PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

केही घण्टाअघि बालिकामाथि ‘हातपात’ गर्ने युवक भेटिए झुन्डिएको अवस्थामा



पहिलोपोस्ट

केही घण्टाअघि बालिकामाथि ‘हातपात’ गर्ने युवक भेटिए झुन्डिएको अवस्थामा
प्रतीकात्मक दृश्य।

  • भूमिका विष्ट -

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका वडा २ स्थित उल्टाखाममा एक युवक झुन्डिएको अवस्थामा फेला परेका छन्। उल्टाखामकै ३४ वर्षीय युवक दिनेश माली मृत अवस्थामा भेटिएको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक(डीएसपी) चक्र शाहले जानकारी दिए।

एकजना बालिकालाई हातपात गरेपछि उनले आत्महत्या गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानमा देखिएको छ।

‘साढे ११ बजेतिर दिनेश माली झुन्डेको अवस्थामा भेटिएका हुन्,’ डीएसपी शाहले भने, ‘त्यसभन्दा अघि उनले ११ वर्षीया बालिकालाई हातपात गरेको रहेछन्।'

ती बालिकालाई अहिले महाकाली अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनायो।

स्थानीय अधिकारकर्मीले भने बालिकालाई युवकले जबरजस्ती करणी गरेको दावी गरेका छन्। बालिकामाथि बलात्कार गरेको स्थानीयले देखेपछि युवकले आत्महत्या गरेको दाबी उनीहरुको छ।

‘रोशनीको घरमै दिनेशले जबरजस्ती करणी गर्दा घाँटी र आँखामा गहिरो चोट लागेको देखियो,’ एक स्थानीयले दाबी गरे, ‘गाउँलेले उक्त घटना देखेपछि दिनेशले सुसाइड गरे।‘

स्थानीयले आत्महत्या गरेको बताए पनि त्यसको स्वतन्त्र पुष्टि भने भइसकेको छैन। प्रारम्भीक अनुसन्धानमा बालिकाको बलात्कार भएको नदेखिएको प्रहरीको दाबी छ।

‘बालिकाले मलाई टाउकोमा हान्यो। घाँटीमा थिच्यो भनेकी छिन्। कुटपिट गरेको देखेपछि बालिकालाई अस्पताल ल्याइएको छ। युवक चाहिँ गएर झुन्डिएछन्,’ डीएसपी शाहले भने, ‘हातपात गरिएकोले आँखा र कानमा चोट लागेको छ। उनलाई अहिले रेस्क्यु गरिएको छ।' 

युवकले किन हातपात गरे तथा उनको मृत्युको गर्नुको कारण अहिलेसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell