PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

सुन्दरी प्रतियोगिता प्रकरणका पाण्डेलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले दियो पाँच दिने अनुमति



पहिलोपोस्ट

सुन्दरी प्रतियोगिता प्रकरणका पाण्डेलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले दियो पाँच दिने अनुमति

काठमाडौं : १६ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका ग्लोबल कन्सल्टेन्सीका संचालक मनोज पाण्डेलाई हिरासतमा राखेर अनुसन्धान गर्ने अदालतले अनुमति दिएको छ। जिल्ला अदालत काठमाडौंले आरोपित पाण्डेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

प्रहरीले पाण्डेलाई शनिवार काठमाडौंको स्वयम्भुबाट पक्राउ गरेको थियो। शनिवार र आइतवार सार्वजनिक बिदा भएकाले प्रहरीले आरोपित पाण्डेलाई सोमवार अदालतमा उपस्थित गराएको हो।  मानव बेचबिखन तथा ‌ओसारपसार ऐन, २०६४ अन्तर्गत प्रहरीले म्याद लिएको छ।

सक्सेस पार्टी भनेर होटलमा बोलाएर बेहोस बनाउँदै अभियुक्तले किशोरीको बलात्कार गरेको आरोप लागेको छ। उनलाई शनिवार काठमाडौंको स्वयम्भूबाट प्रहरीले पक्रेको थियो। गत बुधवार टिकटकमा ‘सुसी खान जाने हो’ अकाउन्टबाट एकजना रेग्मी थरकी युवतीले आफूमाथि भएको यौन शोषणको घटना सार्वजनिक गरेपछि त्यसमाथि प्रहरीले अनुसन्धान सुरु गरेको हो।

२०७१ सालमा भएको मिस ग्लोबल इन्टरनेश्नल नामक ब्युटी प्याजेन्टका क्रममा होटलमा आफूमाथि बलात्कार भएको उनले भिडियोमा बताएकी छिन्। सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि विभिन्न तहका मानिसले कारबाही गर्न दवाब दिएका छन्। त्यसपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

आइतवार आफूलाई पनि यौन शोषण गरेको भन्दै एक युवती पाण्डेविरुद्ध उजुरी दिन प्रहरी कहाँ पुगेकी छिन्। त्यस्तै, अर्की एक युवती पनि उनैबाट पीडित भएको भन्दै प्रहरीको सम्पर्कमा आएकी छिन्। पाण्डे विरुद्ध प्रहरीमा दुई वटा जाहेरी दर्ता भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell