगाडि बढाउने अवसरका रूपमा लिएको छु।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell