PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

पाँच वर्षमा फेरिएको ‘ब्याटल’ : वीरगंजमा कसरी राजेशमानले खोसे विजयको कुर्सी?



पहिलोपोस्ट

पाँच वर्षमा फेरिएको ‘ब्याटल’ : वीरगंजमा कसरी राजेशमानले खोसे विजयको कुर्सी?

  • प्रकाश भण्डारी/राधेश्याम पटेल-

काठमाडौं/वीरगंज : एकातिर पाँच दलीय सत्ता गठबन्धन र अर्कातिर आफ्नै पार्टी विभाजन; नेकपा एमालेका लागि स्थानीय तह निर्वाचन सुखद् रहेन। २०७४ सालको जित जोगाउन त एमालेले सकेन नै, धेरै मतदाता भएका शहरी क्षेत्रको जनाधार समेत गुमाउन वाध्य भयो। हुन त एमालेले चुनावी नतिजा आफ्नो पक्षमा पार्न एक से एक रणनीतिक ‘मुभ’ नगरेको होइन। तर, एमाले अपेक्षाकृत सफल हुन सकेन। काठमाडौंमा उपप्रमुखमा सुनिता डंगोललाई अघि सार्दा एमालेको भागमा सान्त्वना जित मिलेको छ। अरु ठाउँमा भने एमालेको रणनीति असफल नै भयो।

मधेशको केन्द्र मानिने वीरगंजमा पनि एमालेले अरु महानगरमा जस्तै हार बेहोरेको छ। काठमाडौंमा ‘सेलिबिट्री’ पृष्ठभूमिकी डंगोललाई उपप्रमुखमा अघि सार्दा एमाले सफल भए पनि वीरगंजमा व्यापारिक पृष्ठभूमिका पूर्व मेयरलाई विजय सरावगीलाई उम्मेदवार बनाउने निर्णय निक्कै महँगो सावित भयो।

समाजवादीका नेता तथा गठबन्धनतर्फका उम्मेदवार राजेशमान सिंहले वीरगंज महानगरपालिकामा जित हासिल गरे। उनले ४६ हजार २ सय १५ मत ल्याउँदै नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगीलाई ठूलो मतान्तरले पराजित गरेका हुन्। २२ हजार ५ सय ४४ मतान्तरले जित निकाल्दै महानगरपालिका तर्फ सबैभन्दा ठूलो अन्तरको जित निकालेका हुन् उनले। सरावगीले २३ हजार ६ सय ७१ मत हासिल गरे। 

हुन त एमालेको पक्षमा यसपटक कुनै पनि महानगरको मत परिणाम प्रितकर रहेन। ६ वटै महानगरमा सत्ता गठबन्धनले अघि सारेका उम्मेदवारले अग्रता लिए। ललितपुरमा कांग्रेस, काठमाडौंमा स्वतन्त्र, भरतपुरमा माओवादी केन्द्र, पोखरामा एकीकृत समाजवादी, विराटनगरमा कांग्रेस र वीरगंजमा जसपाको पक्षमा आयो जित। गठबन्धन र एमाले फुटको सोझो असर महानगरको चुनावी परिणाममा देखियो। जसको असर मधेशको केन्द्र वीरगंजमा नपर्ने कुरै भएन। सम्भावित पराजय टार्न एमालेले रणनीतिक उम्मेदवारका रुपमा सरावगीलाई अघि सार्‍यो। तर, एमालेको हारको भार सरावगीले थेग्न सकुन कसरी?

जनता समाजवादी पार्टी (जसपा), त्यतिबेला संघीय समाजवादी फोरोम, नेपालका तर्फबाट २०७४ सालमै मेयर बनिसकेका विजय सरावगीलाई चुनावकै केही समय अघि पार्टीमा भित्र्याएको थियो एमालेले, मेयरको उम्मेदवार बनाउन। हुन त सरावगी एमालेमा प्रवेश गर्नुअघि कांग्रेसमा जाने चर्चा नभएको होइन। तर, एमालेसँगको बार्गेनिङमा उनलाई फाइदा पुग्ने देखियो। हुन त सरावगी र सिंहको पार्टी प्रवेशको प्रसंग रोचक नै छ। सरावगी हताहतार एमालेमा लागेपछि सिंहको एमाले प्रवेशक्रममा ब्रेक लागेको थियो। २०७४ को स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनता पार्टी राजपाबाट उम्मेदवार बनेका सिंह त्यतिबेला १२ हजार १ सय ६५ मत ल्याएर तेस्रो बनेका थिए। सिंहलाई तेस्रो बनाएर चुनावमा बाजी मरेका थिए त्यतिबेला अहिलेका पराजित सरावगीले १९ हजार ३ सय ९३ मत ल्याएर। सरावगी त्यतिबेला संघीय समाजवादी फोरोम, नेपालका तर्फबाट चुनावमा होमिएका थिए। पाँच वर्षमा सरावगी र सिंहको अवस्था बदलिएको छ। पार्टी बदलिएको छ। पार्टी विभाजन हुँदा जसपामा सरावगी सक्रिय हुँदा सिंह लोकतान्त्रिक समाजवादी (लोसपा) तिरलागे। लोसपा छोडेर जसपामा सिंह फर्किँदा उनलाई स्थानीय निर्वाचनमा भने फलिफाप भएको छ। अर्कातर्फ एमाले प्रवेश गरेका सरावगीले भने आफ्नो पुरानो शक्ति कायम गर्न सकेनन्।

सिंह र सरावगीको प्रतिस्पर्धा चुनावमा जित हारको मात्रै छैन। पार्टी अदलबदलमा पनि एक हिसाबले उनीहरुको घम्साघम्सी नै भइरह्यो। एक हातमा टिकट र अर्को हातमा पार्टी सदस्यता लिएका सरावगी र सिंहको ‘व्याटल’यस वर्ष पनि रोचक देखियो, २०७४ मा जस्तै। पहिला सरावगीले बाजी मारेका थिए भने यस पटक बदला लिए सिंहले, मेयरमा जितेर।

अर्को रोचक त के भने जसरी एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०७८ फागुन २८ मा सरावगीलाई एमालेमा प्रवेश गराए, त्यसरी नै जसपाका अध्यक्ष उपेन्द्र यादवले सिंहलाई २०७८ चैत ७ मा जसपामा स्वागत गरे।

अघिल्लो चुनावमा सरावगीसँग पछारिएका राजेशमानले यस पटक भने अन्तिम चुनावी नतिजा नआउँदै जित निश्चित बनाइसकेका थिए। यसपाला व्यापक हारले रन्थनिएको एमालेलाई आगामी चुनावमा नतिजा कस्तो होला भन्ने चिन्ता सुरु भइसकेको छ। विभाजनले कुनै असर नै नभएको दाबी गर्दै आएको एमालेलाई ‘टुरिस्ट’ उम्मेदवार ल्याएर जित्न सकिन्न भन्ने राम्रो सन्देश वीरगंजबाट पक्कै मिलेको हुनुपर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell