PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

‘मंकिपक्स’ भाइरस फैलिने डर, स्वास्थ्य मन्त्रालयले भन्यो : सावधानी अपनाऔं



पहिलोपोस्ट

‘मंकिपक्स’ भाइरस फैलिने डर, स्वास्थ्य मन्त्रालयले भन्यो : सावधानी अपनाऔं
Monkeypox virus particle / SCIENCE PHOTO LIBRARY

काठमाडौं : मंकिपक्स संक्रमण फैलिनसक्ने भन्दै स्वास्थ्य मन्त्रालय विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म १४ वटा देशमा यो संक्रमण देखिएको छ। विश्वमा मंकिपक्सको संक्रमण फैलिरहेकोले नेपालमा पनि सम्भावित खतरा हुनसक्ने भन्दै त्यसतर्फ सचेत रहन र स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको हो।

मंकिपक्सको संक्रमणबाट बच्न व्यक्तिगत सरसफाई र क्वारेन्टाइनमा बस्ने कुरालाई ध्यान दिनुपर्ने बताए। उनले विदेशबाट आउने नेपाली नागरिक र विदेशी नागरिकले कम्तिमा दुई हप्ता अनिवार्य क्वारेन्टाइनमा बस्ने, सकेसम्म बाहिरी कुनैपनि सामानहरु नछुने र छोइहाले साबुनपानीले तत्काल सफा गर्न आग्रह समेत गरेका छन्।

‘विदेशबाट आउनेहरुले कम्तिमा दुई हप्ता क्वारेन्टाइनमा बसिदिनुहोला। व्यक्तिगत सरसफाईको कुराहरु बढी महत्वपूर्ण छ। कुनैपनि चिजहरु सकेसम्म नछुने, छोइहाले साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने गर्नुपर्छ। यस्तो गर्दा हामीमा यदी भाइरस आएको छ भनेपनि निस्क्रिय भएर जान्छ’ उनले भने।

उनले मास्कको प्रयोगमा पनि जोड दिँदै लक्षण देखिने बित्तिकै स्वास्थ्य सल्लाह लिन आग्रह गरेका छन्।

‘कसैको शरीरबाट निस्किएका छिटाहरु हाम्रो शरीरमा आइनपुगोस् र हामीबाट अरुको शरीरमा नपुगोस् भन्न मास्कको प्रयोग गर्नुपर्छ। कोही त्यो क्षेत्रबाट आएको व्यक्ति छ, जो ज्वरो आएको छ, शरीरमा फोका आएको छ, जिउ चिलाउने भएको छ भने तत्काल नजिकमा रहेको स्वास्थ्य संस्थामा गएर सम्पर्क गर्‍यौं भने त्यसको उपचार गर्न सहज हुन्छ र अरुलाई पनि सर्दैन,’

सहप्रवक्ता अधिकारीले मंकिपक्सको संक्रमणबाट बच्न सरकारले आवश्यक कदम चालिसकेको छ र सीमा नाकाहरुमा निगरानी बढाएको बताए।

अधिकारीले मंकिपक्स शरीरमा प्रवेश गरेपछि फोका उठ्ने, विमिरा आउने, ज्वरो आउने र ग्रन्थीहरु सुन्निनेजस्ता समस्या देखापर्ने बताए। उनले यो संक्रमण अधिकांश बालबालिकाहरुमा देखापर्ने भएकोले बालबालिकाको स्वास्थ्यमा ख्याल गर्न पनि आग्रह गरेका छन्।

मंकिपक्स भएर मृत्यु हुनेको दर १० प्रतिशत रहेको पनि उनले जानकारी दिए। मंकिपक्स भएको तीनदेखि ४ हप्तासम्म लक्षण रहने र मानिसबाट मानिसमा सर्नेसक्ने सम्भावना रहेको उनले बताए।

‘केही समयपछि आफैँ हराएर पनि जानसक्छ। कसैलाई ३ देखि ४ हप्तास्म्म पनि लक्षण रहन सक्छ। दुईदेखि तीन हप्ताभित्रमा लक्षण देखाउँछ। अरु व्यक्तिमा सर्ने सम्भावना पनि यही समयावधि नै हो,’ उनले भने।

आइतवार इजरायल र स्वीटजरल्याण्डमा पनि ‘मंकिपक्स’ बाट संक्रमित हुनेहरुको पहिचान भएको थियो। हालसम्म १४ वटा देशहरुमा मंकिपक्सका केसहरु फेला परेको छ।

विश्वमा हालसम्म मंकिपक्सका ८० भन्दा बढी केस फेला परेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। संगठनले थप ५० वटा संदिग्ध केसहरुबारे अनुसन्धान भइरहेको पनि जनाएको थियो।

यो संक्रमण विशेष गरि मध्य र पूर्वी अफ्रिकी क्षेत्रमा सामान्य रुपमा भेटिने गर्छ। अफ्रिकाबाट नै अन्य देशमा यो संक्रमण फैलिएको अनुमान गरिएको छ। केही समय अघि मंकिपक्सको संक्रमण सुरुवातमा बेलायत देखिएको थियो। पछि इटाली, स्पेन, स्वीडेन, पोर्चुगलका साथै अमेरिका र क्यानडामा पनि यो भाइरसको संक्रमण देखिएको थियो। बेलायतमा नाइजेरियाबाट फर्किएका व्यक्तिमा यो संक्रमण देखिएको थियो।

यो भाइरस मानिसबाट मानिसमा सजिलै नसर्ने भएकाले खतरा कम रहने जनाइएको छ। यो भाइरसबाट संक्रमित हुनेहरुमा मध्यम खालका लक्षण देखिने र केही हप्तामा नै निको हुने बेलायतको नेश्नल हेल्थ सर्भिसले जनाएको छ।

हालसम्म मंकिपक्सविरुद्ध कुनै भ्याक्सिन निर्माण भएको छैन। तर स्मलपक्सको लागि प्रयोग हुने भ्याक्सिन मंकिपक्सविरुद्ध ८५ प्रतिशत प्रभावकारी हुने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell