PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

‘थ्रेट नै थ्रेट’ का बिच भरतपुर महानगरमा कसरी फराकिलो मतान्तरले दोहोरिइन् त रेनु?



नेत्र तामाङ

‘थ्रेट नै थ्रेट’ का बिच भरतपुर महानगरमा कसरी फराकिलो मतान्तरले दोहोरिइन् त रेनु?
भरतपुरको मेयरमा निर्वाचित रेनुलाई बधाई दिँदै उनकी बहिनी गंगा दाहाल। फोटो : facebook.com/seema.dahal

काठमाडौं : चितवनको भरतपुर महानगर। स्थानीय तहको निर्वाचन २०७९ मा यसपटक स्थानीय तहमा सबैभन्दा चासोका साथ हेरिएको थियो। कारण - रेनु दाहालको उम्मेदवारी।

रेनुको उम्मेदवारी यसकारण पनि चासोमा थियो कि यसपटक कांग्रेसले सघाउँछ कि सघाउँदैन? वाम गठबन्धनमा गडबढी आएर सग्लो रहेको नेपाल कम्युनिस्ट पार्टी तीन टुक्रा भएसँगै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद अनायसै मिलेको थियो। प्रश्न थियो - के देउवाले त्यसको गुन तिर्छन्?

महानगर र उपमहानगरमा पाँच दलीय सत्ता गठबन्धनले तालमेल गर्ने निर्णय गरेको थियो। तर, भरतपुर कांग्रेस कुनै पनि हालतमा हँसिया हतौडामा मत हाल्न तयार थिएन। अघिल्लो पटक पनि माओवादीका रेनुलाई नै सघाएकाले कांग्रेस यसपटक भरतपुरमा आफ्नो नेता मेयर भएको हेर्न चाहिरहेको थियो।

‘यसपटक पनि माओवादीलाई मत हाल्नुपर्यो भने रुख खङ्ग्रङ्गै सुक्छ,’ कांग्रेस कार्यकर्ता यसै भन्थे।

यस्तो मत धेरैमा देखिन्थ्यो। आखिरमा तालमेलको भागबण्डामा भरतपुर माओवादी केन्द्रको भागमा पर्‍यो। अनि मेयरको प्रत्यासीमा दोहोरिने भइन् रेनु नै।

लगत्तै वैशाख १२ गते कांग्रेसको झण्डा लिएर पूर्व सांसद जगन्नाथ पौडेल उम्मेदवारी दिन पुगे। चितवन कांग्रेसका पूर्व सभापति कृष्णलाल  सापकोटाको साथ थियो पौडेललाई। त्यसपछि झन् रोचक बन्यो भरतपुरको चुनाव। गठबन्धनको बल, प्रचण्डकी छोरी अनि यसअघिको मेयर - के चुनावमा फेरि सफलता पाउन सक्लिन्?

वैशाख १३ गते रेनुले उम्मेदवारी दर्ता गरिन्। गठबन्धनबाट उपमेयरमा कांग्रेसका भरतपुर महानगर कमिटिका सभापति चित्रसेन अधिकारीले उम्मेदवारी दिए। त्यसपछि कांग्रेस केन्द्रको निर्णयको चर्को विरोध गर्दै बागी झनै कडा रुपमा उत्रिए - विद्रोही बनेर।

कांग्रेसभित्रै असन्तुष्टि बढेपछि भरतपुरको रिस साम्य पार्न बालुवाटारदेखि खुमलटारसम्म सक्रिय बन्यो। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाणदेखि राज्यमन्त्री उमेश श्रेष्ठलाई भरतपुर पठाए। उनीहरुबाट पार लाग्ने अवस्था नदेखेपछि वैशाख २१ गते साँझ पौडेललाई आफैले भेट्न खोजे देउवाले। तर जगन्नाथको टोलीले देउवालाई टेरेनन्। वरिष्ठ नेता रामचन्द्र पौडेलले सिराईचुली होटलमा बोलाएर सहमतिको कुरा निकाले। तर आफूहरु धेरै अगाडि बढिसकेको उल्लेख गर्दै सिराईचुली होटलबाट चुनावी सभामा लागे उनीहरु।

सोही दिन प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले भरतपुरमा आयोजित सभालाई सम्बोधन गर्दै भने, ‘रेनु दाहालजीलाई कुनै पनि शंका नलाग्ने गरी जिताउनुपर्छ।’

यतिमात्र हैन देउवाले रेनुलाई नजिताए कांग्रेसलाई समेत घाटा हुने दाबी गरे। ‘उहाँ आफैँ जितिसक्नुभयो। यहाँ उहाँ जित्नुहुन्छ। अनि हामी जित्नुहुन्न भनेर आरोप लाउने?,’ सभापति देउवाले भनेका थिए, ‘कुनै पार्टीले बहुमत ल्याउन सक्दैन। गठबन्धन आवश्यक छ। सबैलाई थाहा छ। किन विरोध भयो? यहाँ ठूलो षड्यन्त्र छ। यो षड्यन्त्रमा फस्यो भने हाम्रो पार्टी पनि खत्तम हुन्छ। यो गठबन्धन टुटाउनेमा भरतपुर सहभागी हुँदैन।’

देउवाले भनेजस्तै रेनुले जित आखिर जित निकालेरै छोडेकी छिन्। दाहालले नेकपा एमालेका विजय सुवेदीलाई १२ हजार ४४९ मतान्तरले पछि पार्दै मेयरमा विजयी भएकी हुन्।

मेयरमा दाहालले ५२ हजार ३० मत पाउँदा सुवेदीले ३९ हजार ५८१ मत पाएका छन्।

‘उहाँ आफै जितिसक्नुभयो। यहाँ उहाँ जित्नुहुन्छ,’ देउवाले त्यतिबेला भने झैं रेनुको फराकिलो मतान्तर सहितको जितले अघिल्लो पटकको - तनावपूर्ण जितलाई भुलाएको छ।

भरतपुरमा रेनुमाथि थियो 'थ्रेट नै थ्रेट'

भरतपुरमा पुन: चुनावी मैदानमा उत्रिएकी रेनुमाथि विभिन्न आरोप थियो। जसमध्ये सबैभन्दा पेचिलो बनेको थियो – नेता पुत्रीको। त्यसमाथि कांग्रेसी कार्यकर्ताले नटेर्ने हो कि भन्ने उत्तिकै आशंका।

प्रचण्डपुत्रीको आरोप

भरतपुरमा पाँच वर्ष मेयर पद हाँके पनि अर्को चुनावमा होमिँदा रेनुमाथि आरोप थियो - प्रचण्डपुत्री भएकाले उठाइयो। नेताको छोरी भएकै कारण पटकपटक लाभको पद किन दिने? चौतर्फी रुफमा उनीमाथि आक्रमण शुरु भएको थियो।

देशभर उनको विरोधमा चर्का कुरा आउँथे नै। वैशाख २५ गते भरतपुर ओर्लेर एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत कांग्रेसले प्रचण्डपुत्रीलाई बोकेको आरोप लगाए।

‘जिन्दगीभर कांग्रेस भनेर हिँडेका साथीहरू हेर्नुस् त! पोहोर पनि ढाट्यौं, यसपालि पनि ढाट्यौं... गीतजस्तै। पहिले पनि उनैलाई जिताए, अहिले पनि उनै,’ ओलीले भनेका थिए, ‘उनलाई जिताए प्रचण्ड उत्साहित हुनुहुन्छ रे! २० वर्ष गठबन्धन रहन्छ रे! कांग्रेस कार्यकर्ताको हालत २० वर्ष छोरी बोक, त्यसपछि ज्वाइँ, भाइभतिजा बोक।’

बागीको डर

कांग्रेसले कुनै पनि हालतमा मेयर पद नछाड्ने भन्दै आफ्नो भन्दा अगाडि नै उम्मेदवारी दिन पुगिसकेका थिए पूर्व सांसद जगन्नाथ पौडेल। पौडेलको पक्षमा जनमत पनि बन्दै गयो। हुन पनि धमाधम प्रमुख पदमा अर्कै पार्टीका उम्मेदवार उठाउने भएपछि कार्यकर्तामा निराशा छाउनु तर्कसंगत देखिन्थ्यो। भुँईकटहर चिन्ह पाएका जगन्नाथ कार्यकर्ताको साथ पाएर उत्साहित देखिएका थिए।

अझ ८४ वर्षे सापकोटाको साथ पाएर ढुक्क देखिएका थिए पौडेल। यसले जगन्नाथको पक्षमा मत बढेमा के हुने हो रेनुलाई चुनौति थपिएको थियो।

अटेरी कार्यकर्ताको त्रास

माओवादी लगभग तेस्रो पोजिसनमा रहेको भरतपुरमा कांग्रेस शक्तिशाली पार्टी हो। कांग्रेसमा आफ्नो उम्मेदवार नभए कोही मत हाल्न पुग्दैनन् भने कसैले मत क्रस गरिदिने ट्रेन्ड छ। यसले पनि रेनुलाई चुनौति थपिएको थियो। किनकि अघिल्लोपटक बालबाल जितेकी थिइन् २०३ मतान्तरले। यद्यपि, चुनौतिको सामना गर्न उनी तयार भइन्। र, जित निकालिन्।

जित कसरी भयो सम्भव?

विभिन्न त्रासका बीच भरतपुरमा रेनुको पक्षमा माहोल बन्दै गयो। चर्को विरोधमा उत्रिएका कांग्रेस कार्यकर्तादेखि नेताहरु केन्द्रीय निर्देशनको पक्षमा लागे। सँगै एमाले र राप्रपाकै मत रेनुलाई आएको बताइन्छ।

एमालेभित्रको कलह

एमालेले यसपटक १० औं महाधिवेशनको आयोजना गरेको ठाउँ हो भरतपुर। सत्ताच्युत भएपछि शक्ति प्रदर्शन गर्न एमाले त्यहाँ ओइरिएको थियो। तर, विजय सुवेदीको पक्षमा जित निकाल्न सकेन एमालेले।

जिल्ला अधिवेशनमा कृष्णभक्त पोखरेलले अध्यक्षमा दाबी गरेका थिए। पछि पार्वती रावललाई उक्त जिम्मेवारी दिइयो। पछि पोखरेललाई कुनै भूमिका दिइएन। यसो त माओवादी नगई ओलीको साथमा रहेका रामबहादुर थापा ‘बादल’का कारण पनि एमालेभित्र अन्तर्घात भएको बताइन्छ। एमालेले वडा नम्बर १०, ११ र १२ मा राम्रो अग्रता बनाउने दाबी गरे पनि त्यसअनुसारको मत पाएन। यी तीनै वडाबाट रेनुले राम्रो मत पाएसँगै एमालेमा अन्तर्घात भएको चर्चा छ।

राप्रपासँग तालमेल गर्दा पनि मत आएन

सत्तारुढ गठबन्धनलाई कडा आलोचना गर्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रेनुलाई हराउनुलाई फलामको च्युरा चपाउनु सरह महसुस गरे। र, राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेलका लागि हात अगाडि बढाए। भरतपुर कांग्रेस, एमाले र माओवादीपछि राप्रपाको बलियो मत भएको क्षेत्र हो। त्यसैले पाँच दलीय गठबन्धन तालमेल गरेर जाने निर्णय हुनसाथ एमालेले यहाँ राप्रपासँग तालमेल गर्ने निर्णय गर्‍यो। जसअनुसार राप्रपाले उप प्रमुखमा भाग पायो। तर, मत परिणाममा निक्कै तलै रह्यो राप्रपा। उसका लागि पनि एमालेसँगको तालमेल फापेन। 

ओलीको उत्तेजित बोली

यस निर्वाचनमा कतिपयले ओलीको उत्तेजित बोलीले रेनुको पक्षमा थप माहोल बनेको तर्क गर्छन्। कांग्रेसीलाई ओलीले रुखमा भोट हाल्न नपाउँदा पनि कसरी मन थामेका होलान् भन्दै 'प्रोभोक' को प्रयास गरेका थिए।

चितवनका कांग्रेसले जहिलसुकै प्रचण्डका बाउ– छोरी बोक्न पर्ने भयो भन्दै दिएको ओलीको अभिव्यक्तिले मतदाता चिढिएको कांग्रेसका कार्यकर्ता नै स्वीकार्छन्। दुई पटकसम्म संसद विघटन गर्दै प्रतिगमनमा लागेका ओलीको अभिव्यक्तिले कांग्रेसीको मत रेनुकै पक्षमा पार्न यस्ता अभिव्यक्तिले उत्प्रेरकको काम गर्‍यो।

रेनुको आफ्नै लोकप्रियता

मेयरमा प्राप्त मत हेर्दा रेनु आफै पनि भरतपुरमा लोकप्रिय छिन् भन्ने पुष्टि हुन्छ। यहाँका जनताले उनीमाथि भरोसा गरेको देखिन्छ। चुनावअघि रेनुले भरतपुर क्षेत्रमा गरेको विकासको चर्चा चल्थ्यो नै। उनलाई जिताउने उनका बुवा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खटाई पनि उत्तिकै महत्वपूर्ण रह्यो। केन्द्रदेखि स्थानीय तहसम्म प्रचण्ड लबिइङमा व्यस्त देखिन्थे नै।

देउवाको खटाइ

वैशाख २१ गते विराटनगरबाट सिधै भरतपुर आइपुगेका प्रधानमन्त्री देउवाले होटल सिराईचुलीमा बागी बनेका जगन्नाथसँग भेट्न कोसिस गरेर कांग्रेसको गठबन्धनका लागि इमान्दार प्रयास छ भन्ने संदेश दिए। जगन्नाथलाई भेट्न चाहँदा पनि उनले अस्वीकार गरेको खबरले पनि असन्तुष्ट कांग्रेस कार्यकर्ताको 'मुड' परिवर्तनमा भूमिका खेल्यो।

आक्रोशित बनेका कांग्रेसीको मत सूर्य छापमा जानुभन्दा अर्को छापमा परोस् भनेर देउवाको सुनियोजित योजनामा जगन्नाथको उम्मेदवारीमाथि चर्को प्रतिवाद गरिएन।

‘भरतपुरमा हँसिया हतौडामा भोट हाल्न नसक्ने चरमपन्थी कांग्रेसीहरूलाई छुट्टै डल्लो पार्न योजनाबद्ध रूपमै भुइकटर उठाइएको थियो भन्ने बुझ्न राजनीतिशास्त्र पढ्नु पर्दैन,’ सामाजिक सञ्जालमा आएको यस्तो टिप्पणीले रणनीतिक रुपमा कांग्रेसको कदमको व्याख्या गर्छ। स्वतन्त्रका उम्मेदवार जगन्नाथ पौडेलले पाएको १४ हजार ७२८ मतले यो पुष्टि गर्छ नै।

देउवाले आफूलाई प्रधानमन्त्री बनाएको दललाई कुनै हालतमा जिताउनुपर्ने भन्दै भरतपुर उत्रिँदा २१ गते राति भरतपुरका कांग्रेस नेताहरुसँग बाक्लो भेट गरेका थिए। उक्त अवधिमा भरतपुरका नेता कार्यकर्ता रेनुलाई जिताउन विश्वस्त भए। चुनावी सभामा माओवादी अध्यक्ष पुष्पकमल दाहालले धम्क्याउने प्रयास गरे पनि देउवा सम्झाउने लाइनमा लागेका थिए। देशभर प्रचण्डको भनाईको विरोध भए पनि देउवाको लाइन सफ्ट थियो। यद्यपि, देउवा भरतपुर पुगेपछि कांग्रेस कार्यकर्ता केन्द्रीय निर्णयको लाइनमा पुगिसकेको भान हुन्थ्यो।

यसअघि तालमेलको चर्को विरोध गर्दै आएका चितवन कांग्रेसका पूर्व सभापति जितनारायण श्रेष्ठको भनाईबाट त्यो छर्लङ्ग हुन्थ्यो। 'यो कास्टिङ मात्र हो। भरतपुरमा पाँच दलीय गठबन्धनले जित्छ,’ देउवाले बोल्नु अघि नै चुनावी सभामा श्रेष्ठले भनेका थिए, ‘कांग्रेस भरतपुरले रेनु दाहाललगायत सिंगो टिमलाई जिताउँछ।’

देउवा भरतपुरमा उत्रिएपछि रेनुको पक्षमा माहोल बनेको त्यतिबेला जगन्नाथको पक्षमा उत्रिएका कृष्णलाल सापकोटाले समेत सुनाएका थिए।

'शेरबहादुर देउवा भरतपुर आएपछि कांग्रेसका केही मान्छेहरु डराएका छन्,' सापकोटाले वैशाख २७ गते पहिलोपोस्टसँग भनेका थिए।

उनले जे भनेका थिए, त्यो मतपत्रमा पोखिएको छ। र, रेनु दाहाल पुन: भरतपुर महानगरपालिकाको नेतृत्वमा आएकी छिन्। उनको पहिचानका अगाडि अब प्रचण्ड पुत्री भन्दा पनि दुई पटक लगातार भरतपुर महानगरपालिकाको मेयरका रुपमा स्थापित हुनेछिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell