PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कांग्रेसको चुनावी समीक्षा : गठबन्धनको लय मिल्दा कांग्रेसभित्रै अन्तर्घात, बालेनको अग्रता ‘नोटिस’मा



पहिलोपोस्ट

कांग्रेसको चुनावी समीक्षा : गठबन्धनको लय मिल्दा कांग्रेसभित्रै अन्तर्घात, बालेनको अग्रता ‘नोटिस’मा

काठमाडौं : नेपाली कांग्रेसले स्थानीय निर्वाचनमा भएको पाँच दलीय गठबन्धन सफल भएको जनाएको छ। कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले गठबन्धनको लय मिलेको दाबी गरेका हुन्।

‘गठबन्धनको लय मिलेको छ,’ महतले भने। देशभरको ७५३ मध्ये ३२० तहमा कांग्रेसले जितिसकेको उल्लेख गर्दै महतले यसलाई सन्तोषजनक रुपमा लिनुपर्ने बताए।

बरु पार्टीभित्रै अन्तर्घात भएको विषयलाई पार्टीले समीक्षा गर्ने उनले बताए। ‘यदि पार्टीमा अन्तर्घात नभइदिएको भए ४०० तहमा जित निस्कन्थ्यो। यसमा पार्टीले समीक्षा गर्छ,’ महतले भने।

धरानमा स्वतन्त्र उम्मेदवार जितेको र काठमाडौंमा बालेन साहको अग्रताको विषयलाई पार्टीले ‘नोटिस’मा राखेको उनले बताए। ‘धरानमा किशोर राई पनि सामाजिक सेवामा लागेका चर्चित व्यक्ति हुन्। त्यहाँ खराब उम्मेदवार दिएको त हैन कांग्रेसले। कहिलेकही विभिन्न हावा चल्छ,’ महतले भने, ‘यो अपवाद हो। काठमाडौं पनि यस्तै हो। यसलाई पार्टीले नोटिसमा लिएको छ।’

गठबन्धनमा केही स्थानबाहेक लयबद्ध मतदान भएको महतले दाबी गरे। भरतपुर, पोखरा र हेटौंडामा भने लयबद्ध मतदान भएको महतले बताए। पोखरामा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्य जितको नजिक छन् भने हेटौंडामा एकीकृत समाजवादीकै मिना लामा विजयी भएकी छिन्। भरतपुरमा रेनु दाहाल जित नजिक पुगेकी छिन्।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्तारुढ दलले निर्वाचनमा धाँधली गरेको आरोप लगाएको थियो। यसबारे महतले बरु एमालेले ठाउँठाउँमा धाँधली गरेको आरोप लगाउँदै कांग्रेसले कहिले पनि धाँधली नगर्ने दाबी गरे। कांग्रेसको सरकार छँदा जहिले पनि बिना डरत्रास निर्वाचन हुने उनको भनाई थियो।

‘एमालेको केन्द्रीय नेताको नेतृत्वमा धाँधली भयो। कांग्रेसले गरेको छैन,’ महतले भने, ‘बाजुराको बुढीगंगा नगरपालिकामा एमालेका केन्द्रीय नेताकै संलग्नतामा जबरजस्ती थर्काएर लगियो मत पेटिका।‘ कांग्रेसले यसअघि नै विज्ञप्ति जारी गर्दै बुढीगंगामा पुन: मतदानको माग गरेको थियो।

पत्रकार सम्मेलनमा कांग्रेसले जारी गरेको विज्ञप्तिका प्रमुख बुँदाहरु

  • वैशाख ३० गते देशभर एकै चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनको नतिजा आउने क्रम अन्तिम चरणमा पुगेको छ। वर्तमान संविधानलाई कार्यान्वयन गर्न, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र वडा तहसम्म लोकतान्त्रिक पद्धतिको अभ्यास र विकास गरी देशको विकास र जनताको जीवनस्तरमा आधारभुत परिवर्तन ल्याउने दृष्टिकोणबाट यो निर्वाचनको ऐतिहासिक महत्व रहेको छ।
     
  • यो निर्वाचनले नेपाली कांग्रेसको नेतृत्वमा मात्रै देशमा भयरहित वातावरणमा स्वच्छ र निश्पक्ष निर्वाचन संभव छ भन्ने यथार्थलाई पुनः पुष्टि गरेको छ। नेपाली कांग्रेसको सरकारकै नेतृत्वमा नेपालमा विसं २०१५, २०४८, २०५१, २०५६, २०६४, २०७४ को संसदीय निर्वाचन तथा विसं २०४९ र २०७९ को स्थानीय तह निर्वाचन स्वतन्त्र र निश्पक्ष ढंगबाट सम्पन्न भएको कुरा यहाँहरुलाई विदितै छ। २०५४ सालमा नेकपा एमाले सम्मिलित सरकारले गराएको स्थानीय तहको निर्वाचनमा व्यापक धाँधली भएकोले संसदीय समितिको छानबिनको दायरामा परेको यहाँहरुलाई स्मरण गराउन चाहन्छौ।
     
  • सरकारले निर्वाचनलाई भयरहित वातावरणमा स्वच्छ, निश्पक्ष र धाँधलीरहित ढंगले सम्पन्न गर्न निर्वाचन आयोगलाई सम्पूर्ण सहयोग पुर्‍यायो। सरकारले सम्पूर्ण बन्दोबस्त गर्दागर्दै पनि प्रतिस्पर्धी एमालेका केन्द्रीय तहका नेताहरुकै संलग्नता तथा निर्देशनमा बाजुराको बुढीगंगा नगरपालिकामा बाहुबलको प्रयोग गरी वडा नं २,३, ५ र ९ का नेपाली कांग्रेसका उम्मेद्वार र प्रतिनिधिमाथि आक्रमण गर्ने, मतदान केन्द्रबाट लखेट्ने, बन्धक बनाउने, बुथ कब्जा गरी फर्जी मत हाल्ने र राजिनामा दिएर फर्किएका निर्वाचन अधिकृतलाई फर्जि मत हालिएका मतपेटिका बुझ्न बाध्य पारेपछि त्यहाँ पुनः मतदानको व्यवस्था गर्न नेपाली कांग्रेसले निर्वाचन आयोग समक्ष माग गरेको छ। यस विषयमा निर्वाचन आयोगलाई तत्काल निर्णय गरी ती वडाहरुमा पुनः मतदान गर्न नेपाली कांग्रेस पुनः जोडदार माग गर्दछ। साथै उदयपुरको त्रियुगा नगरपालिकामा मतगणना रोकिएको छ। यसमा छिटो निर्णय गर्न हामी निर्वाचन आयोगसमक्ष अनुरोध गर्दछौ।
     
  • अनेकौ अप्ठ्यारा बाबजूद स्थानीय तहको निर्वाचन स्वच्छ, निश्पक्ष, धाँधलीरहित र भयरहित वातावरणमा सम्पन्न गराउन नेतृत्व लिनुभएकोमा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाप्रति हार्दिक धन्यवाद दिन चाहन्छौं। बालिग मताधिकारको आधारमा जनप्रतिनिधि चयन गरी लोकतान्त्रिक पद्धतिलाई वडा र पालिका तहसम्म पुर्याउने संवैधानिक जिम्मेवारी पूरा गरेकोमा निर्वाचन आयोग, निर्वाचन सम्पन्न गराउन खटिनुभएका राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, निर्वाचनमा सहभागिता जनाउने नेपालका सबै राजनीतिक दलहरु र निर्वाचनमा निर्भिक भएर मतदान गर्ने सम्पूर्ण मतदातालाई पनि हार्दिक धन्यवाद दिन चाहन्छौ।
     
  • निर्वाचनको मिति घोषणा भएदेखि नै निर्वाचन सम्पन्न गर्न पार्टीको केन्द्रीय कार्यसमिति,प्रदेश कार्य समिति, जिल्ला कार्य समिति,प्रतिनिधिसभा क्षेत्रीय कार्य समिति, प्रदेश सभा क्षेत्रीय कार्यसमिति, गाउँ तथा नगरपालिका कार्य समिति, वडा तथा टोल कार्य समिति सहित क्रियाशील तथा साधारण सदस्यहरु शुभचिन्तक तथा समर्थकहरु मन वचन र कर्मले पार्टीको पक्षमा प्रचार–प्रसारमा खट्नुभयो। मतदानमा सरिक हुनुभयो। पार्टीका भातृ एवम् शुभेच्छुक संस्थाका सबै तहका समितिहरु सक्रिय रहे। नेपाली कांग्रेसद्धारा गठित निर्वाचन परिचालन समिति, स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समिति, घोषणापत्र तयारी समितिलगायत ती समिति अन्तर्गत रहेका विभिन्न उपसमितिहरु निर्वाचनमा सक्रियता सक्रिय रहे। माथी उल्लेखित सबैलाई नेपाली कांग्रैसको तर्फबाट हार्दिक धन्यवाद।
     
  • २०७९ बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनको केही पालिकाका अन्तिम नतिजा आउन बाँकी रहेको छ। देशका ७ सय ५३ पालिकामध्ये ७ सय २८ पालिकाको नतिजा आईसकेको छ। घोषित परिणाम मध्ये नेपाली कांग्रेसका उम्मेदवारहरु ३ सय २० पालिकाको नेतृत्वमा विजयी भैसक्नुभएको छ भने मतगणना भैरहेका ६ पालिकामा अग्रस्थानमा हुनुहुन्छ। नेपाली कांग्रेसका २ सय ९४ जना उपप्रमुख÷उपाध्यक्षमा विजयी हुनुभएको छ भने मत गणना भैरहेका ६ पालिकामा अग्रस्थानमा हुनुहुन्छ।
  •  
  • स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको पक्षमा सन्तोषजनक नतिजा आएको हाम्रो निश्कर्ष छ। यद्यपी यसपाली पनि विभिन्न ठाँउहरुमा अन्तरघात भएको सूचनाहरु आइरहेका छन्। यो प्रवृती नदोहोरिएको भए उल्लेख्य संख्या थप हुने कुरामा दुई मत थिएन। स्थानीय निर्वाचनको सबै परिणाम आइसकेपछि प्रत्येक गाउँ र नगरपालिकामा पार्टीका सदस्यहरुको भूमिकाको सम्बन्धमा पार्टीले व्यापक समीक्षा गर्दैछ। तर, यो परिणामबाट आम जनतामा कांग्रेस प्रतिको विश्वास बढेको भन्ने आंकलन पुष्टि भएको छ।
     
  • गठबन्धनका सन्दर्भमा निर्णय अन्तिम समयमा हुँदा यसको सन्देश मतदातासमक्ष पुर्‍याउन भएको कठिनाइले केहि समस्या आएता पनि समग्रमा स्थानीय तहको निर्वाचनमा पाँच दलबीचमा भएको तालमेल सफल भएको हाम्रो निश्कर्ष छ।
     
  • नेपाली कांग्रेसका पक्षमा निर्वाचनको यो परिणाम आउनुमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाज्यूको सुझबुझपूर्ण नेतृत्व, गठबन्धन सरकारले कोभिडको सुव्यवस्थापन, सुशासन र अन्तराष्ट्रिय सम्बन्धमा देखाएको परिपक्कता, पूर्ववर्ति ओली सरकारले गरेका संविधान विरोधी गतिविधि, कुशासन र भ्रष्टाचार तथा नेपाली कांग्रेसले पार्टी संगठन परिचालनमा देखाएको सक्रियता रहेका छन्।
  • नेपाली कांग्रेसले संगठन सुदृढीकरण र नागरिक जागरणका लागि सञ्चालन गरेको “घरघर जाऔं कांग्रेस जिताऔं” अभियान, “अरु कुरा गर्छन, नेपाली कांग्रेस काम गर्छ” र नेपाली कांग्रेस जिम्मेवार पार्टी हो भन्ने सन्देश जनताको बीचमा पुर्‍याउन सफल भएकोले पनि यो परिणाम आउन सघाउ पुगेको हो।
     
  • संविधान र लोकतान्त्रिक संस्थाहरुलाई मजबुत बनाउने चुनौती अझै विद्यमान छ। प्रतिगमनकारी शक्तिहरु अझै सक्रिय छन्। यो परिवेशमा स्थानीय निर्वाचनको यो नतिजाले देशमा राजनीतिक स्थायित्व कायम गर्न, संघीयता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत संरक्षण र सम्बर्धन गर्नका लागि हाल गठबन्धनमा रहेका राजनीतिक दलहरुबीच सहकार्य आवश्यक रहेको हाम्रो निश्कर्ष छ। यद्यपि हामीले घेरै ठाउँमा गठबन्धन गरेका थिएनौं। तर गठबन्धन र परिणाम दुवै लयमा छन्। स्थानीय तहको निर्वाचनमा भएको सहकार्यबाट आएको सन्तोषजनक परिणामले आउदो आम निर्वाचनमा सहकार्य गर्ने मजबूत आधार तयार गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell