PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

एन्फाको नेतृत्वमा कर्माछिरिङको फेरि दाबी : २० पन्ने घोषणापत्र लिएर खनिए प्रत्यासी नेम्बाङदेखि गणेश थापामाथि



मुकुन्द घिमिरे

एन्फाको नेतृत्वमा कर्माछिरिङको फेरि दाबी : २० पन्ने घोषणापत्र लिएर खनिए प्रत्यासी नेम्बाङदेखि गणेश थापामाथि

काठमाडौं : अखिल नेपाल फुटबल संघ(एन्फा)को अध्यक्षमा कर्माछिरिङ शेर्पाले प्यानलसहित दाबेदारी प्रस्तुत गरेका छन्। 'चेन्ज एन्फा' को नारा लिएर पहिलो कार्यकाल पुरा गरेका शेर्पाले दोस्रो कार्यकालका लागि पनि उम्मेदवारी दिएका हुन्। यसअघि शेर्पाकै प्यानलमा वरिष्ठ उपाध्यक्ष जितेका पंकजविक्रम नेम्बाङले जेठ ६ गते उम्मेदवारी घोषणा गर्दै सोही दिन उम्मेदवारी दर्ता गरिसकेका छन्। उसो त अध्यक्षको होडमा यी दुई जनामात्रै होइनन्। फ्रेन्ड्स क्लबका पूर्व अध्यक्ष राजीव पौडेलले पनि अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेका छन्।

अध्यक्ष शेर्पाले वरिष्ठ उपाध्यक्षमा हाल उपाध्यक्ष रहेका शिक्षित पराजुलीलाई अघि सारेका छन्। त्यस्तै उपाध्यक्षमा दीर्घबहादुर केसी ‘कुमार’, रत्नकुमार श्रेष्ठ र उपेन्द्रमानसिंह दाबेदार रहेका छन्। त्यस्तै एन्फाको लिग कमिटीका प्रमुख विज्ञानराज शर्माले पनि उपाध्यक्षमा उम्मेदवारी दिएका छन्। केन्द्रीय सदस्यमा दीपक थापा, प्रवीण यादव, रुपेश अधिकारी, लोकेन्द्र गुरुङ, रामराजा गुरुङ, टीकाराम लामा, प्रदेशसिंह राठौर, भरत थापा, अनिल श्रेष्ठ, रमेश ब्यन्जनकार, मणीराज बिस्ट, मनिष जोशीले केन्द्रीय सदस्यमा दाबेदारी दिएका छन्। महिला सदस्यमा सर्वसम्मतिको प्रयास चलिएरहेको एन्फा महासचिवसमेत रहेका संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले बताए।

नेम्बाङ पक्षलाई चुनौती : भ्रष्टचार पुष्टि गर

शुक्रवार नेम्बाङ पक्षले उम्मेदवारी दर्ता गराउँदा कर्माको कार्यकालमा भएको आर्थिक अनियमितता, फिफाबाट आर्थिक नाकाबन्दी, प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको व्यवहार, खेलाडीको विद्रोह, आर्थिक अपारदर्शिता लगायतका एजेन्डाअघि सारेको थियो। त्यस्तै एन्फा आर्थिक विचलनका कारण ऋणमा एन्फा पुग्नु परेको दुरावस्थालाई लिएर नेम्बाङ पक्षले तर्क अघि सारेको थियो।

सोमवार शेर्पा पक्षको कार्यक्रममा लिग विजेता मछिन्द्र क्लबका अध्यक्ष सुनिल कपालीले भ्रस्टाचार भएको भए प्रमाणित गर्न चुनौती दिए।

'कार्यसमिति सदस्यले एन्फामा भ्रष्टचार भयो भनेको छ। भ्रष्टचार भएको भए प्रमाणित गर,' उनले भने, ' सेवासुविधा सबै लिएर चुनावमा उठ्ने बेला भ्रष्टचार भयो भनेर हुन्छ? उहाँहरुको फुटबलमा कहाँ लगानी छ? फुटबलमा यस्तो मानिस आओस् जसको फुटबलमा लगानी होस्।'

त्यस्तै एन्फा महासचिव तुलाधरले ५४ मताधिकार प्राप्त प्रतिनिधि कार्यक्रममा आएको भन्दै एन्फामाथि लगाएको आर्थिक नाकाबन्दीको बचाउ गरे। उनले एन्फा ऋणमा रहेको अवस्थाबारे स्पस्ट पार्दै एन्फामा आउन बाँकी रकम त्योभन्दा धेरै रहेको तर्क गरे।

जति हामी जिम्मेवार, त्यति नै तपाइँ पनि जिम्मेवार

शेर्पा र नेम्बाङ दुबैको प्यानलमा अधिकांश गणेश थापाको नेतृत्वमा काम गरेका पदाधिकारी छन्। त्यसपछि पनि निरन्तर कार्यकारी पदमा रहँदै आएकाहरु पनि छन्। यसअघि ‘चेन्ज एन्फा’को नारा लिएर अघिल्लो कार्यकाल नेतृत्वमा गएका पदाधिकारी फेरि अर्को नेतृत्व लिएर चुनावमा होमिने तयारीमा छन्। निरन्तर कार्यसमितिमा रहेर असफलताको 'जस' र 'अपजस' पनि उनीहरुमाथि पक्कै लाग्छ।

नेम्बाङ पक्षले भने त्यसको बचाउ गरेको थियो। पूर्व प्रवक्त किरण राई ‘विद्रोह’ सुधार नहुन्जेलसम्म भइरहेको प्रक्रिया भएको बताउँछन्।

'सुधार नभएसम्म विद्रोह भइरहन्छ। हामीले सुझाव दिँदा भएन। त्यहाँ बसेर चुप्प लागेर गलत कामको मतियार भएका पनि होइनौं। हामीले खबरदारी गरिरह्यौं,' उनको तर्क छ।

नेम्बाङ पनि एन्फा अध्यक्षको प्रणालीमा चल्ने भएकाले आफ्नो भूमिका खबरदारी गर्नेबाहेक अन्य नभएको तर्क गर्छन् उनी।

'एन्फामा अध्यक्षको हस्ताक्षर चल्छ। प्रणाली अध्यक्षीय प्रणालीमा छन्। संस्था सञ्चालन गर्ने केही व्यक्तिका कारण यस्तो अवस्था आयो,' नेम्बाङले भनेका थिए।

तर, एन्फा महासचिव इन्द्रमान तुलाधरको तर्क छ - अहिलेको अवस्थामा हामी जति जिम्मेवार छौं, उहाँहरु पनि त्यति नै जिम्मेवार हुनुहुन्छ।

भ्रष्टचार गर्दा गणेश थापाले जस्तो प्रतिबन्ध ब्यहोर्नु पर्ने अवस्था आउने तर्क गर्दै तुलाधरले कार्यसमितिकै सदस्यहरुले फिफा र एएफसीमा बारम्बार उजुरी दिँदा एन्फामाथि शंकाको दृष्टिकोणले हेरेको तर्क गरे। त्यस्तै परिवर्तन भनेर अघि आएर पनि केही महिनामै त्यसबाट पछि हटेको आरोप उनले लगाए।

'आर्थिक नाकाबन्दी किन छ? यसमा उहाँहरुको जिम्मेवारी छैन? परिवर्तन पक्षधरले ६ महिनामै बिच्किएर जसको विरुद्ध परिवर्तन गर्‍यो, उहीसँग टाँस्सिएर हुन्छ? यो अवस्था आउनुमा हामी जति नै उहाँहरु पनि जिम्मेवार हुनुहुन्छ।'

शेर्पाको चुनावी भाषण

कार्यक्रम सुरु नहुँदै 'प्रेसिडेन्ट मेनिफेस्टो' बाँडेका शेर्पाले एक घण्टा बढी समय भाषणमा खर्चिए। जसमा उनले आफ्नो कार्यकालमा गरिएका आर्थिक नियमावली, कर्मचारी व्यवस्थापन, खेलाडीको तलव, क्लब लाइसेन्स, विधान संशोधन, ग्रासरुट, मोफसलको ब्यवस्थापनलगायतको विषयमा फेहरिस्त लगाए।

उनले आफू अघिल्लो चुनावअघि गरेको वाचा पुरा गरेको दाबिसमेत गरे। 'हामीले निर्वाचनअघि बोलेको कुरा त पुरा गर्‍यौं नि,' उनले दाबी गरे।

उनले कास्कीको भेन्टाबारी प्रोजेक्टमा ब्यहोरेको आलोचनाबारे बचाउ गर्दै त्यो 'ड्रिम प्रोजेक्ट' भएको र नेपाली फुटबललाई रोक्न खोज्नेहरु अपराधी भएको संज्ञा दिए। भेन्टाबारी प्रोजेक्टलाई लिएर नेम्बाङ समूहका किरण राईले ठूलो लगानी गरेर त्यो प्रोजेक्ट बने पनि त्यसको सुबिधा ‘एलिट’ खेलाडीले मात्र लिनसक्ने तर्क गरेका थिए। त्यो बजेटले देशभर १७ वटा ग्रासरुट लेभलको टेक्निकल सेन्टर बनाउन सकिने बताउँदै प्रश्न गरेका थिए : ग्रासरुट लेभलको विकास चाहिएको हो कि फाइभ स्टार लेभलको?

शेर्पाको चुनावी मेनिफेस्टो र एजेन्डा

कर्माछिरिङ शेर्पाले २० पेजको 'प्रेसिडेन्सियल मेनिफेस्टो' जारी गर्दै आफ्ना अघिल्लो कार्यकालको उपलब्धि र आगामी योजनाको फेहरिस्त लगाएका छन्। उपलब्धिमा उनले अन्तर्राष्ट्रिय म्याचहरु, पूर्वाधार निर्माण, क्षमता विकास, कर्पोरेट सुसासन, उल्लेखनीय सहकार्यहरुलाई राखेका छन्। त्यस्तै घरेलु प्रतियोगिता/लिग, अन्तर्राष्ट्रिय प्रतियोगिता, प्रविधिको प्रयोग,  ग्रासरुट, रेफ्री विकास, कोचिङमा सुधारलगायतलाई पनि राखेका छन्। उनले ठूला सहकार्यमा नेपाल सुपर लिग र कतार एयरवेजसँगको शहीद स्मारक ए डिभिजन लिगको सम्झौतालाई राखेका छन्।

अगामी कार्यकालका लागि ६ वटा एजेन्डा राखेका छन्, जसमा : पूर्वाधार विकास, आर्थिक दिगोपन, लिग विकास, युवा फुटबल र क्षमता अभिबृद्धि रहेका छन्।   

गणेश थापालाई कटाक्ष

लामो भाषण गरेका शेर्पाले गणेश थापालाई पनि कटाक्ष गरे। फिफाको प्रतिबन्धमा रहेका गणेश थापाले वैशाख २८ गते पत्रकार सम्मेलन गर्दै शेर्पालाई आफूमाथि लगाएको आरोप पुष्टि गर्न चुनौती दिएका थिए। उनले या त आफूमाथि लगाएको आरोप पुष्टि गरेर जेल पठाउन या मानहानी गरेकाले सजाय भोग्न चुनौती दिएका थिए। लगत्तै फुटबलको सर्वोच्च निकाय फिफाले थापालाई फुटबलबारे नबोल्न सचेत गराएको थियो।

उनलाई अप्रत्यक्ष कटाक्ष गर्दै शेर्पाले आफूले फुटबल छाडेपछि 'यस्तो भएन र उस्तो भएन' भन्दै टीकाटिपण्णी गरेर नबस्ने दाबी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell