PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

दोस्रो कार्यकालका लागि भरतपुर महानगरको मेयरमा रेनु सुनिश्चित, गन्न बाँकी भन्दा बढी मतले पुगिन् अगाडि



पहिलोपोस्ट

दोस्रो कार्यकालका लागि भरतपुर महानगरको मेयरमा रेनु सुनिश्चित, गन्न बाँकी भन्दा बढी मतले पुगिन् अगाडि

काठमाडौं : भरतपुर महानगरपालिकाका मेयरमा रेनु दाहाल सुनिश्चित भएकी छिन्। गन्न बाँकी मतभन्दा बढी मतान्तरसँगै उनको जित सुनिश्चित भएको हो। फराकिलो मतान्तरसहित अग्रस्थानमा रहेकी रेनुले मत गणना पूरा नहुँदै जित निकालेकी हुन्। औपचारिक रुपमा उनको जित मत गणना पूरा भइसकेपछि हुनेछ।

१ लाख १६ हजार ६ सय ६६ मत गनिसक्दा रेनु दाहालले ४७ हजार ४० मत ल्याएकी छिन्। गणबन्धनका लागि नेकपा माओवादी केन्द्रबाट उम्मेदवार रहेकी रेनुले ११ हजार ४ सय ५७ मतले नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको गठबन्धनका उम्मेदवार विजय सुवेदीलाई पछि पारेकी छिन्। एमालेका विजय सुवेदीले ३५ हजार ५ सय ८३ मत ल्याएका छन्।

गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा भरतपुर नगरपालिकामा कूल १ लाख २७ हजार ५६६ मत खसेको थियो। अहिलेसम्म १ लाख १६ हजार ६ सय ६६ मत गनिसकिएको छ। त्यस आधारमा अब गन्न बाँकी मत १० हजार ९ सय रहेको छ। यस आधारमा रेनुले जित सुरक्षित गरेकी हुन्। गन्न बाँकी मतभन्दा रेनु दाहालले ५ सय ५७ अधिक मत हासिल गरिसकेकी छिन्।

रेनुले भरतपुर महानगरपालिकामा दोस्रो कार्यकालका लागि मेयर पद सुरक्षित गरेकी हुन्। पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी भएका कारण पनि रेनुमाथि बारम्बार प्रश्न उठेको थियो। तर, पहिलो पटक चुनाव जित्दाको अवस्थाको भन्दा धेरै फराकिलो मतान्तर सहित उनले दोस्रो कार्यकाल सम्हाल्ने भएकी छिन्।

गठबन्धनभित्र उनको उम्मेदवारीलाई लिएर नेपाली कांग्रेस भित्र ठूलो असन्तुष्टि थियो। त्यसलाई चिर्दै रेनुले जितको यात्रा सुनिश्चित गरेकी हुन्। नेपाली कांग्रेसको असन्तुष्ट समूहलाई प्रतिनिधित्व गर्दै जगन्नाथ पौडेलले मेयरमा उम्मेदवारी दिएका थिए। उनले पनि राम्रो मत हासिल गरेका छन्। पौडेलले १४ हजार २ सय ६३ मत हासिल गरेका छन्। उनी भूइकटहर चुनाव चिन्ह लिएर भरतपुरको मैदानमा उत्रिएका थिए। उनले असन्तुष्ट पक्षको मतलाई भूइकटरमा एकत्रित गर्दा रेनुको जितको बाटो थप सहज बनेको थियो।

रेनुले गठबन्धनको मतका साथै नेकपा एमालेकै मत समेत बटुल्न सकेको देखिएको छ। एमालेको प्रभाव भनिएका धेरै वडामा रेनुले मतमा अग्रता लिएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell