PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

भरतपुरमा ११ हजार मत गन्न बाँकी, रेनु दाहाल ११ हजार मतले अगाडि



पहिलोपोस्ट

भरतपुरमा ११ हजार मत गन्न बाँकी, रेनु दाहाल ११ हजार मतले अगाडि

चितवनः भरतपुर महानगरपालिकामा अब चार वटा वडाको मत गणना गर्न बाँकी रहेको छ।

महानगरका २९ वटा वडामध्ये २५ नम्बर वडासम्मको मत परिणाम आइसकेको छ भने २६ र २७ को गणना भइरहेको छ। भरतपुर महानगरमा एक लाख २७ हजार ८३९ मत खसेकोमा हालसम्म एक लाख १६ हजार ३६६ मत गणना सकिएको छ। गणना सकिएका वडाहरुमा महानगर प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवारहरु अग्रस्थानमा रहेका छन्।

महानगर प्रमुखमा नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले नेकपा (एमाले)का विजय सुवेदीसँग ११ हजार ३८९ मत अन्तरले अग्रता कायम राखेकी छिन्। दाहालले ४६ हजार ९३५ मत ल्याउँदा सुवेदीले ३५ हजार ५४६ मत प्राप्त गरेका छन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार २४१ मत प्राप्त गरेका छन्। गन्न मत सङख्या र रेनु दाहालले कायम गरेको अग्रता अनुसार दाहालको जीत निश्चित भएको छ।

उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ४७ हजार ८५८ मत प्राप्त गर्दा राप्रपाकी हमिला गुरुङले २७ हजार ८९९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ। मङ्गलबार बिहानसम्ममा मतगणना सम्पन्न गर्ने गरी गणना भइरहेको छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell