PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

हेटौंडाकी मेयर मिना लामाको पाँच बुँदे निर्णय : १५ हजार लिटर पानी र २५ युनिट बिजुली नि:शुल्क



निशा गुरुङ

हेटौंडाकी मेयर मिना लामाको पाँच बुँदे निर्णय : १५ हजार लिटर पानी र २५ युनिट बिजुली नि:शुल्क

हेटौंडा : हेटौंडा उपमहानगरपालिकाकी नवनिर्वाचित मेयर मीनाकुमारी लामाले पाँच बुँदे निर्णय गरेकी छिन्। शपथ ग्रहण लगतै लामाले स्वास्थ्य बीमा गर्नेदेखि नि:शुल्क बिजुली उपलब्ध गराउने सम्मका लोकप्रिय निर्णय गरेकी हुन्। स्थानीय तह निर्वाचनमा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीकी उम्मेदवार बनेकी लामाले नेकपा एमाले र राप्रपाका उम्मेदवारलाई हराएर चुनाव जितेकी थिइन।

अति विपन्नको स्वास्थ्य बीमा

लामाले हेटौंडा उपमहानगरभित्र बसोबास गर्ने अति विपन्न परिवारमध्ये १ हजार ५ सय ४१ परिवारको स्वास्थ्य बीमा गर्ने निर्णय गरेकी हुन्। अति विपन्न परिवारलाई १५ हजार लिटर पानी र २५ युनिट विद्युत निःशुल्क उपलब्ध गराउने लामाले जानकारी दिइन्। पहिलो चरणमा अति विपन्नलाई र पछि सबैका लागि १५ हजार लिटर पानी र २५ युनिट बिजुली निःशुल्क उपलब्ध गराउने लामाको भनाइ छ।

मेयर छात्रवृति कार्यक्रम लागू गर्ने

यस्तै, आर्थिक अवस्था कमजोर भएका कारण शिक्षा हासिल गर्न बञ्चित भएका विद्यार्थीलाई अध्ययनमा सहजता प्रदान गर्न मेयर छात्रवृत्ति कार्यक्रम लागू गर्ने पनि निर्णय भएको छ।

बाटो विस्तारको क्रममा बीच भागमै छाडिएको पोलहरु सडकको छेउमा स्थानान्तरण गर्ने पनि निर्णय भएको बताइन्। महिला जागरण समूहमार्फत् लैंगिक हिंसाविरुद्ध अभियान सञ्चालन गर्ने उनको भनाइ छ।

‘हिंसा पीडित र प्रभावित महिला तथा बालबालिकाका लागि आश्रय स्थल (सेफ हाउस) मार्फत् प्रभावकारीरुपमा पुर्नस्थापना कार्यक्रम सञ्चालन गरिनेछ,’ निर्णयमा भनिएको छ।

गठबन्धनको घोषणापत्र अनुसार काम

लामाले गठबन्धनको घोषणापत्र अनुसार काम गरिने बताइन्। हेटौंडामा रहेका अधुरा र अपुरा कार्यहरु पूरा गर्ने सपना रहेको उनले बताइन्। हेटौंडालाई वागमती प्रदेशको मात्र नभएर सबै प्रदेशको राजधानी भन्दा अव्बल राजधानी बनाउने योजना रहेको लामाको भनाइ छ।

महिलाको मर्म महिलाले बुझ्ने हुँदा महिला मेयर छानिएको उनको भनाइ छ। महिलाका लागि नगरस्तरीय समिति गठन, महिला परिषद् गठन गरेर महिलाका लागि आवश्यक कार्यक्रम गरिने लामाले बताइन् ।

शौचालयमा स्यानीटरी प्याड

लामाले हेटौंडाको स्वास्थ्य क्षेत्रलाई व्यवस्थित र समन्वयमा पहिलो प्राथमिकता दिने बताइन। प्रसूति गृह, ज्येष्ठ नागरिक स्वास्थ्य र विभिन्न क्षेत्रमा लगानी गर्ने वातावरण बनाउने उनको योजना छ।

सरकारी अस्पताललाई सर्वसुलभ सेवा दिने अस्पतालका रुपम विकास गरिने लामाको भनाइ छ। महिलामैत्री नगर बनाउनका लागि उपयुक्त सार्वजनिक शौचालय बनाउने र उक्त शौचालयमा सेनिटरी प्याड मेसिन जडान गर्ने लामाको योजना छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell