PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

जितको मुखमा पुग्दा रेनु दाहालको १२ हजार मतको अग्रता



पहिलोपोस्ट

जितको मुखमा पुग्दा रेनु दाहालको १२ हजार मतको अग्रता

काठमाडौं : रेनु दाहाललाई भरतपुरका जनताले पुन: महानगरपालिकाको जिम्मेवारी सुम्पेका छन्। जितको मुखैमा पुग्दा १२ हजार मतान्तरले अगाडि छिन् उनी। गन्न बाँकी मतभन्दा उनको मतान्तर बढी भइसकेकाले भरतपुरको मत गणना मेयर पदका सन्दर्भमा प्राविधिक विषय मात्र हो अब। भरतपुरमा अब ३ हजारको हाराहारीमा मत गन्न बाँकी छ।

५० हजार ३ सय १० मत सहित रेनुले आफूलाई मेयरमा सुरक्षित रुपमा अवतरण गराउँदा निकटतम प्रतिस्पर्धी विजय सुवेदीको खातामा ३९ हजार २ सय ९६ मत छ। फराकिलो मतान्तरसहित अग्रस्थानमा रहेकी रेनुले मत गणना पूरा नहुँदै जित निकालिसकेकी छिन्। औपचारिक रुपमा उनको जित मत गणना पूरा भइसकेपछि हुनेछ।

एकीकृत नेकपा माओवादीका नेता रेनु सत्ता गठबन्धनका तर्फबाट दोस्रो कार्यकालका लागि प्रतिस्पर्धामा छिन्। नेकपा एमालेका विजय भने नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको गठबन्धनका उम्मेदवार हुन्।

गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा भरतपुर नगरपालिकामा कूल १ लाख २७ हजार ५६६ मत खसेको थियो। अब थोरै मत मात्र गन्न बाँकी छ।

पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी भएका कारण पनि रेनुमाथि बारम्बार प्रश्न उठेको थियो। तर, पहिलो पटक चुनाव जित्दाको अवस्थाको भन्दा धेरै फराकिलो मतान्तर सहित उनले दोस्रो कार्यकाल सम्हाल्ने भएकी छिन्।

गठबन्धनभित्र उनको उम्मेदवारीलाई लिएर नेपाली कांग्रेस भित्र ठूलो असन्तुष्टि थियो। त्यसलाई चिर्दै रेनुले जितको यात्रा सुनिश्चित गरेकी हुन्। नेपाली कांग्रेसको असन्तुष्ट समूहलाई प्रतिनिधित्व गर्दै जगन्नाथ पौडेलले मेयरमा उम्मेदवारी दिएका थिए। उनले पनि राम्रो मत हासिल गरेका छन्। पौडेलले १४ हजार ७ सय ५ मत हासिल गरेका छन्। उनी भूइकटहर चुनाव चिन्ह लिएर भरतपुरको मैदानमा उत्रिएका थिए। उनले असन्तुष्ट पक्षको मतलाई भूइकटरमा एकत्रित गर्दा रेनुको जितको बाटो थप सहज बनेको थियो।

रेनुले गठबन्धनको मतका साथै नेकपा एमालेकै मत समेत बटुल्न सकेको देखिएको छ। एमालेको प्रभाव भनिएका धेरै वडामा रेनुले मतमा अग्रता लिएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell