PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

पाँच दिनमा फेरिएको आठ वर्ष अघिको अपराधको 'कोर्स', बहसमा ल्यायो हदम्याद



पहिलोपोस्ट

पाँच दिनमा फेरिएको आठ वर्ष अघिको अपराधको 'कोर्स', बहसमा ल्यायो हदम्याद

काठमाडौं : सोमवार जिल्ला अदालत काठमाडौंमा म्याद थपको लागि पुर्‍याउँदा घोसे मुन्टो लगाएका थिए मनोजले। हातमा हथकडीसँगै वरिपरि प्रहरीले घेरिएका थिए उनी। आठ वर्ष अगाडिको गरिएको भनिएको अपराधको सजया यसरी भोग्‍नुपर्ला भनेर सायदै सोचेका थिए उनले।  सामाजिक सञ्जाल, सरकार र प्रहरी प्रशासन यसरी अगाडि बढ्यो कि उनले पछाडिको घटना सम्झने फुर्सद पनि पाएनन्।

हद म्याद तोकिएको छ। कसरी पक्रिने? पीडितले उजरी नै दिएको छैन। यस्तैयस्तै प्रश्नको बिच बलात्कारको आरोपमा मनोज समातिए। सोमवार जिल्ला अदालतले समेत उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दियो। पाँच दिनको अवधिमा नै एउटा कोर्स नै फेरियो। नयाँ डिस्कोर्स सुरु भयो। 

गत बुधवार टिकटकमा ‘सुसी खान जाने हो’ अकाउन्टबाट एकजना रेग्मी थरकी युवतीले आफूमाथि भएको यौन शोषणको घटना सार्वजनिक गरिन्। २०७१ सालमा भएको मिस ग्लोबल इन्टरनेश्नल नामक ब्युटी प्याजेन्टका क्रममा होटलमा आफूमाथि बलात्कार भएको उनले भिडियोमा बताइन्। सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि विभिन्न तहका मानिसले कारबाही गर्न दवाव दिए।

बिहीवार बिहानै घटना यसरी भाइरल भयो कि प्रहरी प्रशासनलाई समेत आरोपितलाई कारबाही गर्न दवाव पर्‍यो। आठ वर्ष अगाडिको घटना भएकाले बलात्कारको केसमा हद म्याद लाग्ने भन्दै प्रहरी पन्छिन खोजेको थियो। तर, बाहिरी दवाव झेल्न सकेन। प्रहरीले बिहीवार नै कानुनविद्सँग परामर्श गर्‍यो। आरोपित मनोज पाण्डेको खोजी गर्‍यो। उनी बिहीवार काठमाडौं बाहिर भएको देखियो। पीडित युवतीलाई सम्पर्क गर्न खोज्यो प्रहरीले। बिहीवारसम्म पीडित युवती कुनै उजुरी लिएर पुगेकी थिइनन्।

शुक्रवार सडकदेखि सदनसम्म यस विषयले महोल तताई सकेको थियो। जनस्तरबाट चर्को दवाव, प्रतिनिधिसभामा सांसद गगन थापाको माग र सभामुख अग्नि सापकोटाको निर्देशनपछि गृह मन्त्रालयले छानविनका लागि समिति नै गठन गरेको थियो। प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरको नेतृत्वको समितिमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल, प्रहरी नायब उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का रहेको समिति गठन भयो। समितिका सदस्य एसपी कृष्ण कोइरालको नेतृत्वमा टोलीले पिडित युवतीलाई भेटेर थप घटनाको जानकारी लियो। यता पिडक काठमाडौ फर्किएको जानकारी लिएर खोजी गरिरहेको थियो।

शनिवार दिउँसो पीडक मनोज पाण्डे स्वयम्भूमा लुकेर बसेको अवस्थामा समातिए। प्रहरीले आरोपित पाण्डेसँग मौखिक बयान लियो। गृह मन्त्रालयले गठिन समितिलाई सहयोग गर्न पीडित किशोरीलाई न्याय दिनका लागि घटनाको छानविन गर्न निर्देशन दियो।

आइतवार सार्वजनिक बिदा अदालतबाट म्याद थप हुन सकेन। आइतवार नै पाण्डेले आफूहरुलाई पनि यौन शोषण गरेको भन्दै दुई युवती प्रहरीको सम्पर्कमा आए। प्रहरीले घटनाको थप जानकारी लियो।

सोमवार बिहानैदेखि प्रहरी यस घटनाको बारेमा जुट्यो। जिल्ला अदालत काठमाडौंबाट हिरासतमा राखेर अनुसन्धान गर्न ५ दिनको अनुमति पायो। जिल्ला अदालतले पनि सहजै घटनाको अनुसन्धानको लागि समय दिएको थियो। पाँच दिनको अवधिमा सडकदेखि सदन, सरकार र सामाजिक सञ्जाल सक्रिय हुँदा आठ वर्ष अगाडिको घटनाको कोर्ष नै फेरिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell