PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

उपप्रमुखमा जित्‍ने र हार्नेले ल्याएको मत भन्दा धेरै चाहिँ 'बदर' !



पहिलोपोस्ट

उपप्रमुखमा जित्‍ने र हार्नेले ल्याएको मत भन्दा धेरै चाहिँ 'बदर' !

काठमाडौं : वीरगंज महानगरपालिकामा उपप्रमुख पदका विजयी र निकटतम प्रतिस्पर्धी उम्मेदवारले ल्याएको मतभन्दा धेरै मत बदर भएको छ। जम्मा ९३ हजार ७ सय २५ मत खसेकोमा नेपाली कांग्रेसका उम्मेदवार इम्तियाज आलमले ३० हजार ७८ मत ल्याएर विजयी भए। आलमका निकट्तम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का पुरुषोत्तम लाल झा ले ९ हजार ५ सय ६८ मत मात्रै ल्याए।

तर, बदर मतको संख्या भने दुवै उम्मेदवारले पाएभन्दा बढी छ। आलम र झा दुवैले ल्याएको मत ३९ हजार ६ सय ४६ हुन आउँछ। ४३ हजार ७ सय ३५ मत बदर भएको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ। सदर मतको संख्या ४९ हजार ९ सय ९३ छ। सदर र बदर मतको फरक ६ हजार २ सय ५८ मात्रै छ। उपमेयरमा खसेको जम्मा मतको ४६.६६ प्रतिशत मत बदर भएको देखिन्छ। 

उपप्रमुखको तुलनामा प्रमुखको मत कम बदर भएको छ। ९३ हजार ७ सय २८ मत खसेकोमा २० हजार १ सय ९० मत बदर भएको हो। सदर मत संख्या ७३ हजार ५ सय ३८ छ। मेयरमा २१ प्रतिशत मत बदर भएको छ। सत्ता गठबन्धनमा भएको भागबन्डा अनुसार नै वीरगंजमा पनि उम्मेदवार उठाइएको थियो। जनता समाजवादी पार्टीका राजेशमान सिंहले ४६ हजार २ सय १५ मत ल्याएर प्रमुखमा निर्वाचित भएका छन्। नेकपा एमालेका उम्मेदवार विजय सरावगीले २३ हजार ६ सय ७१ मत ल्याएर पराजित भए।

निर्वाचन आयोगले दलहरुले अन्तिममा गठबन्धन गरेर उम्मेदवार उठाएका कारण बदर मतको संख्या धेरै भएको जनाएको छ। गठबन्धन दलहरुले एउटा दलमा उम्मेदवार उठाएपछि बाँकी दलको मतपत्रमा चुनाव चिन्ह भए पनि उम्मेदवार भने थिएनन्। जस्तै वीरगंजमा मेयरमा गठबन्धनले जसपाका उम्मेदवारलाई अघि सारेको थियो भने बाँकी गठबन्धनका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका उम्मेदवार थिएनन्। तर,उनीहरुको पनि चुनाव चिन्ह भने थियो।

उपप्रमुखमा पनि गठबन्धन दलहरुको सहमति अनुसार नै उम्मेदवार उठाइएको थियो। निर्वाचन आयोगले दलहरुले प्रचार प्रसारको क्रममा राम्ररी मत हाल्न नसिकाउँदा यसपटकको निर्वाचनमा मत बदर संख्या धेरै भएको जनाएको छ।

'दलहरुलाई हामीले प्रचारमात्रै नगर्नुस् राम्ररी मत हाल्न पनि सिकाउनुस् भनेका थियौं उनीहरुले सिकाएनन्। त्यसकारण पनि मत बदर संख्या धेरै छ,' आयोगका सहप्रवक्ता सूर्य प्रसाद अर्यालले भने। आयोगले दलहरुलाई मत बदर हुनुको दोष दिएको भए पनि यसपटक मतदाता शिक्षा आयोग आफैँले सचांलन गर्न सकेन। आयोगले समय अभावलाई देखाएर मतदाता शिक्षा सचांलन गर्न नसकिएको बताएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell