PahiloPost

Jun 17, 2024 | ४ असार २०८१

विश्वभर मूल्यवृद्धि चुलिँदै गर्दा मारमा गरिव नागरिक, ‘खाना र उर्जामा अनुदान आवश्यक’



पहिलोपोस्ट

विश्वभर मूल्यवृद्धि चुलिँदै गर्दा मारमा गरिव नागरिक, ‘खाना र उर्जामा अनुदान आवश्यक’
Photo : Shutterstock

विश्वभर मूल्यवृद्धि चुलिँदै जाँदा अन्तराष्ट्रिय मुद्रा कोषकी प्रमुख क्रिस्तालिना जर्जियभाले सरकारहरुले आफ्ना गरिब नागरिकका लागि खाना र ऊर्जामा अनुदान दिन आवश्यक भएको बताएकी छिन्। उनले लक्षित वर्गहरुलाई सहायता दिनका लागि प्रत्यक्ष रुपमा प्रभावित समूहकै हातमा पुग्नेगरी सहयोग गर्नुपर्नेमा जोड दिएकी छिन्।

धेरै सरकारहरुले गरिबहरुका लागि सहायता उपलब्ध गराएको भए पनि त्यो पर्याप्त नभएको टिप्पणी हुँदै आएका छन्।

नागरिकको जीवन यापनमा देखिएको संकटका बारेमा जर्जियभा भन्छिन्, 'दुई किसिमका वर्गलाई हाल प्राथमिकतामा राख्नुपर्ने देखिएको छ। एउटा पक्ष जो असाध्यै गरिब नागरिक अर्थात समाजको त्यो क्षेत्र जुन खाद्यान्न र ऊर्जाको बढ्दो मूल्यसँग जुधिरहेका छन्। र अर्को युक्रेन युद्धबाट सबैभन्दा क्षति भोगेका व्यवसायहरु।'

आइएमएफले बिभिन्न देशका सरकारहरुसँग विश्व अर्थतन्त्रको स्थिरता र समृद्धिको पक्षमा काम गर्दै आएको छ।

कोरोना महामारीका दुई लहर तथा रुस युक्रेन युद्धका कारण विश्वभर महंगी चुलिँदै गएको हो। रुस र युक्रेन खाद्यान्न तथा हाइड्रो कार्बनको प्रमुख निर्यातकर्ता देश भएकाले पनि युद्धको प्रभाव विश्वभरको मूल्यमा परिरहेको छ।

विश्वभर यस वर्ष खाद्यान्न तथा पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्यबृद्धिले उच्च स्तर कायम गरेको छ। यसै सन्दर्भमा आइएमएफकी प्रमुखको यस्तो धारणा आएको हो।

विश्व अर्थतन्त्रमा दशकौंपछि धेरै देशहरुमा मुद्रास्फीति दर उच्च अंकमा देखिएको छ। बेलायतमा ९ प्रतिशत, अमेरिकामा ८.३ प्रतिशत र यूरोपमा ७.४ प्रतिशत पुगेको छ।

विश्वभरका केन्द्रीय बैंकहरुले मूल्यवृद्धिदरलाई सुस्त बनाउन ब्याजदर बढाए पनि त्यसले खासै ठूलो प्रभाव पार्न सकेको छैन।

जर्मनीमा जी-सेभेन देशका अर्थमन्त्रीहरुको बैठकको प्रमुख एजेन्डा पनि नागरिकहरुको गिर्दो जीवनस्तर नै रहेको थियो। सात धनी देशहरुका अर्थमन्त्रीहरुबिचको बैठकले विश्वभर युद्धको प्रभाव देखिएको असरलाई कम गर्न सहकार्य गर्नुका साथै आवश्यक अर्थतन्त्र र नागरिकहरुलाई सहायता प्रदान गर्नका निम्ति निरन्तर सहकार्य गर्ने निर्णय गरेको थियो।

आइएमएफ प्रमुख जर्जियभाका अनुसार विश्वमा खाद्यान्न पर्याप्त छ तर त्यसको वितरणमा समानता छैन। युद्धका कारण मात्र नभई जलवायु परिवर्तनका कारण पनि खाद्यान्न उत्पादकत्व घटिरहेको उनको भनाइ छ।

विश्वकै दोस्रो ठूलो गहुँ उत्पादक देश भारतले गहुँको निर्यातमा प्रतिबन्ध लगाउनु तथा युक्रेनका उत्पादन विश्व बजारमा नजानुलाई जर्जियभाले फेरि एकपटक सोच्न आग्रह समेत गरेकी छन्।

'म यसबारेमा फेरि सोच्न आग्रह गर्दछु किनभने विश्वका लागि यो कठिन समय हो,' जर्जियभाले भनिन्, 'मलाई थाहा छ उनीहरुका नागरिकका लागि खाना आवश्यक छ। तर सबैले विश्वलाई नै हालको संकटबाट पार लगाउनका लागि सहकार्यको सोच राख्न आवश्यक छ तबमात्र हामीले यो संकटमाथि विजय हासिल गर्न सक्छौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell