PahiloPost

Sep 30, 2024 | १४ असोज २०८१

लुम्बिनी प्रदेशसभाको गतिरोध अन्त्य, संचार र प्रहरी सेवा सम्बन्धि विधेयक पेस



पहिलोपोस्ट

लुम्बिनी प्रदेशसभाको गतिरोध अन्त्य, संचार र प्रहरी सेवा सम्बन्धि विधेयक पेस

बुटवल : लुम्बिनी प्रदेशसभाको गतिरोध करिब  ११ महिनापछि अन्त्य भएको छ। प्रदेश सभाको १० औं अधिवेशनको दोस्रो बैठकमा मंगलबार विशेष समय लिएर बोल्दै प्रदेशका पूर्व मुख्यमन्त्री एवम् नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनादेशको सम्मान गर्दै एमाले एक कदम पछाडि हटेर संसद्को गतिरोध अन्त्य गर्न तयार भएको बताएका हुन्।

लामो समयसम्म संसद अवरुद्ध हुँदा जनतामा नराम्रो सन्देश जाने भएकोले एमालेले जनादेशको सम्मान गर्दै संसद्को गतिरोध अन्त्य गरेको उनले बताए। तर, संसदको गतिरोध अन्त्य गर्ने विषयमा प्रदेश सरकार र सभामुख गम्भीर नदेखिएको उनको आरोप थियो।

प्रदेशको स्थायी राजधानीको पुर्वाधार निर्माणको कामले गतिलिन नसकेको भन्दै पोखरेलले गुरूयोजना अनुसार राजधानीको पुर्वाधार निर्माण गर्न आग्रह गरे। उनले संसदीय समितिलाई प्रभावकारी बनाउँदै सरकारका काम कारबाहीलाई व्यवस्थित बनाउनुपर्नेमा जोड समेत दिएका छन्।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सूर्य चिह्नबाट निर्वाचित दुई सांसद विमला कुमारी खत्री र अजय शाहीलाई पदमुक्त गर्न माग गर्दै निरन्तर संसद अवरुद्ध गर्दै आएको थियो। गएको साउनदेखि एमालेले बैठक चल्न दिएको थिएन। 

मंगलबारको बैठकमा प्रदेशका आन्तरिक मामिला तथा संचार मन्त्री तिलकराम शर्माले संचारमाध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गरेका थिए। प्रदेश सभाको अर्को बैठक बुधबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell