वीरगंज : जनता समाजवादीका नेता तथा गठबन्धनतर्फका उम्मेदवार राजेशमान सिंहले वीरगंज महानगरपालिकामा जित हासिल गरेका छन्। उनले ४६ हजार २ सय १५ मत ल्याउँदै नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगीलाई ठूलो मतान्तरले पराजित गरेका हुन्।
२२ हजार ५ सय ४४ मतान्तरले जित निकाल्दै महानगरपालिका तर्फ सबैभन्दा ठूलो अन्तरको जित निकालेका हुन् उनले। सरावगीले २३ हजार ६ सय ७१ मत हासिल गरे।
वीरगंजमा पत्रकारिताबाट राजनीतिमा होमिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका गिरिश गिरी तेस्रो स्थानमा रहे। उनले ३ हजार ३ सय १३ मत ल्याएका छन्।
सरावगी यसअघि वीरगंजका मेयर थिए। पुन: मेयर पदका लागि उनी नेकपा एमाले प्रवेश गरेका थिए। नेकपा एमाले प्रवेश गरेर मेयरको टिकट हत्याउन सफल भए तर मतदाताले उनलाई बलियोसँग पत्याएनन्।
यता उपप्रमुख पदमा भने नेपाली कांग्रेसका इम्तयाज आलमले जित निकालेका छन्। उनले ३० हजार ७८ मत हासिल गरेका छन्। उनका प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषोत्तमलाल झाले ९ हजार ५ सय ६८ मत ल्याए।