PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

गठबन्धनले महानगरको प्रमुख/उपप्रमुखमा किन निकाल्न सकेन शत् प्रतिशत जित? त्यसको फाइदा चाहिँ एमालेलाई



प्रकाश भण्डारी

गठबन्धनले महानगरको प्रमुख/उपप्रमुखमा किन निकाल्न सकेन शत् प्रतिशत जित? त्यसको फाइदा चाहिँ एमालेलाई

काठमाडौं : सत्ता गठबन्धनले एकपछि अर्को महानगरमा जित निकाल्दा उपप्रमुखमा भने अधिकांशमा हारेको छ। ६ महानगर मध्ये ५ मा सत्ता गठबन्धनका मेयर पदका उम्मेदवार सफल भएका छन्। तर, उप प्रमुखमा भने नेकपा एमालेले फाइदा उठाएको छ। चार महानगरको उपप्रमुखको नतिजा एमालेको पक्षमा छ भने २ महानगरमा मात्रै गठबन्धनका उपप्रमुखले जितेका छन्। 

कसले कहाँ निकाल्यो जित?

काठमाडौं महानगरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले अन्तिम मत परिणाम आउनुअघि नै सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठलाई पराजित गरिसकेकी छिन्। अरु महानगरमा सत्ता गठबन्धनमा मेयर पदका उम्मेदवार सफल भए पनि काठमाडौं महानगरमा भने गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह स्वतन्त्र उम्मेदवार बालेन साहसँग नराम्ररी पराजित हुँदैछिन्। साहले मत गणनाको सुरुवातदेखि नै आफ्नो फराकिलो अन्तर कायम गरेका छन् नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारसँग। 

ललितपुर महानगरपालिकामा पनि सत्ता गठबन्धनले उमपेयर गुमाउँदै छ। गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार बाबुराज बज्राचार्य नेकपा एमालेकी उम्मेदवार मञ्जली शाक्यसँग पराजित हुने निश्चित भइसकेको छ। वीरगंज र भरतपुर महानगरमा सत्ता गठबन्धनले प्रमुख/उपप्रमुखमा शत प्रतिशत जित निकालेको छ। वीरगञ्जमा गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टीका राजेशमान सिंहले प्रमुख र नेपाली कांग्रेसका इम्तियाज आलमले चुनाव जितेका छन्। भरतपुरमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले चुनाव जित्दा उपप्रमुखमा पनि गठबन्धन तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले चुनाव जितेका छन्। 

विराटनगर महानगरपालिकामा गठबन्धन प्रमुखमा सफल भए पनि उपप्रमुखमा भने असफल भए। प्रमुखमा नेपाली कांग्रेसका नागेश कोइरालाले चुनाव जिते। उपप्रमुखमा भने गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार अमरेन्द्र यादव पराजित भएका छन्, नेकपा एमालेका उम्मेदवार शिल्पा कार्कीसँग। 

पोखरा महानगरमा पनि गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य जित नजिक पुग्दा उपप्रमुख भने गठबन्धनले गुमाउँदै छ। नेकपा एमालेका उपप्रमुखमा उम्मेदवार मञ्जु देवी गुरुङ जित नजिक देखिन्छन्। 

किन निस्केन उपप्रमुखमा जित?
महानगरमा मात्रै होइन ११ वटा उपमहानगरमा पनि अधिकांशमा गठबन्धनले प्रमुखमा जितेको छ। तर, उपप्रमुख भने एमालेले धेरै ठाउँमा जित निकालेको छ। सात ठाउँमा एमालेले उपप्रमुखमा जित्दा गठबन्धनले भने ४ ठाउँमा मात्रै आफ्नो उम्मेदवारलाई जोगाउन सकेको छ।

उपमहानगर मध्ये कांग्रेसले २, जसपा र माओवादीले एक/एक ठाउँमा मात्रै उपप्रमुखमा जित निकालेका छन्। महानगर र उपमहानगरमा गठबन्धनका तर्फबाट उपमेयरमा पराजित हुनुको पछाडि निर्वाचन आयोगले उम्मेदवार नभए पनि चुनाव चिन्ह हुने गरेको व्यवस्था भएको नेकपा एकीकृत समाजवादीका सचिव जीवनराम श्रेष्ठले बताए।

'भोट राम्ररी गएको देखिएन। निर्वाचन आयोगको असक्षमताको कारणले भयो यस्तो। उम्मेदवार नभएको ठाउँमा पनि गएको छ। बदर संख्या धेरै भयो उपमेयरमा। मेयरको हकमा बदर कम किन पनि भयो भने पहिलो ठाउँ नै मेयर थियो। त्यहाँ सबैको ध्यान गयो तर उप प्रमुखमा गएन,' उनले भने।

नेकपा एकीकृत समाजवादीका काठमाडौं महानगरपालिकाका उपप्रमुखका उम्मेदवार रामेश्वर श्रेष्ठले सोमवार निर्वाचन अधिकृतको कार्यालयमा उपमेयरको पुन मतगणना गर्नुपर्ने भन्दै निवेदन दिएका थिए। कांग्रेस र एकीकृत समाजवादीको दुवै चिन्हमा मत हाल्नेको संख्या धेरै भएको हुँदा आफ्नो धेरै मत बदर भएको श्रेष्ठको दाबी थियो। उनले कांग्रेस र एकीकृत समाजवादीको दुवै पार्टीको चुनाव चिन्हमा हालेर भएको बदर मत मध्ये कलममा खसेको मतलाई सदर मान्नुपर्ने तर्क गरेका थिए। तर, निर्वाचन अधिकृतको कार्यालयले भने श्रेष्ठले गरेको आग्रहलाई अस्वीकार गरेको छ।

एमालेलाई फाइदा
सत्ता गठबन्धनका विरुद्धमा धेरै ठाउँमा एक्लै प्रतिस्पर्धा गरेको एमालेले प्रमुखमा पराजय भोग्नुपर्‍यो। मुख्य शहरका पालिकामा एमाले पराजित भएको छ। २०७४ मा २९४ स्थानीय तहमा जित निकालेर पहिलो शक्तिका रुपमा उदाएको एमालेलाई अहिले भने नेपाली कांग्रेसले उछिनेको छ। तर, उपप्रमुखमा भने गठबन्धनको गडबढी, धेरै संख्यामा मत बदर, प्रमुखमा मात्रै गठबन्धनको जोडबलले गर्दा एमालेलाई फाइदा पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell