.jpg)
काठमाडौं : नेकपा एकीकृत समाजवादीका तर्फबाट काठमाडौं महानगरपालिकाको उपप्रमुखका उम्मेदवार रामेश्वर श्रेष्ठले पुन: मत गणना गर्न माग गरेका छन्।
उनले निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिँदै उम्मेदवार नै नभएको ठाउँमा पनि चिह्न राख्नु कानुन विपरीत भएको दाबी गरेका छन्। सत्ता गठबन्धनले काठमाडौं महानगरपालिकाको उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका श्रेष्ठलाई अघि सारेको थियो। गठबन्धनको भागबन्डा अनुसार कांग्रेसको रुख चिह्नमा उम्मेदवारी परेन। तर, मतपत्रमा भने रुखसहित गठबन्धनका अन्य दलका चिह्न पनि राखियो।
उक्त विषयलाई आधार बनाएर श्रेष्ठले रुख र कलममा मत हालेकाको मत रुखमा मात्रै बदर हुनुपर्ने भए पनि कलममा पनि बदर मानिनु नियम विपरीत भएको बताएका हुन्।
'प्रतिस्पर्धी नै नभएको कलम र रुख चिह्नमा मत संकेत भए पनि म उम्मेदवार भएको कलम चिह्नको मत संकेतलाई समेत बदर गरि गणना गरेको र यसबाट मतपरिणाममा असरपरी उप-विजेता हुने उम्मेदवारले जित्ने र जित्ने उम्मेदवारले हार्ने गणितीय अवस्था देखिएको छ,' श्रेष्ठले भनेका छन्।
मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले भने निर्देशिका अनुसार मत गणना भएकाले उनको निवेदन अनुसार पुन: मतगणना नहुने बताए।
'हामीले निर्देशिका अनुसार नै गरेको हो। दुई वटामा खसेको मतलाई बदर मान्ने भनेको छ। हाम्रो लेवलबाट यो हुने कुरा होइन भनेका छौँ,' उनले भने।